सरकारले भन्यो, ‘रेम्डेसिभिर औषधिका लागि तीनवटा एजेन्सीमा सम्पर्क गर्नु’

काठमाडौँ, ३० असोज । सरकारले रेम्डेसिभिर औषधि चाहिए तीन वटा एजेन्सीलाई सम्पर्क गर्नु भनेर शुक्रबार सूचना निकालेको छ । तर ती तीनवटा कम्पनीले अहिले आफूहरुसंग स्टकमा औषधि नभएको र आइपुग्न १० देखि १५ दिन लाग्ने बताएका छन् ।

नेपालमा कोरोना संक्रमणको दर दिन प्रतिदिन बढ्दै जाँदा गम्भीर बिरामीका लागि परीक्षणको रुपमा प्रयोग भएको रेम्डेसिभिर औषधिको माग ह्वात्तै बढेको छ । तर आयातकर्ताहरुले पहिलो लटमा ल्याएको औषधि सकिएको र दोस्रो लटका लागि ल्याउने प्रक्रिया भर्खरै शुरु भएकोले केही दिन लाग्ने बताएका छन् ।

मन्त्रालयले शुक्रबार भारतीय कम्पनी सिप्लाबाट उत्पादिन रेम्डेसिभिर ल्याउने आधिकारिक एजेन्सी यति फर्माकेम डिस्ट्रीव्युटरर्स प्रालि, माइलन ल्यावरोटोरिजबाट उत्पादित रेम्डेसिभिर ल्याउने एजेन्सी सिनर्जी ओभरसिज प्रालि र हिटेरो कम्पनीको औषधि ल्याउने भिगोविस लाइफस सान्इस लिमिडेटका प्रतिनिधिको मोवाइल नम्बर समेत राखेर सूचना प्रकाशित गरेको छ । तर ती कम्पनीका प्रतिनिधिहरुले औषधि आउन अझैं केही दिन लाग्ने बताएका हुन् ।

यतिकेमका अध्यक्ष प्रभुराज बैद्यले आयात गर्नका लागि अनुमति प्राप्त गर्न ढिलाइ भएका कारण औषधि ल्याउने प्रक्रिया समेत ढिलाइ भएको बताए ।  ‘यो औषधि यसैपनि भारतमै समेत सर्टेज छ । हामीले यसअघि २ हजार भाइल ल्याउने अनुमति पाएका थियौँ ल्यायौँ । त्यसपछि पुन आयातका लागि धेरै अघि नै निवेदन दिएका थियौँ तर केही दिन अघि मात्रै २ हजार भाइल ल्याउन स्वीकृति भयो । यसले आयात प्रक्रियालाई नै पनि ढिलाई भयो । तसर्थ मेरो कम्पनीले सकेसम्म आठ दश दिन भित्र ल्याउने कोशिश गर्दैछ । अहिले हामीसंग मौज्दात छैन्,’ उनले भने ।

सिनर्जी ओभरसिजका मधु पौडेल र भिगोविस लाइफ सान्इसका बिजय अग्रवालले पनि आफूहरुको औषधि आउन दुई सातासम्म लाग्न सक्ने बताए ।

‘आयात अनुमतिका लागि धेरै अघि निवेदन दिएका थियौँ । औषधि व्यवस्था विभागले एक दुई दिन अघि मात्रै स्वीकृति भयो । यतिवेला बजारमा औषधि सर्टेज भइसकेको हामीले पाएका छौँ । तर के गर्ने हामीसंग पनि औषधि मौज्दात छैन्’ उनीहरुले भने ।

यसअघि सरकारले यी तीन कम्पनीका औषधिहरु विभागको स्वीकृतिमा ल्याउने र नेपाल स्वास्थ्य अनुसन्धानले गर्न लागेको क्लिनिकल ट्रायलका लागि उपलव्ध गराउने भन्ने थियो । यसपटक भने आयातकर्ता आफैले बजारमा उपलव्ध गराउन सक्ने गरी अनुमति दिएकोछ । ‘अब उहाँहरुले एनएचआरसीलाई उपलव्ध गराउनु पर्नेछैन् । चिकित्सकको सिफारिसमा आवश्यक परेको ठाँउमा वितरण गर्न सक्नुहुनेछ ,’मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने ।

अहिले उपत्यका र उपत्यका बाहिरका कोभिड अस्पतालमा गम्भीर विरामीको संख्या बढ्दो क्रममा छ । चिकित्सकहरुले गम्भीर विरामीका लागि पाँच भाइल रेम्डेसिभिर चलाउँदै आएका छन् ।  यसअघि सरकारलाई पाँच हजार भाइल रेम्डेसिभिर औषधि बंगलादेश सरकारले समेत सहयोग गरेको थियो । त्यसले पनि बजारको माग परिपूर्तिका लागि केही सहयोग गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *