बंगलादेशबाट १० हजार भाइल रेम्डेसिभिर औषधि आउँदै

काठमाडौँ, ६ कात्तिक । कोरोना संक्रमण र त्यसबाट जटिल अवस्था देखिने क्रम बढी रहेका बेला नेपालमा रेम्डेसिभिर औषधिको अभाव भएको छ । तर अब केही दिनमै सो अभाव हट्ने औषधि व्यवस्था विभागले जनाएको छ । विभागले यसै साता बंगलादेशबाट १० हजार भाइल रेम्डेसिभिर औषधि आउने बताएको छ ।

विभागका प्रवक्ता सन्तोष केसीका अनुसार बंगलादेशको बेक्सिम्को फर्मास्यिुटिकल्सबाट उत्पादित १० हजार भाइल रेम्डेसिभिर ल्याउन हाम्रो मेडि कन्सर्नले स्वीकृति पाइसकेको छ । उसले यसै साता औषधि ल्याउने प्रतिवद्धता जनाएको छ । यस भन्दा अघि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको क्लिनिकल ट्रायलका लागि बेक्सिम्को फर्मास्यिुटिकल्सले ५ हजार भाइल रेम्डेसिभिर पठाएको थियो । सो औषधिको प्रभावकारिता हेरिसकेपछि परिषद्को सिफारिसमा विभागले थप औषधि आयातका लागि स्वीकृति दिएको हो ।

‘यो औषधि एनएचआरसीले यसअघि क्लिनिकल ट्रायलका लागि प्रयोग गरेको थियो । त्यसले ठिक छ भनेपछि हामीले स्वीकृति दिएका हौँ । फेरी यो कम्पनीले अन्य कम्पनीको भन्दा सस्तोमा औषधि उपलव्ध गराउने बतायो । अहिलेको आवश्यकतालाई ध्यानमा राखेर आयात अनुमति दिएका हौँ,’ विभागका महानिर्देशक भरत भट्टराईले भने ।

औषधिको अहिलेको मूल्यमा पनि एक हजार सस्तो

नेपाल अहिले सबैभन्दा सस्तो भारतीय कम्पनी सिप्लाबाट उत्पादित रेम्डेसिभिर रहेको छ । उसले ६ हजार ४ सय रुपैयामा औषधि उपलव्ध गराएको थियो । तर बेक्सिम्कोका नेपाली आयातकर्ता हाम्रो मेडि कन्सर्नले अब आउने औषधि ५ हजार ४ सय रुपैयाँमा उपलव्ध हुने बताए । ‘हामीले अहिले नेपाली बजारमा देखिएको सस्तो मूल्यमा पनि एक हजार रुपैयाँ कममा औषधि उपलव्ध गराउँदै छौँ,’ हाम्रो मेडि कन्सर्नका म्यानेजिङ डाइरेक्टर शम्भु कार्कीले भने । उनले आज बेलुकासम्म भारत र बंगलादेशको सिमा नाका बंगलाबन्दसम्म आइपुग्ने र त्यहाँबाट नेपाली बोर्डरसम्म आइपुग्दा दशैं विदाले भन्सार कार्यालय बन्द हुनसक्ने भएकोले दशैंपछिको द्धादशीको दिनसम्म औषधि आइपुग्ने बताए ।

‘दशैंले गर्दा दुई चार दिन नेपालको भन्सार बन्द हुँदै रहेछ । त्यसले गर्दा दुई तीन दिन ढिला हुन्छ कि भन्ने छ,’ कार्कीले भने ।

त्यसो त विभागले यसअघि नै भारतीय कम्पनी सिप्ला, हिटेरो र माइलनबाट उत्पादित रेम्डेसिभिर औषधि २ हजार भाइलका दरले आयात गर्न अनुमति दिइसकेको छ । ती कम्पनीका औषधिहरु पनि केही दिन भित्रै नेपाल भित्रि सक्ने आयातकर्ताहरुले बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *