मृत्युको मुखमा पुगेर फर्केपछि आईसीयूको बेडबाट ………..

– डा. उमाशंकर चौधरी

आज कोरोना संक्रमण भएको २२ औँ दिन । संक्रमणको शुरुमा मलाई कुनै लक्षण थिएन तर बीचमा अवस्था यस्तो आयो कि झण्डै ज्यान लिएन । कोरोनाको क्रिटिकल अवस्थाबाट मृत्युको मुखमा पुगी आईसीयू बेडबाट केही शब्दहरु लेख्दैछु ।

……………………………………………………….

संक्रमण कसरी भयो भन्ने म आफैलाई थाह छैन् । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय स्थापना भए देखि म त्यहाँको स्वास्थ्य महाशाखाको प्रमुखको रुपमा कार्यरत छु । कोभिड – १९ आएपछि म कोरोनाको प्रदेशस्तरीय फोकल पसर्न छु, दैनिक रुपमा कोरोना लाइभ अपडेट सञ्चालन गर्दै आइरहेको थिएँ । अचानक संक्रमण पुष्टि भयो र शुरु भयो लक्षण विहीनयात्राको शुरुवात ।

मेरो अनुभवमा यो रोगको साइकल हेर्दा शुरुमा लक्षण विहीन वा माइल्ड सिम्टमबाट शुरु भई हप्ता दिनमा क्रिटिकल अवस्थामा पुग्दो रहेछ । अर्थात मृत्यु बरणको अवस्थामा थाहै नपाई जाने रहेछ । मेरो अवस्था त्यहि क्रिटिकलमा पुगिसकेको थियो ।

तर, अहिले मलाई लाग्छ यो रोगको जटिल अवस्था मैले पार गरिसकेको छु । अहिले स्वास्थ्यको अवस्थाको सामान्य भएपनि रिकोभरी फेजका लागि आइसियू बेड बुटवलमै छु । यतिखेर मलाई बोनस बापतको दोस्रो जिन्दगी पाएँ भन्ने अनुभूति गरिरहेको छु ।

…………………………………………………..

मैले मृत्युलाई देखेर पनि कसरी बाच्न सफल भएँ ? अलिकति त्यो अनुभव राख्न चाहेँ । कोरोना पोजेटिभ भएपनि घरकै आइसोलेसनमा बसेको थिएँ । तर केही कडा लक्षण देखिन थाल्यो । जस्तै जति प्यारासिटामोल खाए पनि ज्वरो न हट्ने, खाना पटक्कै मन नलाग्ने, रगतमा अक्सिजनको मात्रा घट्दै जाने, सास फेर्न निक्कै गाह्रो हुने अवस्था देखिन थाल्यो ।

कोरोना अस्पतालका फोकल पर्सन कन्सलटेन्ट चिकित्सक डा सुदर्शन थापालाई अवगत गराएँ । वहाँले तपाईँ जुनसुकै अवस्थामा जहाँ भएपनि कोरोनाको आइसीयूमा भर्ना भएर उपचार शुरु गर्नुपर्छ । आई हाल्नुस भन्नु भयो । त्यसपछि म अस्पतालमा आएँ र आईसियू यात्रा शुरुवात भयो ।

यहाँको चिकित्सकीय टिमले यति राम्रो संग उपचार गर्नु भयो कि म अन्तिम अवस्थामा पुगेर अहिले सामान्यउन्मुख हुँदैछ ।

……………………………………………

यो चिकित्सकीय व्यवस्थापनको नेतृत्व प्रमुख मेडिकल सुपरीटेन्डेन डा राजेन्द्र खनाल जो सिनियर रेडियोलोजिष्ट हुुनुहुन्छ । ग्रुप अफ विज्ञ चिकित्सकहरुको आपतकालिन बैठक बसेछ । त्यहिबाट चिकित्सकीय व्यवस्थापनको लाइन तय भयो । सही समयमा सहि निर्णय अर्थात सही उपचार भएकोले मेरो ज्यान जोगियो भन्ने लाग्छ । अन्यथा मेरो ज्यान यो कोरोनाले लिइसकेको हुन्थ्यो ।

मेसु डा खनालले चिकित्सकीय मात्रै होइन कोरोना व्यवस्थापनको सवालमा समेत जुन कौशलता र अनुभवको परिचय देखाउनु भएको छ त्यसको म नमन गर्न चाहन्छु । यहि कौशलताले सयकडौँ संक्रमितहरुले राहतको सास फेर्न सक्षम भएका छन् ।

यसको श्रेय सम्पूर्ण चिकित्सक, डेडिकेटेड नर्सिङ स्टाफ, तथा सम्पूर्ण सहयोगी हातहरुलाई जान्छ । किनभने वहाँहरुले दिनरात नभनी नियमित रूपमा सेवा प्रवाह गर्नु भएकोछ। त्यसैले अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।
यो मैले कुनै भावनामा बोलिरहेको छैन् । यथार्थता र बास्तविकता बोलिरहेको छु । किनभने अहिले पनि मैले यहि नै छु र स्वास्थ्य लाभ लिने क्रम अझै जारी छ ।

……………………………………………..

अन्तमा, यस प्रदेशका माननीय मुख्य मन्त्री श्री शंकर पोखरेल ज्यू जो म आइसीयूमै रहेको बेला मेरो स्वास्थ्य अवस्था बारेमा बुझ्न आउनु भयो र सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । वहाँप्रति धेरै धेरै आभार तथा सम्मान व्यक्त गर्न चाहन्छु ।

यस्तै गरी माननीय सामाजिक विकास मन्त्री सुदर्शन बराल ज्यू प्रति पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु, जो कोरोना पोजेटिभ भएकै दिनबाट मेरो स्वास्थ्यप्रति चासो देखाउनु भयो र सहयोग गरिराख्नु भयो ।

यस्तै माननीय भौतिक विकास पूर्वाधार मन्त्री बैजनाथ चौधरी ज्यू मेरो स्वास्थ्यको बारेमा चासो दिएर पटक पटक अपनत्व देखाउनु भयो । उहाँ प्रति पनि आभार व्यक्त गर्न चाहन्छु । यसबाहेक मेरो स्वास्थ्यको बारेमा चासो र चिन्ता लिनेसबै प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।

# डा चौधरी प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालय अन्तरगर्तको स्वास्थ्य सेवा महाशाखााको प्रमुखको रुपमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *