‘कोरोनाको लक्षण कसैलाई सामान्य हुन सक्छ, तर यो नभुलौँ यसले धेरैको ज्यान लिइसक्यो’

डा. अनुप बास्तोला

भाइटीकाको राति १० बजे एउटा फोन आयो ४० – ४५ वर्षको बिरामी हुनुहुन्छ, कोरोनाको लक्षण छ, एकदम सिकिस्त ।

एम्बुलेन्स पाइँदैन, बिरामी कसरी ल्याउनु ?

  मैले पीसीआर गराइसक्नु भयो भनेर सोधेँ, उहाँहरूले ‘छैन’ भन्नुभयो । जुनसुकै सवारी साधन खोजेर तत्काल अस्पताल ल्याउनोस् भनेँ ।

मलाई लाग्यो, अब बिरामी अस्पताल पुग्नु हुनेछ । तर, दुर्भाग्य, डेढ घण्टापछि फोन आयो, बिरामी बित्नु भयो ।

सायद समयमै अस्पताल आइपुग्नु भएको भए, बिरामीलाई बचाउन सकिन्थ्यो कि ?

अल्पायुमै जीवन गुमाएका मृतकप्रति हार्दिक श्रद्धाञ्जली ।

यो घटनाले अहिले होम आइसोलसनमा लापरबाही र कोरोना परीक्षण नगरी दुई चार दिनपछि यसै ठीक भइहाल्छ नि भन्ने आम मानसिकताको उजागर गर्छ । कोरोनाको लक्षण कसैलाई सामान्य हुन सक्छ, तर यसले धेरैको ज्यान लिइसक्यो ।

बेवास्था र लापरबाहीले प्राण जोखिममा राख्ने काम कसैले नगरौं । लक्षण देखिएपछि कम्तीमा पीसीआर गराइहालौं, अनि स्वासप्रस्वासमा समस्या आउनासाथ अस्पताल लगिहालौं । गाह्रो पर्नासाथ एम्बुलेन्स वा अन्य सवारी साधनको तत्काल व्यवस्थापन गर्नेतर्फ शतर्क बनौं ।

कुन अस्पताल लैजाने भन्नेबारे जानकारी राखेर बसौं। पीसीआर गरे बेकारमा १४ – १५ दिन आइसोलेसनमा बस्नुपर्छ भन्ने सोचले धेरैले कोरोना संक्रमणलाई हलुका रूपमा लिएको पाइन्छ । यो गल्ती गर्दै नगरौं । तपाईंको जीवनभन्दा ठूलो १४ – १५ दिनको आइसोलेसन होइन ।

लक्षण देखिएकालाई सरकारले पीसीआर टेस्ट निशुल्क गरिसकेको छ । त्यसैले कोरोना भाइरस संक्रमणको लक्षण देखिए टेस्ट गर्न ढिला नगरौं । कोरोना पोजिटिभ भएकाले कम्तिमा आफूलाई स्वासप्रस्वासमा अफ्ठ्यारो महसुस भए तुरुन्त परिवार साथीभाई वा चिकित्सकलाई भनि हालौं ।

यो जाडोको मौसममा कोरोना भाइरसको फैलावट व्यापक हुन सक्छ । त्यसैले कृपया पटक्कै लापरबाही नगरौं, मास्क लगाऔँ, हात धोऔँ, स्यानिटाइज गरौं र भौतिक दूरी कायम राखौं ।

#  शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु   

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *