बागमती र गण्डकी प्रदेशमा पनि कोरोना परीक्षण र उपचार नि:शुल्क

काठमाडौँ, ५ कात्तिक । बागमती र गण्डकी प्रदेश सरकारले कोरोना परीक्षण र उपचार निशुल्क नै रहेको जानकारी दिएका छन् । यसअघि लुम्बिनी प्रदेशले सो घोषणा गरेको थियो ।

लुम्बिनीका मुख्य मन्त्री शंकर पोखरेलले मंगलबार विहानै आफ्ना चारवटा कोरोना अस्पतालमा लक्षण देखिएका कोरोना संक्रमितको उपचार निशुल्क गरिरहेको र त्यो कार्यलाई निरन्तरता दिएको सामाजिक सञ्जालबाट जानकारी गराएका थिए ।

त्यस लगत्तै गण्डकी प्रदेश सरकारले पीसीआर परीक्षण र कोरोनाको उपचार खर्च आफूहरुले वेहोरी रहेको र त्यो निरन्तरता हुने भन्दै जानकारी गराएको छ । उसले आफ्ना नागरिक प्रतिको दायित्व पूरा गर्नबाट सरकार पछि नहटेको समेत स्पष्ट पारेको छ ।

गण्डकीले मात्रै होइन मंगलबार अपरान्ह बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल शरदले पनि फेसबुकमार्फत प्रदेश अन्तरगर्त रहेका प्रयोगशाला र अस्पतालबाट कोरोना परीक्षण र उपचार पहिले जस्तै निशुल्क रहेको जानकारी दिएका छन् । उनले दशैंको विदामा पनि परीक्षण र उपचार निरन्तरता हुने बताएका छन् ।

यसअघि संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै जनाको कोरोना परीक्षण र उपचार निशुल्क गर्न नसक्ने घोषणा गरेको थियो । यो घोषणाको चर्को आलोचना भएको थियो ।

संघीय सरकारको आलोचना भइरहेका बेला प्रदेश सरकारले धमाधम निशुल्क परीक्षण तथा उपचार निरन्तरता हुने बताएका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *