फार्मासिस्टको लाइसेन्स परीक्षा सञ्चालन गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौँ, २५ भदौ । सरकारले फार्मासिस्टहरुको नाम दर्ता (लाइसेन्स) परीक्षा सञ्चालन गर्न नेपाल फार्मेसी काउन्सिललाई स्वीकृति दिएको छ । गत १९ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सुरक्षा सम्वन्धी सम्पूर्ण मापदण्ड पुरा गरी परीक्षा सञ्चालन गर्न काउन्सिललाई स्वीकृति दिएको हो ।

काउन्सिलका रजिष्ट्रार सञ्जीव पाण्डेले कोरोना महामारीको जोखिम घटि नसकेको भएपनि त्यस सम्वन्धी आवश्यक सावधानी अपनाएर परीक्षा लिन सकिने गरी निर्णय आएको बताए । एउटा परीक्षा केन्द्रमा बढीमा २५ जना, प्रत्येक परीक्षार्थीको दुरी कम्तिमा २ मिटर कायम गर्नुपर्ने, मास्क सेनिटाइजर लगातका आवश्यक सामग्रीको प्रयोग गरी परीक्षा लिन भनिएको छ । हामीले त्यहि अनुसार गर्दैछौँ । रजिष्ट्रार पाण्डेले भने ।

यसअघि संक्रमण बढ्दै जाँदा गत १२ र १३ भदौका लागि तय भएको काउन्सिलको १५ औँ नाम दर्ता परीक्षा स्थगित भएको थियो । काउन्सिलले सो परीक्षा आगामी असोजको दोस्रो साता गर्ने तयारीमा जुटेको छ ।

रजिष्ट्रार पाण्डेले यसपटकको परीक्षा संघीय मोडलबाट हुने बताए । ‘यसपटक हामी सातै प्रदेशबाट परीक्षा लिने योजनामा छौँ । परीक्षामा स्वास्थ्यका लागि तय गरिएका सम्पूर्ण मापदण्ड पालना गरिनेछ । त्यसो गर्दा एउटा प्रदेशमा परीक्षार्थीको चाप हेरेर धेरै केन्द्र पनि तोकिन सक्छ,’ उनले भने ।

काउन्सिलबाट लाइसेन्स लिनका लागि यसपटक व्याचलर इन फार्मेसी (फार्मासिस्ट) मा ७०४ जना र डिप्लोमा इन फार्मेसी (फार्मेसी असिस्टेन्ट) मा ९०० जनाको आवेदन परेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *