कोरोना संक्रमणमा परेकी नर्सको आइसोलेसन अनुभव

– गिता भुसाल, पब्लिक हेल्थ नर्स

म नर्स, म स्वास्थ्यकर्मी । कामकै सिलसिलामा कोभिड – १९बाट अचानक संक्रमित हुन पुगेँ । जब संक्रमित भएको रिपोर्ट एका विहानै सुने के गर्ने के नगर्ने, एकछिन त अध्यारो सुरुङ भित्रै फँसे जस्तै भयो ।

बेस्सरी आत्तिएँ !

तर,एक छिन पछि आफै सम्हालिएँ ।

आफैले आफैलाई सम्झाएँ र अन्य साथीभाईहरुको रिपोर्टको बारेमा बुझ्न थालेँ ।

१० जनाको नमूना लगिएकोमा २ जनाको रिपोर्ट पोजेटिभ आएको रहेछ ।

कसरी संक्रमित भएँ होला ?
ठ्याक्कै कारण थाह छैन् । तर कोभिड – १९ बिरुद्धकै काममा खटिदा संक्रमणमा परेकी हुँ भन्नेमा सतप्रतिशत विश्वस्त छु । किनभने त्यसको केही कारण छ मसंग ।

कोभिड – १९ को महामारी फैलिए पछि म कार्यरत जिल्ला अर्घाखाँचीमा पनि देशका विभिन्न स्थान र खासगरी भारतबाट धेरै मानिसहरु आउनु भयो । त्यसमध्ये केही कोभिड -१९ बाट संक्रमित हुनुहुँदो रहेछ । संक्रमितहरुको सम्पर्कमा रहेका मानिसहरुको कन्ट्याक्ट ट्रेसिङ त हामीहरु गएर नै गर्नु पथ्र्यो ।  धेरै ठाँउमा गएर नमूनाहरु संकलन गरियो ।

त्यस क्रममा आफू संक्रमणमा नपरियोस भनेर स्वास्थ्य सुरक्षाका मापदण्ड पनि सचेततापूर्वक अपनाइएकै थियो । तर, फिल्ड जाँदा छुट्टै गाडी हुदैनथ्यो । धेरै जना एउटै गाडीमा कोचिएर जानुपर्ने, गाँउमा गईसकेपछि पनि सतकर्ता अपनाउने विषयमा धेरै सम्झाउँदा पनि मानिसहरु भिडभाड गर्ने, कार्यालयमा अस्पतालहरुमा पनि केही नभएको जस्तो सामान्य अवस्थामा जस्तै भिडभाड गर्ने आदि कमजोरीहरु देखियो ।

यसले संक्रमणको जोखिम उच्च थियो । धेरै ठाँउमा एक्सपोजर भएको कारण आफैलाई शंका लागि मैले पीसीआर परीक्षण गर्न नमूना दिएको थिएँ । दुर्भाग्य मेरो रिपोर्ट कोभिड – १९ पोजेटिभ आइदियो ।

रिपोर्ट पोजेटिभ आएपछि के गरेँ ?
त्यसो त रिपोर्ट नआउँदै अर्थात नमूना पठाइसकेपछि म स्वविवेकले नै परिवार र कार्यालयका कामहरुबाट विदा लिई होम आइसोलेसनमा बसेकी थिएँ । मास्कको प्रयोग, भौतिक दुरी कायम गर्ने, सावुन पानीले हात धोई रहने, छुट्टै कोठमामा एक्लै बस्ने, खाना पानी आदि कोठमै मगाउने काम भएको थियो ।

शौचालको प्रयोग गर्दा पनि मास्क लगाउने, चुकुल हेन्डिल आदि छोइसकेपछि स्यानिटाइजरले राम्रोसंग पुछेर छाड्ने जस्ता काम गरेँ । परिवारका अन्य सदस्यलाई कोरोना नसरोस भनेर यस्तो सावधानी अपनाएकी थिएँ ।

संक्रमण देखिएको आज १६ औँ दिन भयो ।  मलाई अहिलेसम्म कुनै पनि लक्षण देखिएको छैन् । सामान्य घाँटी खसखस गर्ने र पैैतला पोल्ने र केही जोर्नीहरुमा सामान्य दुख्ने भएका थिए । त्यो भन्दा बढी घरको एउटा कोठमामा बन्द भएर दिनहरु विताउन असाध्यै कठिन हुँदो रहेछ । तर सामाजिक सञ्जालमा पहुँच पुगेकोले सूचना र अध्ययन गर्न भने सहज नै भयो ।

आइसोलेसनमा बस्दाका मेरा केही अनुभव

  • विहानै उठेर योगाभ्यास गर्थें । यसले शरीरमा स्फूर्ति पनि बढाउने र समय पनि कटाउने रहेछ । मन पनि अलि शान्त हुने रहेछ ।
    साथीभाई इष्टमित्र आफन्तहरुले फोन गरेर सम्झाउँदा र मनोवल उच्च बनाउनु पर्छ भन्दा केही राहत मिल्दो रहेछ ।
  • आफू पोजेटिभ भएकोमा चिन्ता भन्दा पनि घरमा भएका बृद्ध भएका बा आमा दम र मधुमेह मुटुका बिरामी भएकोले उहाँहरुको चिन्ताले बेसरी सताउँदो रहेछ ।
  • को – मोर्वडिड हरुलाई संक्रमित भ एभने आमा बुबा र परिवारमा ठूलो विपत्ती आउने हो कि भनेर डर निद्रामा समेत भयो । पटक पटक निद्राबाट झस्केँ । निद्रा पनि कम लाग्यो ।
  • नमूना संकलन गरी सकेपछि रिपोर्ट प्राप्त नहुन्जेल पनि तनाव हुँदो रहेछ । ढिलो रिपोर्ट आउनु भनेको मानिसहरु रोग बढाउनु हो र समुदायमा पनि संक्रमण फैलाउन सहयोग पुरयाउनु हो जस्तो मलाई लाग्यो ।
  • स्वास्थ्यकर्मी भएको नाताले अन्य संक्रमित व्यक्तिहरुलाई केही हुँदैन, मनोवल बढाउनु पर्छ भन्दे गर्दा आफै संक्रमित भएपछि त्यहि कुरा आफूलाई लागू हुँदो रहेनछ । आफूलाई अरुले सम्झाईदिनु पर्दो रहेछ । आफै पनि संयमित भएर बसेको छु र बस्नु पर्दो रहेछ ।
  • औषधि खोप केही पत्ता नलागेको अवस्थामा ज जस्ले जे जति खान पिन व्यवहार र सुझाव दिन्छन ती सबै अपनाउँ जस्तो लाग्ने रहेछ । मृत्युबाट जोगिन सबै कुरा स्वीकार्न मन लाग्दो रहेछ । भगवान प्रति घरायसि परम्परागत औषधि मूलो प्रति योग ध्यान आदि प्रति बढी नै मन जाँदो रहेछ ।
  • आत्मीय मान्छेहरुलाई बढी सम्झिदो रहेछ । फोन आइदियोस, मन खोलेर कुरा गरौँ । रोऔँ जस्तो लाग्दो रहेछ । यसले मन भित्रको अहंपना मर्दो रहेछ ।
  • मैले पनि गुर्जो बेसा, कागती, तुलसी, अश्वगन्धा सबैजसो औषधिहरुको प्रयोग गरें । जिल्लाको आयूर्वेद केन्द्रबाट यी औषधिहरु ल्याएर उहाँहरुले गुन लगाउनु भयो ।
  • जिल्लामा संक्रमितहरुलार्य राख्ने आइसोलेसन, क्वारेन्टिनका लागि व्यवस्थित स्थानको अभाव छ । स्थायनीय तह, प्रशासन र अगुवाहरुले यसको नेतृत्व लिनुपर्छ ।
  • लकडाउन मात्रै समाधान रहेनछ, प्रत्येक व्यक्ति आफै सचेत र सतर्क हुनु पर्दो रहेछ । आज १६ दिनका दिन पुन नमूना लगिएको छ । रिपोर्ट कुरिरहने छु । सतर्क भएर ।
  • रिपोर्ट छिटो आउने व्यवस्था गर्नुपर्छ र नमूना दिइसकेपछि व्यक्ति स्वयं पनि रिपोर्ट प्राप्त नहुन्जेल अलग्गै बस्नुपर्छ ।
  • संक्रमित भईसकेपछि समाजले नकारात्मक किसिमले हेर्दो रहेछ । यस्तो हेराईलाई फेर्न जरुरी छ । जुन कडा कानूनी उपचार, सचेतना, सहि सूचना सम्प्रेषण र सामाजिक अगुवाहरुको ठूलो भूमिका हुन्छ । 
  • मेरो बिचारमा रोगले भन्दा पनि डरले सिकिस्त बनाउँदो रहेछ । तर उच्च मनोवल कोरोनाको हल हो जस्तो पनि लाग्यो । 

मेरो नमूना पोजेटिभ आएपछि परिवार सबैको नमूना संकलन गरियो । उहाँहरुको नमूना नेगेटिभ रिपोर्ट प्राप्त भएपछि मलाई असाध्यै शितलता महसुस भयो । हाम्रो नेपाल संस्कार दुखमा अरुलाई सान्त्वना दिने, ढाडस दिने हो तर कतिपय नजिक भनिएका भएका मानिसहरुले संक्रमित भइसकेपछि फोनबाटै पनि संक्रमण सर्ला जस्तो व्यवहार पनि देखाउने रहेछन् । त्यस्तो गर्दा साह्रै नमज्जा लाग्दो रहेछ । 

मैले आइसोलेसनमा बस्दा गुर्जो जस्ता आयुर्वेदिक औषधि र भिटामिन बी कम्प्लेक्स, जिंक भिटामिन सी जस्ता आधुनिक औषधि पनि सेवन गरें । मन आतिन्छ भनेर मैले कारोना सम्वन्धी समाचार धेरै कम हेरें ।  अहिले प्लाज्मा थेरापीको धेरै चर्चा छ, यदि मेरो रिपोर्ट नेगेटिभ आयो भने म मेरो रगत दान दिन तयार छु ।

संक्रमित भै निको भइसकेपछि पनि पुन कोभिड – १९ संक्रमण भएको सुनिएको छ । त्यसो हुनबाट जोगिन पनि फेरी पनि सतर्कता र सुरक्षा मापदण्ड अपनाउँदै सेवामा खटिने बिचार गरेकी छु ।

कोभिड – १९ का सन्दर्भमा अनावश्यक नकारात्मक हल्ला फैलाउनेहरु बिरुद्ध सबैले आवाज उठाउन आवश्यक छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *