जाजरकोटमा भाइरलबाट थप एकको मृत्यु, जुम्लाबाट पनि डाक्टर बोलाइए

–हेमन्त केसी

जाजरकोट, २७ पुस । जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा १, २ र ३ मा दुई सातादेखि विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरोबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । भाइरल ज्वरोबाट बुधबार थप एक जनाको ज्यान गएको हो ।

भाइरल प्रभावित क्षेत्रमा उपचारमा खटिएका डा पवन शाक्यका अनुसार मंगलबार बिहान जुनीचाँदे गाउँपालिका–५, टिप्ककी ६५ वर्षीया कालु तिरुवाको पनि ज्यान गएको छ ।

गोठमा बस्दै आएकी कालु केही दिनदेखि चिसोले थलिएकी थिइन् । उनलाई रुघाखोकी र ज्वरो आएको थियो । समयमा उपचार नपाएपछि उनको मृत्यु भएको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म मृत्यु हुनेमा पाँच वर्षमुनिका सात बालबालिका र ५० वर्ष माथिका छ जना छन् । जुनीचाँदे–२ मजकोटबाट शुरु भएको भाइरल प्रकोप वडा नं १, २, ३, बाट अहिले ४, ५ र १० नम्वर वडामा फैलिएको छ ।

शनिबारदेखि भाइरल पीडितको शिविर खडा गरी उपचार गरिएको छ । शिविरमा एक हजार २०० जनाको उपचार गरिएको छ । उपचार थालिए पनि बिरामी अझै नघटेको उपचारमा संलग्न डा शाक्यले जानकारी दिए ।

उपचारमा आएका ९५ प्रतिशत सामान्य खालका रुघाखोकी र ज्वरोका बिरामी भए पनि पाँच प्रतिशतचाँहि कडा र सिकिस्त बिरामी रहेको डा शाक्यले जानकारी दिए ।

भाइरल प्रभावित गाउँमा प्राथमिक स्वास्थ्य केन्द्र, गर्खाकोटबाट परिचालित चिकित्सक–स्वास्थ्यकर्मीको टोलीले रोग नियन्त्रणमा लिन नसकेपछि बुधबार जिल्ला अस्पतालबाट थप चिकित्सक र औषधि प्रभावित क्षेत्रमा पठाइएको छ ।

जिल्ला अस्पताल जाजरकोटका मेडिकल अधिकृत डा भूपेन्द्रप्रकाश मल्लसहित चारजना स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा गएको छ । नेपाली सेनाको टोली प्रभावित क्षेत्रको स्थलगत अध्ययनका साथै सोमबार केही बिरामीको उपचार गरी मंगलबार फर्किएको छ भने नेपाल रेडक्रस सोसाइटीका स्वास्थ्यकर्मीसहितको टोली पनि प्रभावित क्षेत्रमै छ ।

डा शाक्यले भाइरल प्रभावितको संख्या बढ्दै गएकाले जिल्ला अस्पतालबाट थप औषधि र चिकित्सकको टोली मगाइएको बताउनुभयो । निमोनियाविरुद्धको खोप अभावमा सोमबार ३६ दिने शिशुको ज्यान गएपछि थप औषधि मगाइएको छ ।

भाइरल ज्वरो बढेपछि एचवानएनवान् अर्थात कडा खालको मौसमी रुघाखोकी सिजनल फ्लुको आशंका गरिएको छ । एचवानएनवान् भए धेरै ठाउँमा फैलिने खतरा रहन्छ । तत्काल रोग पत्ता लगाई नियन्त्रणमा नलिए महामारीकै खतरा हुने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

उपचारमा संलग्न मेडिकल अधिकृत डा शाक्य बिरामीको लक्षण हेर्दा एचवानएनवानको आशंका गरिएपनि यसै भन्न नसकिने बताउनुहुन्छ । रोग पहिचानका लागि बिरामीको रगत तथा खकार र मृतकको रगतका नमुना संकलन गरी बुधबार टेकुस्थित प्रयोगशालामा पठाइएको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले जानकारी दिए ।

पहिलेको तुलनामा बिरामीको संख्या बढ्दै गएको र एक गाउँबाट अर्को गाउँमा रोग फैलिँदै गएकाले नियन्त्रण बाहिर जान थालेको नेपालीले बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाकी बालरोग विशेषज्ञ डा नम्रता सिन्दान नेतृत्वको टोली बुधबार प्रभावित क्षेत्रतर्फ खटाइएको छ । औषधि अभाव हुन नदिन सुवानाउलीमा औषधिको ‘बफर स्टक’ राख्ने तयारी भएको उनले बताए ।

यसैबीच, बुधबार बसेको जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले तत्काल प्रकोप नियन्त्रणमा लिन उपचारको प्रभावकारी व्यवस्था मिलाउने निर्णय गरेको छ ।

चिकित्सकको नेतृत्वमा वडा नं २ को भैरव मावि मजकोट, वडा नं ३ को आदर्श मावि, लुहादह र वडा नं १० को दुर्गापुजन प्राविमा शिविर सञ्चालन गर्ने र अर्को एक टोलीलाई घुम्ती टोलीका रूपमा परिचालन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले जानकारी दिए। चार वर्षमुनिका बालबालिकालाई न्यानो कपडा र थर्मसको व्यवस्था गर्न गैरसरकारी संस्थालाई आग्रह गर्ने निर्णय गरिएको शाहीले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय, जाजरकोटले जिल्ला स्वास्थ्य मातहतका स्वास्थ्यकर्मीको बिदा र काज रद्द गरेको छ । प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मी अभाव भए पनि सरकारले खासै ध्यान दिएको छैन ।

भौगोलिक रूपमा विकट एक गाउँबाट अर्को गाउँ जान घण्टौं हिँड्नुपर्ने बाध्यता छ । दुई/तीन वटा टोलीलाई सबै ठाउँ पुग्नै हम्मेहम्मे भएको छ । औषधि तथा पर्याप्त स्वास्थ्यकर्मी नहुँदा रोग नियन्त्रणमा आउन नसकेको डा,  मल्लले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *