कोरोना महामारीले मुख तथा दन्त स्वास्थ्य क्षेत्रमा पारेको असर र राज्यको दायित्व

नेपालमा कोभिड -१९ (कोरोना भाइसर ) आउँनु अघि मैले सहज रुपमा १० जना बिरामीको उपचार गर्दथें तर अहिले दिनको ५ जना बिरामी हेर्न मुस्किल छ । एक त बिरामी आउँदेन्, दोस्रो कुरा आएपनि हेर्न सकिदैन् । किनकी आफू दन्त चिकित्सक जो परियो । कोरोना महामारीको यो बेला मुख तथा दन्त उपचारमा लाग्नेलाई संक्रमणको सम्भावना सबैभन्दा बढी छ ।
………………………………………………………..

हामी सबैलाई थाह नै छ कोरोनाको संक्रमणबाट जोखिने सबैभन्दा प्रभावकारी उपाय भनेको मास्क नै हो । त्यसपछि भौतिक दुरी । सारा संसारले अहिले मास्क लगाएको छ । नेपाल सरकारले पनि दिनहुँ कोरोनाबाट जोगिन मास्क अनिवार्य रुपमा लगाउँ भनिरहेको छ ।

तर, हामी दन्त चिकित्सक यो जोखिम र महामारीको बेलामा त्यहि लगाएको मास्क खोलेर मुख तथा दाँतको उपचार गर्दछौँ । उपचारका क्रममा न सरकारले भने जस्तो भौतिक दुरी नै कायम गर्न मिल्छ । कुनै पनि व्यक्तिको उपचारका क्रममा मुख तथा दाँतबाट आउँने छिटा, थुक, रगत तथा अन्य फोहरहरुबाट आफूमा संक्रमण हुने सम्भावना निकै बढी छ । अहिले कोरोनाको चर्चा भयो, तर अरु बेला पनि अन्य संक्रामक र सरुवा रोगको जोखिम उत्तिकै थियो र छ ।

……………………………………………..

यति जोखिमयुक्त सेवा भएपनि दन्त क्षेत्र अहिले पनि ओझेलमा परेको छ । अझ कोरोना आइसकेपछि त यो क्षेत्र निकै मारमा परेको छ । पहिलो कुरा, स्वास्थ्य मन्त्रालयले नै नागरिकहरुलाई गम्भीर स्वास्थ्य समस्या नपरी स्वास्थ्य संस्थामा नधाउँनु भनेको छ । आम नागरिकको मनोभाव पनि जोखिमको बेला सकेसम्म अस्पताल नजाउँ भन्ने नै देखिन्छ । त्यसैले पनि मुख तथा दन्त स्वास्थ्य समस्या भएकाहरुले सकेसम्म खटाएरै बस्ने गरेको समेत सुनेका छौँ । स्वास्थ्य संस्थामा बिरामी नै नपुगेपछि यो क्षेत्र यसै मारमा पर्ने भयो ।

दोस्रो कुरा, मुख तथा दन्त स्वास्थ्य उपचारमा खटिने चिकित्सकले आफ्नो र बिरामीको स्वास्थ्य सुरक्षाका लागि अनिवार्य रुपमा पीपीई लगाउनुपर्ने बाध्यता छ । किनभने, बिरामीको मास्क खोलेर मुख तथा दन्त उपचार गर्नुपर्छ । एउटा व्यक्तिको उपचार गरिसकेपछि अर्को व्यक्तिको उपचार गर्न नयाँ पीपीई लगाउनु पर्ने हुन्छ । नयाँ मास्क लगाउनु पर्ने हुन्छ । यसरी दिनमा जति जना बिरामी जाँच्यो उति नै पीपीई र मास्क फेर्नु पर्छ । त्यसो नगर्दा संक्रमणको जोखिम बढी हुन्छ । यसको प्रयोग गर्दा उपचार खर्च स्वभाविक रुपमा बढ्छ । त्यसैले मैले चाँही आफ्नो क्लिनिकमा पुन: प्रयोग गर्न मिल्ने पीपीईको व्यवस्था मिलाएको छु ।

………………………………………………..

यी कुरा मैले किन गरिरहेको छु भने, कोरोना महामारीपछि मुख तथा दन्त स्वास्थ्य क्षेत्रमा देखिएको जोखिम, यसले व्यवसायमा पारेको प्रभावका बारेमा कुनै कुरा उठेको सुनिएन ।

हामीलाई  अहिले क्लिनमा बिरामी आउँदा पनि जोखिम, बिरामी नआउँदा पनि स्थायित्व वा भनौं आर्थिक रुपमा समस्या हुने । ‘यसको समाधान के हुन सक्छ ?,’ भनेर मुख्य सरोकारवाला वा भनौ हाम्रो अभिभावक स्वास्थ्य मन्त्रालयले चासो दिनु पर्ने होइन र ? स्वास्थ्य क्षेत्रको अति नै महत्वपूर्ण र संवेदनशील यो विधालाई यत्तिकै बेवास्ता गर्न मिल्छ र ? तर दुर्भाग्य सरकारले अहिलेसम्म यसबारेमा कुनै चासो दिएको छैन ।

………………………………………………………

नेपाल डेन्टल एशोसिएशन (एनडीए) ले कोरोना शुरु हुनासाथ मुख तथा दन्त स्वास्थ्यमा खटिने जनशक्तिले कसरी सेवा दिने ? भन्ने बारेमा गाइडलाइन बनाएको थियो । त्यो पछि स्वास्थ्य मन्त्रालयले पनि स्वीकृत गर्‍यो । तर अहिलेसम्म त्यो अनुसार काम भएको छ कि छैन भनेर अहिलेसम्म अनुगमन गरिएन । अनुगमन नहुँदा संक्रमणको जोखिम त बढ्यो नै दन्त उपचार क्षेत्रलाई नै बदनाम हुने गतिविधिहरु बढेको हामीले महसुस गरेका छौँ ।

यो प्रशंग मैले किन उठाएको हो भने, अहिले बजारमा दाँत उपचार गर्ने बास्तविक डाक्टर भन्दा नक्कली डाक्टर (जसलाई मेडिकल भाषामा क्वाक भन्छौँ) हावी देखिएका छन् । उनीहरुलाई न स्वास्थ्य सुरक्षाको ख्याल गर्छन्, न त सरकारले बनाएको मापदण्ड पालना गर्छन् । बिरामीहरु पनि यतिवेला त्यस्तै व्यक्तिले खोलेका कथित क्लिनिकमा भिड लागेर जाने गरेका छन् । उनीहरुलाई यो थाह छैन कि आफूले कति असुरक्षित तवरले उपचार गराइराखेको छु भनेर । जसलाई दाँत उपचार गर्न राज्यले लाइसेन्स दिएको छैन्, उहि अघि सरेर उपचारको नाटक गरिरहेको छ, आम सर्वसाधारणलाई ठगी रहेको छ । राज्यभने मुक दर्शक बनिरहेको छ । यसमा राज्यका निकायले गम्भीर ढंगले ध्यान दिनु पर्दछ । बरु यसका लागि आवश्यक परेमा एनडीए हातेमालो गर्न तयार छ ।

………………………………………………………

मैले शुरु मै भनिसकें कोरोनाको महामारी पछि सबैभन्दा बढी प्रभावित क्षेत्र भनेको मुख तथा दन्त उपचार क्षेत्र नै हो । सरकार सहित सारा विश्वले संक्रमणको खतरा छ मास्क लगाउँ भनिरहँदा हामीले त्यहि खतरा मोलेर, लगाएको मास्क खोलेर उपचार गरिरहेका छौँ । यस्तो जोखिमयुक्त सेवा दिएवापत हामीलाई राज्यका तर्फबाट सहुलियत दिन सकिदैन ? सहुलियतपूर्ण ऋणको व्यवस्था, सहुलियत दरमा पीपीईहरुको उपलव्धता आदि गर्न मिल्दैन् ?

अहिले धेरै डेन्टल क्लिनिकहरु सुख्खा टाट भइसकेका छन् । अस्पतालहरुमा काम गर्नेको पनि तलवमा कटौती गरिएको अवस्था छ । यस्तो बेलामा राज्यले केही रातह प्रदान गर्न मिल्दैन ? सक्दैन ? मलाई लाग्छ सक्छ । र गर्नु पनि पर्छ । किनभने आम जनताको स्वास्थ्यका लागि जोखिम मोलेर गरिएको सेवा हो ।

नेपालमा बर्षेनी दाँतका मात्रै ६ सय देखि ८ सय डाक्टर उत्पादन हुन्छन् । तर सरकारी सेवामा दरबन्दी ६२ जनाको मात्रै छ । यसलाई बढाउन सकिदैन् ? राज्यको यस तर्फ पनि ध्यान जान जरुरी छ ।

………………………………………………………………

आम सर्वसाधारणप्रति मेरो विनम्र अनुरोध,

तपाईँहरुले बुझ्नुपर्ने कुरा के हो भने , मुख तथा दन्त स्वास्थ्य उपचारमा गैरचिकित्सकहरु हावी देखिएका छन् । यसले उपचार भन्दा पनि जोखिम बढाउँछ । थप स्वास्थ्य समस्या वा संक्रमण निम्तने डर हुन्छ । यसर्थ आफूले उपचार गर्न जाँदा नेपाल मेडिकल काउन्सिलको लाइसेन्स भएको चिकित्सक हो कि होइन ? त्यो ख्याल गर्नुहोला ।

नियामक निकायले अनुगमन गर्न नभ्याई रहेको बेला अब आम सर्वसाधारण अर्थात  तपाँई सेवाग्राही नै सचेत बन्नु जरुरी छ ।

 

# डा. अधिकारी नेपाल डेन्टल एसोशिएशनका अध्यक्ष हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *