औषधीको मूल्य समायोजन गर्न असार मसान्तसम्मको अवधी थप
काठमाडौँ – सरकारले तोकेको दरमा औषधीको मूल्य समायोजन गर्न व्याबसायीहरुलाई असार मसान्त सम्मको समय दिएको छ ।
त्यसपछि बजारमा आउने सबै औषधीको मूल्य सरकारले तोकेको दररेटमा हुनुपर्ने स्पष्ट पारेको छ ।
गत ४ साउनमा बसेको मन्त्रिपरिषदको बैठकले ९६ प्रकारका औषधीको मूल्य तोक्ने औषधि व्यवस्था विभागको प्रस्तावलाई स्वीकृत गरेको थियो ।सोही अनुसार औषधिको नयाँ मूल्य निर्धारण गर्न औषधि उत्पादक तथा व्यापारीलाई दवाव परेको थियो ।
भूकम्पकका बेला र त्यसपछिका नाकाबन्दीको बेला निजी औषधि कम्पनीले सरकारलाई सहयोग पुराएको भन्दै गत १ चैतमा बसेको मन्त्रिपरिषदको बैठकले व्यापारीहरुको आग्रहलाई अनुसार असार मसान्त सम्मको अवधी थप गरेको हो ।
यसअघि विभागले पुराना औषधीलाई बिक्री गर्न ६ महिनाको समय दिदै १७ माघ देखी बजारमा आउने सबै औषधीको मूल्य सरकारी दररेटमा हुनुपर्ने बताएको थियो । तर मधेश आन्दोलन र भारतीय नाकाबन्दीले औषधीमा संकट परेपछि सो समयमा मूल्य समायोजन भएको थिएन ।
गत महिना मूल्य समायोजन नगरेको भन्दै महानगरीय प्रहरी कार्यालयले दुईवटा औषधी उद्योगका सञ्चालकलाई नियन्त्रणमा लिएपछि मूल्य समायोजनले पुर्न: चर्चा पाएको हो ।
औषधी व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेलले व्यापारीहरुलाई सरकारी मूल्य समायोजन गर्न असार मसान्त सम्म समय थप गरेको बताए । गत १ चैतमा बसेको मन्त्रिपरिषदको बैठकले व्यापारीहरुको आग्रह अनुसार केही समय थप्ने निर्णय गरेको भन्दै त्यसपछि समेत अटेरी गरे कारबाहीको दायरामा ल्याइने बताए ।
‘सरकारले असार मसान्तसम्मको समय दिएको छ । त्यो अवधीसम्म धरपकडमा पर्ने कुरा भएन । त्यसपछि पनि अटेरी भयो भने सरकार कानूनी कारबाही अघि बढाउछ,’ महानिर्देशक खकुरेलले भने ।
‘सरकारले असार मसान्तसम्मको समय दिएको छ । त्यो अवधीसम्म धरपकडमा पर्ने कुरा भएन । त्यसपछि पनि अटेरी भयो भने सरकार कानूनी कारबाही अघि बढाउछ,’ महानिर्देशक खकुरेलले भने ।
नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष बाबुराम हुमागाँईले पुराना औषधि सक्न असार मसान्त सम्मको अबधी थप गरेको भन्दै त्यसपछि मूल्य सरकारी दररेटमै आउने बताए ।
विभागका महानिर्देशक खकुरेलले त्यतिवेलासम्म बिक्री नभएका पुराना स्टक औषधिको मूल्यमा नयाँ स्टीकर टासेर भएपनि तोकिएको मूल्यमा औषधि बिक्रीगर्ने निर्णय भएको बताए ।
गत १ चैतको बैठकले स्वास्थ्य सचिवको अध्यक्षतामा उद्योगमन्त्रालयका सहसचिव, अर्थमन्त्रालयका सहसचिव, बाणिज्य मन्त्रालयका सहसचिव तथा औषधी व्यवस्था विभागका महानिर्देशक सम्मिलित कार्यदल समेत बनाएको छ । सो कार्यदलले औषधीको मूल्य समायोजनको बारेमा काम गर्ने भएको छ ।
..र यो पनि पढ्नुहोस्
# पक्राउ परेका औषधी उद्योगका सञ्चालक रिहा, बिरोधका कार्यक्रम स्थगित
सम्पर्क इमेल : [email protected]