कोरोनाविरुद्ध खटिएका स्वास्थ्यकर्मीको पीसीआर रोक्ने भनिएको होइन : स्वास्थ्य मन्त्री ढकाल

काठमाडौँ, ३० भदौ ।  स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोभिड १९ विरुद्ध फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको पीसीआर परीक्षण रोक्ने निर्णय नभएको बताएका छन् । उनले अस्पतालको फ्रन्टलाइनमा खटिने (चिकित्सक नर्स, प्रयोगशाला तथा सरसफाइमा खटिने स्वास्थ्यकर्मी)लाई ढुक्कले काम गर्न आग्रह गरेका छन् ।

मन्त्रालयले कोभिड -१९ विरुद्ध काम गर्नका लागि गठन गरेको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीएस)को आइतबार बसेको पदाधिकारी बैठकले लक्षण नदेखिएसम्म कोभिड १९ विरुद्ध फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी (चिकित्सक, नर्स, प्रयोगशालाकर्मी तथा अस्पतालको सरसफाईमा खटिने कर्मचारी) समेत पीसीआर परीक्षण नगर्ने भन्ने विषयको समाचार सार्वजनिक भएको थियो । सो समाचार सार्वजनिक भएपछि नेपाल चिकित्सकसंगले आइतबार मन्त्री ढकाललाई ज्ञापन पत्र बुझाउन मन्त्रालय पुगेको थियो ।

‘अघि चिकित्सक संघका साथीहरु पनि यहि विषयमा ज्ञापन पत्र लिएर आउनु भएको थियो । मैले निर्णय भएकै छैन भनेर पठाएँ । यो निर्णय मन्त्रिपरिषदले गर्ने कुरा हो । त्यो भन्दा अघि यहाँबाट मैले प्रस्ताव लिएर जानुपर्छ । त्यो भएको छैन् । अहिले बाहिर निर्णय भनेर आएको कुरा टिमका साथीहरुलाई फिडव्याकका लागि पठाएको कुरा हुनसक्छ । कर्मचारीहरुले असावधानीबस पहिले तयार गरेको कुराहरु बाहिर आयो । मैले त्यहाँ करेक्सन गर्न भनेको कुरा आएको छैन् । त्यसैले कोही भ्रममा नपरौँ,’ मन्त्री ढकालले भने ।

उनले आइसीएसका सदस्यहरुलाई फिडव्याकका लागि प्रस्तावहरु पठाउने भनिएको र अहिले बाहिर आएको भनिएको प्रस्ताव समेत अपुरो रहेको दावी गरे ।

उनले स्वास्थ्यकर्मी सहित फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीको समेत पूर्ववत रुपमा परीक्षण जारी राख्ने संकेत गरे । ‘परिस्थिति बदलिदै गएको छ । यसमा परीक्षणको मोडालिटी पनि केही परिवर्तन हुनसक्छ । तर फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको परीक्षण नगरिने भनिएको होइन,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *