नयाँ अस्पताल, आइसीयू विस्तार र कोरोना उपचारको लागि साढे ९३ करोड निकासा

काठमाडौँ, २६ भदौ ।  सरकारले कोरोना उपचारका लागि बनाइदै गरेका नयाँ अस्पताल, पुराना अस्पतालका प्रयोगशाला स्वास्थ्य उपकरण खरीद तथा उपचार बापतको सोधभर्नाका लागि ९३ करोड ४० लाख ४ हजार रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ ।

गत २१ भदौमा बसेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको बैठकले सो परिमाणको रकम निकासा गर्ने निर्णय गरको हो ।

मन्त्रालयका अनुसार जाजरकोटको चौरजहारी अस्पताल र दैलेख अस्पताललाई स्वास्थ्य उपकरण खरीद तथा प्रयोगशाला व्यवस्थापनको प्रति अस्पताल ५० लाख रुपैयाँका दरले १ करोड रुपैयाँ निकासा गरेको छ ।

यस्तै बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीलाई कोभिड १९ संग सम्वन्धित उपकरण खरीद गर्न १ करोड रुपैयाँ, कोभिड १९ र अन्य स्वास्थ्य अनुसन्धानका लागि भन्दै नेपाल स्वास्थ्य अनुसन्धान परिषदलाई २ करोड रुपैयाँ निकासा गर्ने निर्णय गरको छ ।

यस्तै १० वटा भेन्टिलेटर सहित १४ वटा आइसीयू बेड स्थापना तथा व्यवस्थापनका लागि त्रिवि शिक्षण अस्पताललाई ५ करोड ७५ लाख रुपैयाँ, ५ वटा भेन्टिलेटर सहित १४ वटा आइसीयू बेड स्थापना तथा व्यवस्थापनका लागि धुलिखेल अस्पताललाई २ करोड ८५ लाख रुपैयाँ, भेन्टिलेटर सहित २० वटा आइसीयू बेड स्थापना तथा कोभिड संग सम्वन्धित अन्य स्वास्थ्य उपकरण खरीद तथा व्यवस्थापनका लागि भन्दै नेपाल प्रहरी अस्पताललाई ८ करोड ४० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

यस्तै कोरोना भाइरस संक्रमणको उपचार वापत अस्पताललाइ अनुदान उपलव्ध गराउने सम्वन्धी आदेश २०७७ अनुरुप समितिले भरतपुर अस्पताललाई २ करोड ३३ लाख ६७ हजार रुपैयाँ, कान्ति बाल अस्पताललाई १ करोड ५५ लाख ७९ हजार रुपैयाँ, राष्ट्रिय ट्रमा सेन्टरलाई १ करोड ३५ लाख ५ हजार रुपैयाँ, भेरी अस्पताललाई १ करोड ६८ लाख ११ हजार रुपैयाँ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५७ लाख ४२ हजार रुपैयाँ निकासा गर्ने निर्णय गरेको हो ।

यसैगरी बैठकले हालसम्म अस्पताल स्थापना भै नसकेका ६४९ वटा स्थानीय तहमा कम्तिमा ५ बेडको अस्पताल सञ्चालन गर्ने गरी प्रति अस्पताल १० लाखका दरले कुल ६४ करोड ९० लाख रुपैयाँ पनि निकासा दिने निर्णय गरेको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *