प्रदेश नं २ मा कोरोना : घट्यो परीक्षण, बढ्यो जोखिम

काठमाडौँ, ७ मंसिर । केही समय अघिसम्म प्रदेश नं दुई कोरोना संक्रमणको हटस्पट बनिरहेको थियो । तर अहिले सुनसान जस्तै छ । तर संक्रमणमा परी ज्यान जानको संख्या घटेको छैन् । परीक्षण गरेपछि पोजेटिभ आउने दर पनि डरलाग्दै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने कोरोना अपडेटमा प्रदेश नं २ को पनि विवरण दिने गर्दछ । प्रदेश नं दुईमा कोरोना परीक्षण गर्ने ६ वटा प्रयोगशाला छ । तर ती प्रयोगशाला पछिल्लो समय एक आध बाहेक सञ्चालनमा छैनन् । या त उनीहरुले सहि रिपोर्ट गरेका छैनन् ।

प्रदेश नं २ मा स्थापना भएका छ वटा कोभिड प्रयोगशालामध्ये तीनवटामा पछिल्लो एक सातामा एउटा पनि परीक्षण भएको छैन् । स्वास्थ्य मन्त्रालयका अनुसार बर्दिवास कोभिड–१९ प्रयोगशाला, नेशनल मेडिकल कलेज बीरगञ्ज प्रयोगशाला र गौर अस्पताल पीसीआर प्रयोगशालामा गत ३० कात्तिक यता एउटा पनि पीसीआर परीक्षण भएको छैन् ।

नारायणी अस्पतालमा पछिल्लो एक सातामा दुई दिन मात्रै सञ्चालनमा ल्याइयो । दुई दिनमा सो प्रयोगशालामा १०३ जनाको परीक्षण भयो त्यसमा १९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । अर्को सरकारी अस्पताल राजबिराजस्थित गजेन्द्र नारायणसिंह अस्पतालमा पछिल्लो एक सातामा एक दिन मात्रै प्रयोगशाला सञ्चालनमा आयो र त्यसमा ११ जनाको मात्रै परीक्षण भएको छ ।

सबैभन्दा बढी अर्थात हरेक दिन चलेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा पछिल्लो एक सातामा ४६५ जनाको परीक्षण भयो भने १११ जना पोजेटिभ देखिएको छ ।

यो संगै पछिल्लो एक सातामा प्रदेशका ६ वटा प्रयोगशालामा ५७९ जनाको परीक्षण भयो त्यसमध्ये १३० जना अर्थात २२ प्रतिशतको नतिजा पोजेटिभ आएको छ ।

परीक्षण कम भयो जोखिम कम भएको छैन् : प्रदेश स्वास्थ्य प्रमुख झा
प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख विजय झा प्रदेश नं २ मा परीक्षण कम भएको स्वीकार्छन् । तर उनले जोखिम कम भने नभएको बताउँछन् । ‘हामीकहाँ परीक्षण नै कम भएको छ तर जति भएको छ नतिजा सन्तोषजनक छैन् । बढी बढी नै आएको छ,’ उनले भने । उनले संघ प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा कन्ट्याक्ट ट्रेसिङ घटेको दावी गरे ।

सशुल्क र निशुल्क झमेला
पर्साका एक स्वास्थ्यकर्मी भन्छन्, ‘सरकारले लक्षण र चिन्ह भएकाहरुको निशुल्क परीक्षण गर्ने भनेपनि त्यो सरकारी स्वास्थ्य संस्थामै कार्यान्वयन हुन सकेको छैन् । कसको सिफारिस, कसको आदेश आदि इत्यादिको झमेला अहिले पनि छ । त्यसैले कसैले पनि निशुल्क सुविधा पाएका छैनन् । सबैले पैसा तिरेकै छन् ।’

ती स्वास्थ्यकर्मीले स्थानीय तहले अहिले कन्ट्याक्ट ट्रेसिङ समेत स्थगित गरेको बताए । ‘परीक्षण निशुल्क छैन्, कन्ट्याक्ट ट्रेसिङ भएको छैन् । अर्को कुरा जनचेतनाको पनि अभाव छ । त्यसैले परीक्षण निकै घट्यो,’ उनले भने ।

वीरगञ्जका एक स्थानीय मनोज साहले पैसा लिएर पनि समयमै परीक्षण नगर्ने दुखेसो गरे । ‘वीरगञ्जमा कोभिड परीक्षणका लागि सबैले पैसा तिर्नुपर्छ । तर समयमै परीक्षण भने हुँदैन । कहिले स्याम्पल ९६ वटा पुगेपछि मात्रै गर्छौ भन्छन् । कहिले प्राविधिक आएका छैनन् भन्छन्, कहिले मेसिनमा समस्या छ भन्छन्, यो त अति भो, परीक्षण गर्नेलाई समेत यो झन्झट भएपछि कसले परीक्षण गराउँछ ?’ साहले भने ।

प्रदेश प्रमुख झाले भने सरकारी प्रयोगशालामा लक्षण तथा चिन्ह भएकाको परीक्षण निशुल्क भएको दावी गरे । मैले त सुनेको छैन् । पैसा लिएको छ भने कारवाही हुन्छ । उनले भने ।

उनले स्याम्पल कम छ भनेर परीक्षण स्थगित गर्न पनि नपाईने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *