ढुक्क हुनुस् खोप आउँछ : स्वास्थ्य मन्त्री त्रिपाठी

काठमाडौँ, २७ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना विरुद्धको खोप छिटै आउने बताएका छन् । उनले खोप पारदर्शी ढंगले ल्याइने र न्यायपूर्ण रुपमा वितरण हुने दावी गरेका छन् ।

मन्त्रालय सम्हालेको १५ औँ दिनमा आज पत्रकार सम्मेलन गर्दै उनले भने, ढुक्क हुनुस खोप आउँछ, ‘निश्चित हुनुस खोप आउँछ । पारदर्शी ढंगले ल्याइन्छ र न्यायपूर्ण ढंगले वितरण हुन्छ ।’

उनले कोरोनाबिरुद्धको खोपलाई राजनीतिक बस्तुको रुपमा चित्रित गर्दै राजनीतिक ढंगले नै यसको उपलव्धताको लागि पहल गरिरहेको बताए । उनले खोप निर्माण गरेका कम्पनी र त्यहाँका सरकारसंग नियमित छलफल गरिरहेको जानकारी दिए ।

‘खोपका विषयमा सरकारले गर्दै गरेन भन्ने पनि सुनिएको छ तर त्यो होइन हामीले त्यसका लागि आवश्यक तयारी समेत गरिसकेका छौँ । आएको ७ दिन भित्रबाट लगाउन सुरु गर्छौै,’ उनले भने ।  उनले अन्य देशमा खोप अभियान शुरु गर्दा नेपालमा पनि शुरु हुने संकेत गर्दै भने, ‘हामी ढिलाई हुँदैनौँ ।’

मन्त्री त्रिपाठीले कोभिडविरुद्ध खोप सबै जनताका लागि निशुल्क भएको समेत स्पष्ट पारे । यस्तै खोप खरीदका लागि निजी क्षेत्रलाई समेत सहभागी गराउने व्यवस्था मिलाउन लागेको बताए ।

उनले कोरोना संक्रमणदर घटेको पाइएपनि सुरक्षित भइनसकेको भन्दै स्वास्थ्य सावधानी अपनाउन सबैसंग आग्रह गरे । सो अवसरमा उनले कोभिडविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतप्रति आफूले नमन गरेको बताए ।

आफूले अहिले तीन विषयलाई प्राथमिकता राखेर काम गरिरहेको भन्दै खोप बाहेक दोस्रो प्राथमिकता सरकारले हरेक पालिकामा बनाउन सुरु गरेको ५, १०, १५ बेडका अस्पताल निर्माण र तेस्रो प्राथमिकता स्वाथ्यकर्मीको समायोजन विषय रहेको बताए ।

स्वास्थ्य सचिव लक्ष्मण अर्यालले २ देखि ८ डिग्री तापक्रमका लागि १ करोड ७७ लाख डोज खोप राख्न मिल्ने गरी भण्डारण तयार भइरहेको भन्दै माइनस २० डिग्री तापक्रममा राख्ने खोप पाएपनि कम्तीमा ३ प्रतिशत अर्थात ९ लाख बढी डोज राख्न मिल्ने क्षमता रहीसकेको उनले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *