चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षामा अब बायोमेट्रिक लागू हुने

परीक्षार्थीको बायोमेट्रिक लिन आयोगलाई नेपाल मेडिकल काउन्सिलले सघाउदै

काठमाडौँ, २८ असोज ।  चिकित्सा शिक्षा आयोगे आगामी कात्तिकको तेस्रो साता लिन लागेको चिकित्सा शिक्षा शास्त्र संकाय तर्फको स्नातक तहको एकीकृत प्रवेश परीक्षामा परीक्षार्थीहरुको बायोमेट्रिक लिने भएको छ ।

आगामी १८ देखि २२ कात्तिक सम्म सञ्चालन हुने परीक्षामा सहभागी परीक्षार्थीहरुलाई परीक्षा हलमा प्रवेश गर्नु अघि गेटमा दुईवटा औलाको बायोमेट्रिक लिने भएको हो । गेटमा औलाको बायोमेट्रिक पछि परीक्षा हल भित्र प्रवेश पाउने परीक्षार्थीले हाजिरीमा औलाको ल्याप्चे समेत लगाउनु पर्ने छ ।

आयोगका उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन परीक्षार्थीको बायोमेट्रिक लिन व्यवस्था मिलाइएको बताए ।

यसअघिका कतिपय परीक्षामा नक्कली परीक्षार्थी समेत भेटिएको भन्दै आयोगले त्यसलाई नियन्त्रण गर्न बायोमेट्रिक लिन लागेको हो ।

परीक्षार्थीलाई बायोमेट्रिक लिने पद्धतीको सुरुवात नेपाल मेडिकल काउन्सिलले गरेको हो । उसले चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा विद्यार्थीहरुको बायोमेट्रिक लिएर मात्रै हल भित्र प्रवेश गर्न दिने गरेको छ । यसपटक आयोगले पनि सोही सिको गरेको हो । उसले यसको प्राविधिक पक्ष र अनुभव समेत काउन्सिलसंग रहेको भन्दै बायोमेट्रिक लिने जिम्मा पनि काउन्सिललाई दिने भएको छ ।

‘काउन्सिलले यो काम गर्दै आएको छ । उ सरकारी निकाय पनि हो । राम्रो कामका लागि हामीले सरकारी निकायसंग किन सहयोग नलिग्ने भनेर बायोमेट्रिक लिने जिम्मा काउन्सिललाई दिन लागेका हौँ । उसले पाँच दिन परीक्षा केन्द्रमा गएर बायोमेट्रिक लिन सहयोग गर्नेछ,’ आयोगका उपाध्यक्ष प्राडा झाले भने ।

यता आयोगको अनुरोध पछि काउन्सिलले पनि बायोमेट्रिकका लागि तयारी थालेको छ । उसले पाँच दिनको परीक्षामा करीव ४० हजार विद्यार्थीको बायोमेट्रिक लिनु पर्ने भन्दै त्यसका लागि थप मेसिन खरीद र प्राविधिक जनशक्तिको लागि तयारी थालेको छ ।

‘यो पाँच दिनमा करीव ४० हजार परीक्षार्थीले परीक्षा दिने छन् । परीक्षाका लागि १६० वटा केन्द्र तोकिएको छ । एक दिनमा अधिकतम ६० वटा केन्द्र सञ्चालनमा हुनेछ । प्रत्येक परीक्षा केन्द्रमा बढीमा २५० जना विद्यार्थीहरु रहने छन् । उनीहरुको बायोमेट्रिक लिनु पर्ने छ । त्यसैले हामीले परीक्षा सुरु हुनु भन्दा दुई घण्टा अघि परीक्षा केन्द्रमा आइसक्नु पर्ने व्यवस्था गर्दैछौँ,’ काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले भने ।

उनले प्रविधिको उच्चतम प्रयोग गरी चिकित्सा शिक्षा शास्त्र तर्फको परीक्षालाई मर्यादित बनाउने विषयमा काउन्सिल र आयोग मिलेर काम गर्न तत्पर रहेको समेत बताए ।

काउन्सिलले एकीकृत प्रवेश परीक्षाकै लागि भनेर थप बायोमेट्रिक मेसिन खरीद गर्न समेत टेन्डर आव्हान गरिसकेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षामा अब बायोमेट्रिक लागू हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *