अठार बर्ष मुनिकालाई रक्सी चुरोट बेचे स्ववियूले कार्वाही गर्ने

पाल्पा ११ जेठ । पूर्वखोला बजार क्षेत्रमा १८ बर्ष मुनिका बालबालिकालाई सुर्तीजन्य पदार्थ तथा मदिराजन्य पदार्थ खरीद बिक्री प्रयोगमा रोक लगाइएको छ । स्थानीय उदबुद्ध कलेज स्वतन्त्र विद्यार्थी युनियनको अगुवाईमा बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।

नयाँ निर्णयसंगै अव १८ बर्ष मुनिका बालबालिकालाई चुरोट सुर्ती जस्ता सुर्तीजन्य पदार्थ र जाँड रक्सी जस्ता मदिराजन्य पदार्थ बिक्री वितरण गरेको पाइए विक्री गर्ने व्यक्तिलाई पाँच सय देखि एक हजार रुपैयाँ सम्म जरिमाना हुने र आवश्यक परेको खण्डमा हदैसम्मको कार्वाही समेत हुने भएको छ ।

कलेजका स्ववियु सभापति नविन आचार्यद्धारा जारी विज्ञप्तीमा कलिलो उमेर देखि नै सुर्ती चुरोट जाँड रक्सीको कुलतमा फस्ने सम्भावना बढेको भन्दै यस्तो निर्णय भएको उल्लेख छ । स्ववियूले यो निर्णय गर्नु अघि किराना पसल संचालक, होटल व्यावसायी, नागरिक समाजका प्रतिनिधीसंग बसेर छलफल गरेको थियो ।

त्यसो त सरकारले छ बर्ष अघि ल्याएको सुर्ती नियन्त्रणसम्वन्धी कानूनमै १८ बर्ष मुनिका बालबालिकालाई सुर्तीजन्य पदार्थको बिक्री वितरणमा निषेध गरेको छ । त्यस्तै सार्वजनिक स्थलमा धूमपान गर्न तथा विद्यालयको एक सय मिटर वरपर विक्री वितरण गर्न समेत पूर्णरुपमा निषेध गरेको छ । यद्धपी यसको सफल कार्यान्वयन हुन सकेको छैन् ।
उदबुद्ध स्ववियूको यो निर्णयले सरकारले बनाएको नीतिको कार्यान्वयनलाई समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *