भूकम्पका बेला आएका विदेशी चिकित्सकले भने, ‘नेपाल सरकारको समन्वय सामान्य’

forein-medical-team
फाइल तस्बिर

काठमाडौँ, १४ मंसिर – गतवर्ष बैशाखमा भूकम्प आएपछि नेपालमा विदेशी चिकित्सकहरुको लर्को नै लागेको थियो । उनीहरुले भूकम्प प्रभावित विभिन्न जिल्लामा पुगेर फिल्ड अस्पताल सञ्चालनमा ल्याएका थिए । त्यतिवेला आएका विदेशी चिकित्सकहरुको समन्वय स्वास्थ्य मन्त्रालयले गरेको थियो ।

विदेशी चिकित्सक टोलीसंगको मन्त्रालयको समन्वय त्यतिवेला उत्कृष्ठ रहेको ठानिएको थियो तर विदेशी चिकित्कसले भने सामान्य भएको बताएका छन् ।

भूकम्प प्रभावित क्षेत्रमा विदेशी चिकित्सक परिचालन पछि उनीहरु संग नेपाल सरकारले गरेको समन्वयको प्रभावकारिताको अध्ययन गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषदको नयाँ प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनमा भनिएको छ, ‘त्यतिवेला आएका विदेशी चिकित्सकले नेपाल सरकारको तर्फबाट समूह परिचालनमा भएको समन्वयलाई ४० प्रतिशतले सामान्य भनि मूल्यांकन गरेका छन् । १६ प्रतिशतले निकै राम्रो, २८ प्रतिशतले राम्रो र २० प्रतिशतले कमजोर भनेका छन् ।’

सोमबार अनुसन्धान प्रतिवेदन प्रस्तुत गर्दै परिषदका सदस्यसचिव डा. खेम कार्कीले पर्याप्त पूर्व तयारी नहुनु, विदेशी चिकित्सक तथा सेवाग्राहीबीच भाषाको समस्या हुनु, विदेशी टोली र नेपालमा प्रयोग गरिएका उपचार सामाग्रीहरु तथा उपचार शैलीमा भिन्नता देखिनु चुनौती रहेको बताए ।

त्यतिवेला संसारका विभिन्न देशबाट १३७ वटा चिकित्सकहरुको टोली नेपाल आएको थियो । सो टोलीमा रहेका २ हजार ९०७ जना स्वास्थ्यकर्मीले सेवा दिएका थिए । सदस्यसचिव डा. कार्कीले आएकामध्ये ७० प्रतिशत गैरसरकारीसंस्था, १८ प्रतिशत सरकारी निकाय तथा १२ प्रतिशत सैन्य निकायबाट आएको बताए ।

सो टोलीले १ लाख ३९ हजार २९९ जना भूकम्पप्रभावितलाई सेवा प्रदान गरेका थिए, जसमध्ये १ लाख २० हजार ७९९ जनालाई सामान्य बहिरंग सेवा, १७ हजार ३१२ जना घाइतेहरुको उपचार र ८७० जना विरामी तथा घाइतेलाई रिफर गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *