‘कोरोनाविरुद्ध सावधानी अपनाएकै थिएँ, कसरी सर्‍यो पत्तै भएन’

- नेपाली हेल्थ

# डा. बुद्धिमान श्रेष्ठ

डा. बुद्धिमान श्रेष्ठ

‘फ्रन्टलाइन’मा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई कोरोना भाइरसको मुख्य जोखिमयुक्त समूह हो भनेर शुरु देखि नै मानिदै आएको थियो र छ । त्यसमा पनि अझ हामी त मुख तथा दन्त स्वास्थ्य क्षेत्रमा काम गर्ने ‘फ्रन्टलाइनर’ । संक्रमणको डर नहुने कुरै भएन ।

तर,  मुख तथा दन्त स्वास्थ्य क्षेत्रमा एउटा पहिचान बनाएको संस्था डराएरै सेवा बन्द गरी बस्न पनि भएन । हामीले आवश्यक सावधानी अपनाएर अत्यावश्यक सेवालाई निरन्तरता दिएका थियौँ । त्यसकै फल फल स्वरुप भन्नुपर्छ, कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) मा लामोसमय सम्म कुनै स्वास्थ्यकर्मीहरुलाई संक्रमणले भेट्टाउन सकेन ।

उपत्यकामा हुँदा म आफै पनि दैनिक जसो केडीसीमा आएकै हुन्थें । संक्रमणको सम्भावित जोखिमलाई बिचार गरी स्वास्थ्य सावधानी अपनाएकै हुन्थें । तर दुई साता अघि म आफै यसको संक्रमणमा परें ।

सामान्य लक्षण देखिएपछि गत २२ असोजमा पीसीआर परीक्षणका लागि दिएको स्वाबको एक दिन पछि आएको रिपोर्टमा कोभिड – १९ पोजेटिभ भएको देखियो । यद्धपी म अहिले कोरोनामुक्त भइसकेपछिको एक साता लामो सेल्फ क्वारेन्टिनमा छु ।

मैले आज यो लेखमा ‘म पनि कोभिड पोजेटिभ भएँ, भनेर जानकारी दिन खोजेको पट्क्कै होइन । मैले त कोरोनालाई ख्याल ठट्टा हो भनेर सोच्नेहरुलाई ‘त्यो चाँही होइन है’ भन्न खोजेको मात्र हुँ ।

कसरी सर्‍यो कोरोना  ? 
मेरो गाँउ स्याङ्जा चापाकोट नगरपालिका -९ सुन्तलीटारमा म अध्यक्ष रहेको बीएम फाउन्डेशन र टीपीवी फाउन्डेशनको संयुक्त सहयोगमा पहिलो पटक आँखा उपचार केन्द्र स्थापना भएको थियो । सबै तयारी पुरा भएपछि १५ असोजबाट सेवा सञ्चालन गर्ने योजना बन्यो ।

कोरोना महामारीको रुप घटेको थिएन । तै पनि स्थानीय साथीहरुले शुभारम्भ कार्यक्रममा आइदिनु पर्‍यो भन्नुभयो । म १२ असोजमै गएँ । म मात्रै होइन छोरा बुहारी र नाती समेत थिए । पोखराबाट एक जना नेत्र सहायक र अर्को अप्थामालोजिष्ट पनि जानु भएको थियो । जाँदा आवश्यक सतर्कता र सावधानी त अपनाइएकै थियो ।

१५ असोजका दिन सम्छिप्त रुपमा आँखा उपचार केन्द्रको शुभारम्भ गर्ने योजना बनाइयो । स्थानीय तहका थोरै व्यक्तिहरुलाई बोलाइयो र शुभारम्भ  गरियो । तर,  स्थानीय बासी शिविरमा झैं उपस्थित भए, पोखराबाट प्राध्यापक डाक्टर सचेतप्रभात श्रेष्ठ जानु भएको थियो, केहीले उहाँसंग आँखा जाँच गराउन मन गरे । यसले हामीले सोचें भन्दा केही बढी भिड बढ्यो नै । तर हामीले निर्धारित समयमै कार्यक्रम सक्यौँ ।

छोरा बुहारीसंग गाँउ गएको थिएँ, केही दिन गाँउमै बस्ने योजना बनाएको थिएँ । तर १९ असोजका दिन विहान हल्का ज्वरो आए जस्तो भयो । जीउ पनि भारी भए जस्तो लाग्यो । अलि अलि दुख्न थाल्यो । कोभिड – १९ को लक्षण त होइन ? मलाई शंका लाग्यो । म सोही दिन पोखरा फर्किएँ । त्यहाँ आएर स्थानीय स्वास्थ्य संस्थामा रगत लगायत अन्य परीक्षण गराएँ । रिपोर्ट सामान्य नै देखियो । त्यसपछि २० गते काठमाडौँ फर्किएँ, २१ असोजसम्म कलेजको क्वाटरमा आइसोलेट भएर बसें । तर त्यतिन्जेल मेरो ज्वरो रोकिएन । चिकित्सकको सल्लाहमा २२ गते विहानै पीसीआर दिएँ । आफूलाई शंका लागे जस्तै २३ असोजमा रिपोर्ट आयो कोभिड – १९ पोजेटिभ ।

रिपोर्ट पोजेटिभ छ, लक्षण पनि छ, क्वाटरमा आइसोलेट भएर बस्न खतरा ठाने । तत्कालै केडीसी कोभिड १९ अस्पतालमा भर्ना भएँ । भर्ना भएको चार दिनसम्म निक्कै गाह्रो भयो । तर अस्पतालमा राम्रो स्याहार पाइयो । अक्सिजन लिने देखि डेक्सोना सुई देखि ट्याजोलिन, पेन्टाप्राजोल, रेम्डेसिभिर, हेपारिन लगायतका औषधिहरु प्रयोग भयो । लक्षण देखिएको १२ औँ दिनपछि मेरो रिपोर्ट नेगेटिभ आयो । रिपोर्ट नेगेटिभ आएपछि पनि एक साता आइसोलेट भएर बस्नु राम्रो भनेर अहिले बुढानिलकण्ठ, पासीकोटमा रहेको एग्रो फार्मको क्वाटरमा बसेको छु । स्वास्थ्य अवस्था सामान्य उन्मुख गराउने प्रयासमा छु ।

कोरोना संक्रमणलाई हल्का रुपमा नलिऔँ
सामाजिक सञ्जालमा मैले देखिरहेको छु, कोही कोहीले कोरोना केही होइन भ्रम हो भन्ने गरेको देखेको छु । कोहीले त कोरोना केही होइन भन्ने अभियान नै चलाएको पनि सुनेको र देखेको छु । तर म उहाँहरुलाई यत्ति मात्रै भन्छु, ‘भ्रममा तपाईँहरु हुनुहुन्छ ।’

कोरोनाले स्वस्थ रहेको किशोर र युवालाई यसले त्यति धेरै असर नगर्ला, तर बृद्धबृद्धा, दीर्घ रोगी, रोगप्रतिरोध क्षमता कम भएकाहरुलाई यसले समायो भने निकै अफ्ट्यारो पार्न सक्छ । रोग प्रति सचेत र सावधानी अपनाउँदा अपनाउँदै म आफै यसको संक्रमणमा परे । गम्भीर अवस्थामा पुग्नबाट जोगिएपनि ४ – ५ दिन निक्कै नै अप्टेरो भएको थियो मलाई ।

तपाईँलाई समस्या नहोला तर परिवारका सदस्यलाई त पार्न सक्छ

तपाईँ आफू संक्रमणमा परेर खासै समस्या नहोला तर तपाईँको घरमा परिवारका अरु सदस्य पनि त हुनसक्छन् । तपाईँ संक्रमण भएपछि अरुलाई पनि सहजै सर्ने सम्भावना रहन्छ । मैले नै त्यो अनुभव पनि भोगें । एउटालाई खासै असर नगर्ने भाइरसले अर्को व्यक्तिलाई निक्कै असर गर्न पनि सक्छ । त्यसैले यसमा हेलचेक्राई गर्नैै हुँदैन ।

संक्रमणमा परेपछि औषत दुई साता तपाईँ आइसोलेट हुनै पर्दछ । त्यसबीचमा तपाईँका कामहरु अवरुद्ध हुने भयो । भेटघाट बन्द हुने भयो । तपाईँलाई मात्रै होइन परिवारका अन्य सदस्यलाई पनि समस्या हुने भयो । त्यसैले विज्ञहरुले भनेको एमएमएस अर्थात एस सोसियल डिस्टान्सिङ (भौतिक दुरी ) कम्तीमा २ मिटर हुँनै पर्ने, एम मास्क अनिवार्य रुपमा लगाउनै पर्ने, एस अर्थात स्यानिटाइजर वा सावुन पानीले नियमित रुपमा हात सफा गरि रहने हुनुपर्दछ ।

संक्रमितलाई सहयोग गरौँ आहात गराउने काम नगरौँ

मलाई संक्रमण देखिएपछि चापाकोटका स्थानीय राजनीतिक दलले कोरोना फैलाएको आरोप लगाँउदै म माथि नै कारवाही गर्न समेत माग गरेको सुनियो । मैले गाँउमा स्वास्थ्य सचेतना र स्वास्थ्य सेवा पुर्‍याउने काम गरेको थिएँ र त्यो बेलामा संक्रमणमा परेको थिएँ तर त्यसबेला सहयोग र सहानुभूति त कता कता उल्टै कारवाही गर्न भनियो । यो निकै नै दुखद कुरा हो । संक्रमण कोबाट कसरी सर्‍यो भन्ने थाह नै छैन् । र संक्रमण सरिसकेपछि त्यसलाई थप जटिल बन्न नदिन आफू सचेत बन्ने हो । समाज सचेत बनाउने हो र संक्रमणमा परेकालाई मिल्छ भने सहानुभुती दिने हो । यो मानवीय धर्म पनि हो । तर त्यहाँ त रोग माथि पनि राजनीति भयो । यस्तो देख्दा दुख लागेर आउँछ ।

बैगुनी – २ मा सहभागी हुन सकिन
मैले माथि पनि भने, मलाई कहाँबाट कसरी संक्रमण भयो भन्ने एकीन हुन सकेको छैन् । मैले कहाँ निर कमजोरी गरेँ भाइरसले त्यहि निर समायो भन्ने अनुमान छ । यो बीचको झण्डै तीन साताको मेरो महत्वपूर्ण समय भने यसले लगिदियो ।

पछिल्लो समय म सांगितिक क्षेत्रमा पनि सक्रिय हुन खोज्दैछु । सानै देखि नै मलाई गायक बनेर गीत रेकर्ड गर्ने धोको थियो । साढे सात महिना अघि त्यो पुरा गरेँ । त्यसबेला ‘बैगुनी’ नामक गिती एल्वममा रेल्ले तान्यो र भन्ने गीत पस्किएको थिएँ । साढे ६६ लाख बढीले त्यो गीत हेर्नुभयो । त्यसपछि झन् मिहिनेत गरेर दोस्रो कोसेलीको रुपमा ‘बैगुनी – २’ लिएर आएको थिएँ ।

साउनमै रेकर्डिङ सकेपनि कोरोना कै कारण भिडियो सुटिङ पर पर सर्दै गएको थियो । तर पछिल्लो महिना हामीले सुटिङ गर्‍यौं । त्यसमा मेरो केही काम बाँकी थियो । संक्रमित भएपछि त्यो यत्तिकै भयो । गीत सार्वजनिक गर्ने दिन पहिले नै तोकिएको थियो । त्यसैले रोक्न रिलिज डेट परिवर्तन गरिएन । म आफू अस्पतालको शैय्यामा हुँदा नै मेरो दोस्रो कोसेली बैगुनी -२ बाट सितल छाँयालाई, भुल्नकहाँ सक्छु र बैगुनी हितको मायालाई ‘ भन्ने बोलको गीत सार्वजनिक भयो । तर यो गीतमा पनि आम दर्शक स्रोतले पहिलो गीतलाई जस्तै मन पराईदिनु हुनेछ भन्ने विश्वास छ । कोरोना महामारीका बीचमा आएको यो गीतले अहिलेको तनावलाई थोरै भए पनि रिलिफ गर्दछ भन्ने विश्वास लिएको छु ।

# डा. श्रेष्ठ कान्तिपुर डेन्टल कलेज तथा विएम फाउन्डेशनका अध्यक्ष हुन् ।


Facebook Comment


थप समाचार