च्वाट्टै छिनेको रवि सिंहको हत्केला ट्रमा सेन्टरका चिकित्सकले जोडिदिए

काठमाडौँ, २४ भदौ । मेसिनले दुई टुक्रा बनाइदिएको हत्केला राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकहरुले सफलतापूर्वक जोडिदिएका छन् । सर्लाही जिल्लाको पर्सा गाँउपालिका २ निवासी १८ बर्षीय रवि सिंहको फ्लेक्स पाइप मेसिनले दुई टुक्रा बनाइदिएको हत्केला १० घण्टा लामो शल्यक्रिया गरि ट्रमा सेन्टरका चिकित्सकले जोडिदिएका हुन् ।

घटना गत २९ असारको हो । दक्षिणकालीस्थित एक कारखानामा फ्लेक्सको काम गर्दा फ्लेक्स पाइप मेसिनले रविको हत्केला दुई टुक्रा पारिदिएको थियो । टुक्रा भएको हत्केला बोकेर ट्रमा पुगेका रविको त्यहाँको प्लास्टिक सर्जरी विभाग प्रमुख प्राडा पीयूष दाहालको नेतृत्वमा रहेको  चिकित्सक टोलीले १० घण्टा लामो शल्यक्रिया गरि जोडिदिएका हुन् ।

सर्जरीबारे जानकारी दिन ट्रमा सेन्टरले आज गरेको कार्यक्रममा प्राडा दाहालले अत्यन्तै जटिल मानिने शल्यक्रिया कोरोना महामारीपछिको लकडाउनको अवधीमा सफलता पूर्वक सम्पन्न गरेको बताए ।

‘बेलुकाको ५ बजेको घटना, एक डेढ घण्टामै घाइते युवा ट्रमा आए । यहाँ भएको टिमले केही ढिलो नगरी सर्जरी शुरु गरयो र त्यो सफल भयो  ,’ डा दाहालले भने ।

सर्जरीमा त्यस दिन नेतृत्व गरेका प्लास्टिक सर्जन डा कृष्ण मानन्धरले १८ वटा चलाउने नशा, ५ वटा भेन, ३ वटा आर्टरी र ४ वटा हड्डी जोडनु परेको सुनाए । ‘हत्केलामा धेरै मसिनो मसिनो नसाहरु हुन्छ । त्यसलाई छुट्याउनु परयो र जोडनु प¥यो । त्यसैले पनि यो जटिल सर्जरी हो । तर हामी त्यसमा सफल भयौँ,’ उनले  भने ।
उनले घटना घटे लगत्तै टुक्रिएको हत्केलालाई सफा गरेर ल्याएकोले संक्रमण हुन नपाएको बताए ।

उपचार गरेका रविले चिकित्सकहरुले आफूलाई पुर्नजन्म दिए जस्तो लागेको बताए ।

‘मैले त अब म मर्छु होला भनेको थिएँ तर बाँचे र चुटिएको हात पनि जोडियो । हात अहिले चल्न थालेको छ । अझै केही समय फिजियो थेरापी पनि गर्नुपर्छ भन्नु भएको छ । म ज्यादै खुशी छु,’ रबिले भने ।

सर्जरीमा प्राडा दाहाल र डा मानन्धरसहित अर्का प्लास्टिक सर्जन डा अपार लामिछाने, प्लास्टकी सर्जरी रेजिडेन्ट डा कमलराज पाठक, एनेस्थेसियाका डा रुपेश यादव, डा छिरिङ शेर्पा, नर्सिङ टिमकी पीङकी लागेजु र अनुपमा फुँयाल सहभागिता थियो । उनीहरुले बेलुका करीब ७ बजे देखि शुरु गरी १० घण्टामा जोडिएको थियो । उनी गत २२ साउनमा डिस्चार्ज भएका थिए । तर अहिले पनि उनी फिजियो थेरापीमै छन् ।

अस्पतालका निर्देशक डा सन्तोष पौडेलले कोरोना महामारीका बीचमा ट्रमाले जटिल सर्जरीलाई निरन्तरता दिन सफल भएको बताए । उनले लकडाउनको अवधीमा ट्रमाले २११ वटा ठूला सर्जरी गरेको र ४ वटा अत्यन्तै जटिल सर्जरी गरेको जानकारी दिए । उनले ट्रमा सेन्टर जतिसुकै जटिल सर्जरी पनि सफलतापूर्वक गर्न सक्षम रहेको नतिजाले देखाएको समेत स्पष्ट पारे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *