नेपालका ४.३ प्रतिशत वयस्क व्यक्ति मानसिक स्वास्थ्य समस्यामा

काठमाडौँ, ६ असोज । नेपालका ४.३ प्रतिशत वयस्कहरुमा मानसिक स्वास्थ्य समस्या रहेको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको मानसिक स्वास्थ्य सर्वेक्षणबाट यस्तो नतिजा देखिएको हो ।

यस्तै सर्वेक्षणले १० प्रतिशत बयस्कमा आफ्नो जीवनकालको कुनै न कुनै समयमा मानसिक स्वास्थ्य समस्यामा रहेको देखाएको छ ।

परिषद्ले सन् २०१९ देखि सन् २०२० सम्म गरेको मानसिक स्वास्थ्य सर्वेक्षणको नतिजाले यस्तो देखाएको हो । परिषद्ले सोमबार सर्वेक्षणको नतिजा सार्वजनिक गरेको थियो ।

परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीले सर्वेक्षणमा सातवटै प्रदेशका १५ हजार ८८ जना सहभागी भएको बताए । उनले सहभागीमध्ये ९ हजार २०० जना १८ बर्ष माथिका बयस्क भएको जानकारी दिए । सर्वेक्षणमा ५ हजार ८८८ जना भने १३ देखि १७ बर्ष सम्मका किशोर किशोरी थिए ।

सर्वेक्षणमा अरु के के देखियो ?
सर्वेक्षणले ३ प्रतिशत वयस्कमा उदासिनताको समस्या देखिएको पाइएको छ । यस्तै ६.५ प्रतिशत बयस्कमा हालको अवस्थामा आत्महत्याको सोच रहेको र १.१ प्रतिशत वयस्कले आफ्नो जीवनकालमा आत्महत्याको प्रयास गरेको पाइएको देखिएको छ ।

यस्तै ४.२ प्रतिशत बयस्कमा मादक पदार्थ सेवन गरेको कारण र ०.२ प्रतिशत बयस्कमा मादक पदार्थ बाहेक अन्य कुनै प्रकारका नसालु पदार्थ सेवन गरेको कारण मानसिक स्वास्थ्य समस्या भएको पाइयो ।

यस्तै सर्वेक्षणले बाग्मती प्रदेशका बयस्कहरुमा सबैभन्दा धेरै अर्थात ५.९ प्रतिशतमा मानसिक समस्या रहेको देखाएको छ ।
उमेरगत रुपमा हेदा ४० देखि ४९ वर्ष उमेर समूहका ६.३ प्रतिशत बयस्कमा यस्तो समस्या भएको समेत देखिएको छ ।

त्यसैगरी बयस्क उमेर समूहभित्र महिला र पुरुषको तुलना गरेर हेर्दा ५.१ प्रतिशत महिलामा र ३.४ प्रतिशत पुरुषमा मानसिक समस्या रहेको देखियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *