कोरोनाबिरुद्धको खोप : सात प्रदेशमा ४ लाख ५० हजार डोज ‘कोभिसिल्ड’ पठाईंदै

काठमाडौँ, १० माघ । आगामी १४ माघ देखि ‘फ्रन्टलाइन हेल्थवर्कर’लाई कोरोनाबिरुद्धको खोप लगाउने योजना बनाएको सरकारले आइतबारबाट प्रदेश प्रदेशमा खोप पठाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि शनिबार नै पठाउने गरि तयारी भएको बताएको थियो ।

तर औषधि व्यवस्था विभाग तर्फको केही कागजी काम बाँकी रहेकोले खोप पठाउने प्रक्रिया आइतबार दिउसोबाट मात्रै शुरु हुने बताएको छ ।

मन्त्रालयले यसपटक सात प्रदेशका ७७ वटा जिल्लामा रहेका कोभिडविरुद्ध खटिएका फ्रन्टलाइन हेल्थ वर्करलाई लगाउन ४ लाख ५० हजार डोज खोप पठाउन लागेको छ ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महशाखाले आफूसंग रहेको दुईवटा ठूला रेफ्रिजरेटर भ्यान पूर्व र पश्चिम तर्फ कुदाउँने छ । गण्डकी प्रदेशका लागि खोप लिन उतैबाट भ्यान आएको छ । बागमती प्रदेश अन्तरगर्तका काठमाडौँ उपत्यकासहित नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे दोलखा, रामेछाप लगायतका जिल्लाहरुमा काठमाडौँबाटै खोप वितरण गर्ने योजना बनाएको छ ।

गत विहीबार भारत सरकारको अनुदानमा १० लाख डोज खोप अनुदानमा आएको थियो । पहिलो डोज लगाएको व्यक्तिलाई २८ दिनपछि दोस्रो डोज लगाउने सरकारले नीति बनाएको छ ।

खोप १४ देखि १८ माघ भित्र शुरु गर्ने तयारी
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबिरुद्धको खोप १४ माघ देखि शुरु गर्ने बताइसकेका छन् । तर स्वास्थ्य मन्त्रालयले १४ देखि १८ माघ भित्र ७७ वटै जिल्लामा शुरु भइसक्ने गरी योजना बनाएको छ ।

‘काठमाडौँ सहित सुगम जिल्लामा १४ गते नै शुरु होला, दुगर्म हिमाली जिल्लामा एक दुई दिन ढिलाई पनि हुनसक्छ । त्यसैले १८ माघसम्म शुरु गर्ने भनेका हौँ,’ मन्त्रालयका एक उच्च अधिकारीले भने ।

गत विहीबार भारत सरकारको अनुदानमा १० लाख डोज कोभिशिल्ड आएको थियो । त्यसबेला स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले सो खोप एक साता भित्रै लगाइने बताएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *