आईओएम डीन, वरिष्ठताको सवाल र चर्चा

समग्र देशनै  कोरोना भाइरस (कोभिड-१९)को महामारीले कठिन परिस्थितिमा गुज्रिरहेको अवस्थामा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् (आईओएम)मा  भने अलिकति भिन्न किसिमको रौनक छाएको छ ।

जेठ २१ गते तत्कालीन डीनको समयावधी सकिएलगत्तै आईओएम डीन कार्यालय नेतृत्वविहिन भएको अवस्थामा अब नयाँ नेतृत्वको लागि आफ्नो दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्री तथा शिर्षनेता समक्ष हात जोड्नेको लस्कर सुरु भईसकेको छ ।

चिकित्साशास्त्र अध्ययन संस्थानको डीन पदलाई हामीले पनि सजिलै नजरअन्दाज गर्न सकिने अवस्था छैन । यसअन्तर्गत रहेका देशकै उत्कृष्ट उपचार केन्द्रहरु त्रि.वि. शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक सेन्टर लगायत वि.पि. स्मृति आँखा अस्पतालमा सुधार गर्न यसअघिका डीनहरुद्वारा थुप्रै नारा र घोषणा प्रस्तुत भएतापनि उल्लेखनीय सुधारका काम भएका छैनन् ।

ओपीडी चेकअपको लागि बिरामीहरु घण्टौँ लाईनमा बसेर उभिन बाध्य छन्, ईमरजेन्सीबाट नै कयौँ बिरामीहरु नजिकको प्राईभेट अस्पतालमा रिफर गरिएका छन् । अस्पतालको आफ्नै फार्मेसिमा औषधी पाँइदैन। बिरामीको बाध्यता हो या अस्पतालको अनियमितता, यसले गर्दा बिरामीहरु प्राईभेट फार्मेसीबाट ठगिन बाध्य छन् । दयनीय अवस्थाबाट गुज्रिरहेका यि सम्पूर्ण अस्पतालका पक्षहरुको सुधार कहिले गर्ने ? डीन पदका लागि मरिहत्ते गर्ने उम्मेदवारहरुले यस विषयमा सोँच्नुभएको छ ? यदि उहाँहरु टिचिङ्ग वरिपरिकै प्राईभेट अस्पतालमा काम गर्दै हुनुहुन्छ भने सुधारको त कुरै नगरौँ, प्राईभेट अस्पताललाई पालनपोषण गर्ने बाहेक केहि नीतिगत सुधार आउनेवाला छैन । तसर्थ  हाम्रो विनम्र अनुरोध, डीन पदका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्नुअघि कृपया आर्थिक मोह, प्राईभेट अस्पताल मोह त्यागेर प्रस्तुत हुनुहोला ।

चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गत रहेका मेडिकल कलेजहरुले विद्यार्थीहरु माथि गरेको दमन, आर्थिक अनियमिता, लुटतन्त्र बिरुद्ध विद्यार्थीहरु चिकित्शा शिक्षा सुधार संघर्ष समिति गठन गरि आन्दोलन गर्दा समेत, डीन कार्यालय आफ्नो क्षमता बाहिरको कुरा रहेको जानकारी गराई निरिह बसेको हामीले भोगेका छौँ ।

अझै पनि TU अन्तर्गत रहेका ८ मेडिकल कलेजले : MBBS, BDS, BPH, Nursing, Paramedical गर्दै गरेका विद्यार्थीको अतिरिक्त शुल्क फिर्ता गर्न बाकी नै रहेको छ । सायद यो पदमा बस्नु भन्दा पहिला अब आउने डीनले अवश्य सोच्नु नै पर्छ अन्यथा विद्यार्थीको आन्दोलन हजुर समक्ष केन्द्रित नहोला भन्न सकिदैन ।

चिकित्सा शिक्षा सुधारको लागि बारम्बार लडिरहनुभएका एक आदरणीय ब्यक्तित्व डा. गोबिन्द केसी , राजनीतिक हस्तक्षेप रहित IOM डीन कार्यलय बनाउने सपनाले बरिष्ठताको आधारमा डीन नियुक्ति हुनुपर्ने भनेर संघर्ष गर्दा हामी संगै लडिरहेका थियौ ।

त्यसबेला  डा. केसीको आन्दोलनको नेतृत्व पंक्तिमा उत्रिनेहरु यतिवेला राजनीतिक पहुँचको भरमा डीन हत्याउने दाँउमा लागेको गन्ध आएको छ । पहुँचकै भरमा दाउ तपाँईको पक्षमा लागेपनि याद गर्नुहोला नैतिकताको प्रश्न भने निरन्तर उठिरहनेछ ।

यदि आफ्नो व्यक्तिगत फाइदाको लागि बरिष्ठता मिचेर राजनीतिक पहुचको भरमा उक्त पदमा आउन खोज्दै हुनुहुन्छ भने IOM अन्तर्गतका सबै विद्यार्थी, प्राध्यापक, कर्मचारीहरुले हजुरलाई नैतिकता माथि अवस्य पनि प्रश्न गर्ने छन् । बरिष्ठताको आधारमा डीन नियुक्ति नभएको अवस्थामा विद्यार्थीहरुले सजिलैसंग पदमा आसिन हुन  दिनेवाला छैनन् , यो कुरा अवश्य बुझ्नुहोला ।

आशा गरौँ अब आउने डीनले माथिका बेथितीहरु अन्त्य गर्दै हामी सबै विद्यार्थीको एक मात्र नारा “हाम्रो IOM, राम्रो IOM” पुरा गर्दिनुहुनेछ ।
धन्यवाद ।

# डा. गैरे महाराजगञ्ज मेडिकल क्याम्पसका स्ववियू सभापति हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *