वीर अस्पतालले नै सञ्चालनमा ल्याउन सक्छ एक हजार बेडको कोभिड-१९ उच्चस्तरीय उपचार केन्द्र

- नेपाली हेल्थ
  • डा.  कृष्णप्रसाद अधिकारी

    – डा.  कृष्णप्रसाद अधिकारी

देशमा कोरोना भाइरस (कोभिड – १९)को संक्रमण दर झट्टै नियन्त्रणमा आउने छाँट देखिएको छैन् ।

अहिले देशभर अझ भनौं काठमाडौँ उपत्यकाका अस्पतालहरुमा लक्षण सहितका बिरामीको चाप थेगिनसक्नु भईसकेको छ ।

यो अवस्थामा सरकारले कोभिड – १९ संक्रमितको उपचार गर्न तत्काल अस्पताल, उपकरण र जनशक्तिको क्षमता अभिवृद्धि गर्नुको विकल्प छैन् । तर, क्षमता अभिवृद्धिका लागि अब फेरी सून्य देखि काम शुरु गर्दा ढिलाई हुनसक्छ ।

त्यसैले अहिले भएकै संरचना र जनशक्तिको सही व्यवस्थापन गर्नु बढी बुद्धिमानी देखिन्छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को सिनेटर समेत भएको नाताले वीर अस्पताललाई कोभिड उपचारमा थप प्रभावकारी बनाउन कसरी सकिन्छ भन्ने धारणा राख्दैछु ।

मलाई लाग्छ, राम्रो व्यवस्थापन र भएका सामग्रीहरुको यथोचित व्यवस्थापन गर्न सकियो भने वीर अस्पतालको नेतृत्वमा एक हजार बढी कोभिड -१९ का बिरामीलाई सहज रुपमा उपचार गर्न सक्छ ।

कसरी ?
त्यसका लागि निम्न अनुसारका सातवटा उपाय अवलम्वन गर्न जरुरी छ ।

१. वीर अस्पतालमा स्थापना गरिएको आक्सिजन प्लान्ट हाल बिग्रेर बसेको छ त्यसलाई तत्काल मर्मत गरेर चलाउने । किनभने यो अक्सिजन प्लान्टको उत्पादन क्षमता १५० सिलिण्डर छ तर वीरको आवश्यकता दैनिक १०० सिलिण्डर रहेको छ । कोभिड १९ का बिरामीको मुख्य उपचार भनेकै हाइ फ्लो अक्सिजन भएकोले यसलाई तत्काल सञ्चालनमा ल्याउनु पर्दछ । अझ त्यसबाट उत्पादित अक्सिजन अन्यत्र समेत उपयोग गर्न सकिन्छ । अस्पताल प्रशासन र मन्त्रालयले यसबारेमा तत्काल ध्यान दिनु पर्ने देखिन्छ ।

२. वीर अस्पतालको पछाडीपट्टीको भागमा भूकम्प पछि जापानी सहयोग नियोग जाइकाले नयाँ भवन बनाइदिएको छ । सो भवनमा १५० सैयाको कोभिड विशेष अस्पताल बनाउने । यसका लागि १०० वटा उच्चचापको अक्सिजन दिने मेसिन र ५० वटा भेन्टिलेटर खरिद गर्ने । उपरोक्त अस्पताल सञ्चालन गर्नका लागि आवश्यक जनशक्ति मध्ये भुईंसफा गर्ने कर्मचारी, नर्स र मेडिकल अफिसर नियुक्त गर्ने । विशेषज्ञ चिकित्सकहरुको थप व्यवस्था गरिरहन नपर्ने ।

३. वीरको इमरजेन्सी उत्तरतर्फ बनिरहेको सर्जिकल भवनको काम थोरै मात्रै बाँकी छ । त्यसमा बाँकी रहेको पानी, बत्ति र स्यानिटरीको काम आवासीय कामदार राखेर एक देखि दुई महिनामा तयार गरी ५०० सैया र १० वटा अपरेसन थिएटर सञ्चालन गर्ने ।

४. वीर अस्पतालमा स्थागित गरिएको विशेषज्ञ सेवा पुरानो भवनमा यथावत सञ्चालन गर्ने ।

५. बसुन्धरास्थित राधास्वामी सत्सङ भवन परिसरमा २०० सैयाको अक्सिजन सहितको हाईडिपेण्डेन्सी सेवा सुरुवात गर्ने । यसका लागि सत्संङ समितिले भवन उपलव्ध गराउन सहयोग गर्छु भनिसकेको छ । यसलाई वीर अस्पतालको निगरामी राख्ने, निको हुन लागेकालाई सो भवनमा सिफ्ट गर्ने । सिकिस्त विरामीलाई वीरको जाइका भवनमा उपचार गर्ने।

६. न्याम्समा रोकिएर रहेको स्नातकोत्तर तहको प्रवेश परीक्षा लिई भर्ना लिन सकिएमा १,००० जना चिकित्सकहरू विशेषज्ञ सेवामा प्रवेश हुनेछन् । उनीहरुलाई अहिले कोभिड १९ को उपचारमा खटाउन सकिन्छ ।

७. बन्द गरेको नयाँ भवनका रोकिएका कामहरुलाई तत्काल सूचारु गर्ने बाताबरण गरे, जाइका र नयाँ भवन तथा पुरानो भवनमा गरी करीब १००० बढी बेड कोरोना उपचारका लागि सञ्चालन हुनसक्छ ।

यी कामहरु हेर्दा र सुन्दा साना र सामान्य पनि देखिन सक्छन् र सामान्य ठानेकै कारण प्राथमिकतामा नपर्न पनि सक्छ ।  तर यसलाई प्राथमिकतामा राख्न जरुरी देखिन्छ । यसलाई प्राथमिकतामा राखियो र काम अघि बढाईयो भने कोभिड १९ उपचारमा अहिले देखिएको धेरै समस्याको समाधान हुनसक्छ ।

# नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा अधिकारी न्याम्सका सिनेटर समेत हुन् ।


Facebook Comment


थप समाचार