कोरोनाले दिएको पिडा : दशैंमा आमा, तिहारमा छोरा

  • रामप्रसाद न्यौपाने

गतवर्ष मंसिरको तेस्रो साताको कुरा, त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा महेश सर (महेशचन्द्र पौडेल) को निधन भएको खबर आयो । पाल्पा पूर्वखोलाको उद्धवुद्ध माविमा ४० बर्ष शिक्षण पेशा गर्नु भई केही बर्ष अघि निवृत्त हुनु भएका आदरणीय सरले मलाई प्राथमिक र निवावि तहमा पढाउनु भयो ।

उहाँसंगको सम्वन्ध सरको मात्रै थिएन । हाम्रो छिमेकी हुनुहुन्थ्यो । अनि हाम्रो तिर्थ दाईको बुबा पनि । खबर पाउँनासाथ त्रिवि शिक्षण अस्पताल पुगें । तिर्थ दाई भाउजु र उहाँका छोराछोरी अर्थात महेश सरकार नातीनातिना थिए । बुबाको अवस्था बिग्रँदै गएपछि तिर्थ दाईले आमा र आफ्नो दिदीलाई गाँउबाट गाडी रिजर्व गरेर काठमाडौँ बोलाउनु भएको थियो । तर उहाँहरु काठमाडौँ आईनपुग्दै महेश सरले संसारबाट विदा हुनुभयो ।

……………………………………………..

राती १० बजे तिर त्रिवि शिक्षण अस्पताल परिसरमा आमा र दिदी लिएर आएको गाडी भेडकियो । गाडीबाट नओर्लदै तिर्थ दाई आफै गएर आमा र दिदीलाई सम्झाँउन थाल्नुभयो । बाबा भगवानको प्यारो हुनुभयो । दुख लुकाउनुभयो । आदि ईत्यादी !

तिर्थ दाईको मुखबाट यस्तो कुरा सुनेपछि श्रीमान भेट्न रातारात आएकी श्रीमतीलाई र बाबालाई भेट्न आएकी छोरीलाई कस्तो भयो होला ? शव्दमा बर्णन गर्न सकिन्न ।

त्रिवि शिक्षण अस्पतालको शवगृह अगाडी लमत्तन सुताईएको पार्थिव शरीरमा भावविव्हल अवस्थामा रहेकी आमा र दिदीले श्रद्धान्जली दिएपछि आएकै गाडीमा शव राखेर अन्तिम सस्कारका लागि तिर्थदाई पाल्पातिरै लाग्नु भयो । महेश सरको ईच्छा अनुसार नै राम्दी घाटमा दाहासंस्कार गरियो ।

……………………………………………………….

त्यसयता तिर्थ दाईसंग भेट भएको थिएन । देशमा कोरोना देखिन थाल्यो । गाँउमा पनि फाट्टफुट् कोरोना देखिन थालेका खबर आएका थियो । आफूलाई पनि खतरा, गाँउमा बुबा आमा दाजुभाई र छिमेकीलाई पनि खतरा भनेरैँ यसपटक दशैंमा घर नजाने निधो गरेको थिएँ । तर दशैंको अघिल्लो दिन एक्कासी खबर आयो । तिर्थ दाईको आमाको प्रभासस्थित लुम्बिनी मेडिकल कलेज लैजाने क्रममा निधन भयो । उहाँलाई दुई चार दिन देखि ज्वरो थियो । स्वासप्रस्वासमा समस्या थियो । कोरोनाको लक्षण मिलेकोले स्थानीय स्वास्थ्यकर्मीले तानसेन उपचारका लागि रिफर गरेका रहेछन् । तर अस्पताल नपुग्दै उहाँको निधन भएछ । लक्षण मिलेकोले निधनपछि पीसीआर जाँच गरियो । कोभिड – १९ पोजेटिभ आयो । सरको एक बर्ष नपुग्दै मेडम अर्थात तिर्थ दाईको आमाको ज्यान गयो । साह्रै दुख लाग्यो ।

त्यसबेला तिर्थ दाई आफै पनि बिरामी हुनुहुँदो रहेछ । त्यसैले आमासंग आफ्ना छोरा छोरीलाई पठाउनु भएको रहेछ । तर आमाको निधन भएकै दिन रातीबाट उहाँलाई पनि गाह्रो भयो । दशैंकै दिन विहान प्रभास लगियो । कोरोनाको जाँच गरियो, रिपोर्ट आउँन समय लाग्ने भयो तर लक्षण अनुसार उपचार शुरु भयो । अक्सिजन लेभल निकै नै घटेको रहेछ हाई फ्लो अक्सिजन दिइयो । आमाको अप्रत्यासित निधन, काजक्रिया गर्न नपाएको एक्लो छोराका लागि कति पिडा भयो होला ?

सामान्य सुधार भएपछि तिर्थ दाई अस्पतालबाट डिस्चार्ज भएर तानसेनस्थित घरमै स्वास्थ्य लाभ गरी बस्नु भयो । तर एक सातापछि पुन समस्या बल्झिएछ । फेरी पनि पीसीआर जाँच गरियो । रिपोर्ट पोजेटिभ नै देखियो । स्वासप्रस्वासमा समस्या उस्तै । प्रभासमा पुन उपचार शुरु भयो । चार पाँच दिन पछि अस्पतालले काठमाडाँै लैजान संकेत गरेछ । भाउँजु, छोरा छोरीले एम्बुलेन्स खोजेर शनिबार राती पाल्पाबाट काठमाडौँ हिडाले, आइतबार विहान विएण्डबी अस्पताल ग्वार्कोमा लगेर भर्ना गरियो । आइसीयूमा राखेर उपचार सम्भव नभएपछि चिकित्सकले भेन्टिलेटरमा राखे । तर चिकित्सकको सो प्रयास सफल भएन । सोमबार विहान साढे १० बजे चिकित्सकले मृत्यु भएको घोषणा गरे ।

…………………………………………………………..

बाबु गुमाएको एक बर्ष नपुग्दै आमा गुमाएका तिर्थ  दाईले ५१ बर्षकै उमेरमा अप्रत्यासित रुपबाट हामीलाई छाड्नु भयो ।  अझ दुखद संयोग दशैंको अघिल्लो दिन कोरोनाबाट मृत्यु भएकी आमाको दाहासंस्कार दशैंको दिन भएको थियो । त्यसको ठ्याक्कै २२ दिन पछि अर्थात भाइटिकाकै दिन छोरा अर्थात तिर्थ दाईको कोरोनाकै कारण मृत्यु भयो । तिहारकै दिन साँझ पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा उहाँको अन्तिम सस्कार गरियो ।

महेश सरले मलाई विद्यालय तहमा पढाउनु भयो । तिर्थ दाईले मलाई त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा पढाउनु भएको हो । पश्चिमाञ्चल फाइनान्स कम्पनीको पाल्पा हुँदै बुटवल ब्रान्च म्यानेजर समेत भएका तीर्थ दाई हाम्रा साच्चिकै गाँउले दाई हुनुहुन्थ्यो । रमाईलो, फरासिलो सहयोगी, तिर्थ दाईको निधनबाट म मात्रै होइन, घर, परिवार र सम्पूर्ण पूर्वखोलाबासी नै स्तव्ध छन् ।

…………………………………………………

पाल्पाको पूर्वखोला गाँउ पालिकामा अहिलेसम्म २२१ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये ४ जना अहिले पनि सक्रिय संक्रमितको रुपमा रहेका छन् । ३ जनाको मृत्यु भएको छ । त्यसमा दुई जना तिर्थ दाईकै आमा छोरा हुन् ।

अहिले पनि कतिपयले कोरोना केही होइन भन्ने गरेको यदाकदा सुनिन्छ । तर जसलाई पर्छ उसलाई मात्रै थाह हुन्छ । सामान्य अवस्थाको व्यक्ति एकाएक गम्भीर भएर ज्यान गुमाउनु पर्दा, भर्खरको व्यक्ति अप्रत्यासित गुमाउनु पर्दाको पीडा सायद अहिले तिर्थ दाईको परिवारले जस्तो कसैले भोगेको छेन् । त्यसैले आग्रह छ, कोरोनाबाट जोगिनका लागि आवश्यक स्वास्थ्य सावधानीको पूर्ण पालना गरौँ । यसबाट जोगिन हाम्रै आनीवानी र व्यवहारले सम्भव छ ।

अल विदा तिर्थ  दाई । हार्दिक श्रद्धा सुमन !

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *