लुम्बिनी प्रदेश सरकारका चारवटा अस्पतालमा कोरोना उपचार नि:शुल्क

मुख्यमन्त्री शंकर पोखरेल

काठमाडौँ, ४ कात्तिक ।  संघीय सरकारले कोरोना संक्रमणमा परेका निश्चित समूहको मात्रै निशुल्क उपचार गर्ने घोषणा गरेको छ । तर लुम्बिनी प्रदेश सरकारले भने आफ्ना सरकारी अस्पतालमा लक्षण देखिएका कोरोनाका बिरामीको लागि निशुल्क उपचारको व्यवस्था यथावत रहेको जनाएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै लुम्विनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका विरामीका लागि निशुल्क उपचारको व्यवस्था यथावत रहेको छ जानकारी दिएका छन् ।

लुम्बिनी प्रदेशले भेरी अस्पताल नेपालगञ्ज, बेलझुण्डी कोरोना विशेष अस्पताल दाङ, लुम्बिनी प्रादेशिक अस्पताल (धागोकारखाना) बुटवल र भीम अस्पताल भैरहवालाई कोरोना विशेष अस्पतालको रुपमा सञ्चालनमा ल्याइरहेको छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा विनोदकुमार गिरीले अहिलेपनि कोरोना विशेष अस्पतालमा लक्षण भएका बिरामीको उपचार निशुल्क भइरहेको पुष्टी गरे । उनका अनुसार प्रदेश सरकारले बनाएका चारवटा विशेष अस्पतालमा कुल बेडको संख्या १९५ छ । त्यसमध्ये अहिले लक्षण भएकाहरु १४३ जना, आइसीयूमा २७ जना र २ जना भेन्टिलेटरमा गरी कुल १७२ जनाले निशुल्क उपचार लिईरहेका छन् ।

लुम्बिनीमा पीसीआर परीक्षण पनि निशुल्क
उपचार मात्रै होइन लुम्बिनीमा प्रदेश सरकारले सञ्चालनमा ल्याएको पीसीआर परीक्षण पनि निशुल्क भइरहेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाले अहिलेसम्म ३० हजार बढी पीसीआर परीक्षण गरेको छ । ती सबै निशुल्क नै छन् । पाल्पा अस्प्ताल पाल्पा, र तम्घास अस्पताल गुल्मीमा पनि पीसीआर निशुल्क रहेको बताइएको छ ।

यस्तै भेरी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रादेशिक अस्पतालमा पनि पुरानो मापदण्ड अनुसार नै निशुल्क कार्यान्वयनले निरन्तरता पाएको छ । तर यी तीन वटा अस्पतालले पुरानो मापदण्डमा नपरेका कतिपयहरुको सशुल्क पनि सेवा उपलव्ध गराउने गरेका छन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा राजेन्द्र गिरीले आफूहरुले अहिलेसम्म ३० हजार बढीको पीसीआर गरेको र ती सबै निशुल्क गरेको बताए । उनले आफ्नो प्रयोगशालाबाट ५ हजार बढी पोजेटिभ पुष्टि भइसकेको समेत जानकारी दिए ।

लुम्बिनी प्रदेशमा सरकारी बाहेक निजी क्षेत्रबाट बागेश्वरी, नेशनल प्याथल्याव बुटवल र नेपालगञ्ज मेडिकल कलेजका प्रयोगशालामा पनि पीसीआर परीक्षण हुँदै आएको छ । ती प्रयोगशालाहरुले भने सशुल्क सेवा दिइरहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *