कोभिड-१९ ले कसरी ल्याउँछ फोक्सोमा जटिलता ?

सन् २०१९ को अन्त्यमा चीनको वुहानमा र माघको दोस्रो साता नेपालमा पहिलो केश देखिएको कोरोना भाइरस (कोभिड- १९) को महामारीबाट विश्व अझै आक्रान्त छ ।  विश्वका केही मुलुकमा यसको प्रभाव घट्दो क्रममा रहेको देखिएता पनि हाम्रो देश नेपालमा संक्रमण बढदो क्रममा छ । अझ खुल्ला सिमाना रहेको छिमेकी मुलुक भारतमा त संक्रमणले भयावह रुप लिदै छ । त्यसको असर हामीकहाँ नपर्ने कुरै भएन ।

कोभिड- १९ बिरुद्ध प्रयोग गर्न अहिलेसम्म निश्चित खोप वा औषधि बनिसकेको छैन् । अहिले प्रयोग गरिएका खोप तथा औषधिहरु क्लिनिकल ट्रायलमै रहेकाहरु हुन् । त्यसैले कोभिड – १९ बिरुद्धको लडाईका लागि हामीले केही हतियार प्रयोग गर्नु अनिवार्य छ । अनिवार्य मानिएका ती हतियार भनेको एक अर्कासंग कम्तिमा २ मिटरको भौतिक दुरी कायम गर्ने, सावुन पानीले पटक पटक हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने र मास्कको प्रयोग गर्ने रहेका छन् ।

कोभिड – १९ प्रकृतिकै भाइरस सन् २००३ र सन् २०१२ मा पनि फैलिएको थियो । सन् २००३ मा फैलिएको SARS-COV होस वा सन् २०१२ मा फैलिएको MERS-COV, यी दुबैले गराएका अधिकांश मृत्यु भाइरसले फोक्सोमा गरेको संक्रमणबाट भएको थियो । अहिले आएको कोभिड -१९ को संक्रमण भई लक्षण देखिएका अधिकांशमा पनि फोक्सोमै संक्रमण देखिएको छ ।

नेपाल र भारतमा कोभिड- १९ का कारण ज्यान गएका भनिएकाहरुको अध्ययन गर्दा अधिकांश मृत्युको कारण न्यूमोनिया लगायत फोक्सोमा भएका संक्रमणको भएको देखिएको छ । कतिपय बिरामीमा कोरोनाका लक्षण फोक्सोमा संक्रमणबाट शुरु हुन्छन र फोक्सोमै अन्त्य हुन्छन् ।

धेरै जसोमा रोग प्रतिरोधात्मक शक्ति कम भएका बृद्ध व्यक्ति, मधुमेह, गर्भवती, क्यान्सर, क्षयरोग लागेका व्यक्ति, एचआईभी संक्रमित, मिर्गौला र कलेजोका बिरामी, दमका बिरामी आदिमा जटिल समस्या उत्पन्न भई मृत्यु पनि हुन सक्छ ।

कोरोना भाइरसले फोक्सोमा कसरी असर गर्छ ?
मुख तथा नाकबाट शरीरमा प्रवेश गरेको कोरोना भायरस श्वास प्रश्वासको माध्यमबाट फोक्सोका श्वासनली हुँदै फोक्सोका ग्यास एक्सचेन्ज हुने अन्तिम विन्दु अल्भेवली सम्म पुग्छन् ।

कोरोना भाइरसको बाहिरी सतहमा रहेका स्पाइक ग्लाइको प्रोटिन फोक्सोका कोषका सतहमा रहेका एसिई -२ रिसेप्टरमा सहाहित भई एञ्जिओटेन्सिन -२ को मात्रा प्रशस्त बढाई दिन्छ । एसीई -२ रिसेप्टर भएका कोष फोक्सो, कलेजो, मिर्गौला, मुटु, आन्द्रामा समेत पाइन्छ । तसर्थ यो भाइरसले फोक्सोमा न्यूमोनिया जस्ता संक्रमण र मुटुमा मायोकार्डाइटीस जस्ता रोग उत्पन्न गराउँछ ।

यो भाइरस फोक्सोका कोषमा प्रवेश गरी एसिई -२ रिसेप्टर प्रयोग गरी भाइरसको गुणात्मक बृद्धि हुने, मानिसको रोग प्रतिरोध क्षमतामा ह्रास ल्याउने र समाहित भएका कोष तथा तन्तुहरु मार्ने काम गर्छ ।

फोक्सोका श्वास नलीमा रहेका सिलियालाई यो भाइरसले निस्कृय पारी विभिन्न इन्फ्लामेटरी मेडियेटर उत्पादन गराई साइटोकाइन स्टोर्म शुरु हुन्छ । साथै धेरै कोषहरुको मृत्यु भई श्वासनली लगायत फोक्सोका अल्भेवलीहरुमा तरल पदार्थहरु जम्मा हुन थाल्छ । यसबेला बिरामीमा ज्वरो शुरु भई श्वास प्रश्वासमा कठिनाई उत्पन्न हुन थाल्छ । यसरी फोक्सोमा न्यूमोनिया देखा पर्छ । यसबेला शरीरको रोग प्रतिरोधात्मक क्षमताले भाइरसका विरुद्ध सक्रिय भूमिका खेल्न थाल्छ ।

फोक्सोका प्यारेन्काइमाका कोषहरु सुन्निन थाल्छ । यसबेला फोक्सोका कोषमा प्रतिक्रिया उत्पन्न भई सीडी -४ र कोष, इओसिनोफिल, न्युट्रोफिल्स प्रशस्त मात्रामा निस्कन्छ । अल्भेवलार र इन्टरस्टिटिसियल इन्फ्लामेशन हुन थाल्छ । फोक्सोका प्यारेन्काइमाका कोषहरु सुन्नि थाल्छन् ।

तीब्र गतिमा फोक्सोमा भएको इन्फ्लामेटरटी प्रक्रियाबाट फोक्सोका लाखौँ कोष तथा तन्तुहरुको मृत्यु हुन थाल्छ । फोक्सोका अन्तिम श्वास प्रश्वास विन्दु अल्भेवलीमा यो भाइरसको असरले जम्मा भएको विकारको तरल पदार्थको कारणले अल्भेवलीबाट अक्सिजन रगतमा पठाउने र कार्वनडाई अक्साइड शरीरबाट हावाको माध्यमबाट बाहिर फाल्ने कार्यमा असन्तुलन भई विरामी ‘रेस्पिरेटरी फेलर’को अवस्थामा पुग्छ । तत्काल श्वास प्रश्वासमा कठिनाई हुनसक्छ र त्यसबेला कृतिम श्वास प्रश्वासका लागि भेन्टिलेटमा लैजान पर्न सक्छ ।

छातीको एक्सरेमा कन्सेलिडेशन देखा पर्छन् । फोक्सोको कोषहरुमा प्रसस्त मात्रामा साइटोकाइन उत्पादन भई साईटोकाइन स्टोर्मको परिस्थिति सृजना हुन पुग्छ ।

प्रशस्त मात्रामा भएको इन्फ्लामेसन प्रक्रियाले गर्दा शरीरका रक्तनलीहरुमा परमियविलिटी बृद्धि भई तरल पदार्थ कोषहरुमा पुग्दछ । जसले गर्दा अक्सिजनको प्रवाह शरीरका कोषहरुमा कम भई शरीरका विभिन्न अंगहरुमा असर भई मल्टीअर्गान फेलियरको विकास हुनसक्छ ।

फोक्सोका प्रशस्त कोष र तन्तुहरुको मृत्यु हुने कारणले पछि फोक्सोमा दीर्घकालिन फाइब्रोसिस र ब्रोङ्कियाक्टिासीस भविस्यमा देखा पर्न सक्छ । यसलाई साधारण भाषामा फोक्सोमा छिद्र वा दाग भएको भनिन्छ ।

# बरिष्ठ छातिरोग विशेषज्ञ डा. बम त्रिवि चिकित्साशास्त्र अध्ययन् संस्थान (आइओएम)का सहप्राध्यपक समेत हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *