पाँच बर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईदै

फाइल तस्बिर

काठमाडौँ, ११ मंसिर । देशभर रहेका  पाँच बर्ष मुनिका  बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै छ ।

राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तरगर्त छ महिना देखि ५ बर्ष मुनिका करीब २७ लाख बालबालिकालाई भिटामिन ए र १ देखि ५ बर्षसम्मका करीब २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो ।

सोही समयमा  छ देखि २३ महिनाका करीब ६ लाख बालबालिकालाई बहुसूक्ष्म पोषक तत्व बालभिटा खुवाउने र उनीहरुको पाखुराको नाप लिइने समेत कार्यक्रम समेत राखिएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको पोषण शाखा प्रमुख केदार पराजुलीले बालबालिकाहरुमा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्न आज र भोलि भिटामिन ए, जुकाको औषधि र बालभिटा खुवाउन लागिएको बताए । उनले त्यसैबेला बालबालिकाको पाखुराको नाम समेत लिइने जानकारी दिए ।

पराजुलीले सधै जस्तै तोकिएको स्वास्थ्य संस्था वा स्थानमा गएर आफ्ना बालबालिकालाई भिटामिन ए, जुकाको औषधि र वालभिटा खुवाउन अभिभावकलाई आग्रह गरे ।

यो कार्यक्रममा देशभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र २५ हजार स्वास्थ्यकर्मी परिचालन हुने बताइएको छ ।

कोरोना महामारीको कारण यो कार्यक्रममा सहभागी हुने महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक र स्वयं बच्चालाई मास्क लगाउन भनिएको छ । त्यस्तै भिटामिन ए खुवाउने केन्द्रमा स्यानिटाइजरको व्यवस्था वा सावुन पानीले मिचि मिचि हात धुने व्यवस्था गरिएको समेत पराजुलीले बताए ।

अभियानका लागि महाशाखाले एघार करोड बढी खर्च हुने जनाएको छ ।

बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न नेपालमा २०५३ सालबाट भिटामिन ए खुवाउन सुरु गरिएको हो । बालबालिकालाई जुकाको औषधि २०५८ र बालभिटा २०६६ सालदेखि खुवाउन थालिएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *