मुटुरोगी छोरा बचाइ दिन वसन्तीदेवीको हारगुहार

(विनोदसिंह बिष्ट) बैतडी, ३० कात्तिक –  आर्थिक अभावमा मुटुका बिरामी एक बालकको उपचार हुन सकेको छैन ।

खर्च अभावमा देहीमाडौँ ८ मा बस्दै आएकी वसन्तीदेवी ऐरका पाँच वर्षीय छोरा सञ्जीवको उपचार हुन नसकेको हो । श्रीमान् र घरपरिवारले वास्ता नगरेपछि छोरासहित माइतीमा बस्दै आउनुभएकी ऐरका अन्य परिवार झलारीपिपलाडी नगरपालिका–११ कञ्चनपुरमा बस्ने गरेका छन् ।

घरको आर्थिक अवस्था कमजोर भएपछि बिरामी छोरासहित उनी माइतीको आश्रयमा बस्दै आएकी छन्। माइतीको अवस्था पनि झन् नाजुक छ । माइतीमा पनि बुबाको र भाइको पहिले नै मृत्यु भइसकेको र एक्ली ६२ वर्षीय वृद्घ आमा मात्रै छन् ।

श्रीमान् र घरपरिवारले छोराको उपचार गर्न कुनै वास्ता नगरेकाले वसन्ती माइतीको शरणमा बैतडी पुगेकी हुन् । छोराको जीवन जोगाइदिन उनले हारगुहार गरेकी छन् । सञ्जीवका बुबा ज्ञानेन्द्रबहादुर ऐर बेरोजगार छन् । मेरो र छोराको हेरचाह नगर्ने वास्ता गर्न छोडेपछि विगत तीन वर्षदेखि माइतीमा बस्दै आएको वसन्तीले बताइन्।

माइतीको अवस्था पनि दयनीय छ, घरमा आमा मात्रै एक्लै हुनुहुन्छ, उनले भनिन् “हामी दुई बहिनी मात्रै हौँ, दुवैको बिहेपछि माइतीमा आमा एक्लै मात्रै हुनुहुन्छ ।”

घरपरिवारले बेवास्ता गर्दा छोराको उपचार गर्न नसकेको उनले दुखेसो पोख्दै भनिन् “माइतीमा कोही छैन घरकाले नहेर्दा छोराको उपचार हुन सकेको छैन” । जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसक्दा थप उपचारका लागि गत जेठ र भदौमा छिमेकीको सहयोगले छोरालाई सहिद गङ्गालाल अस्पताल हृदय केन्द्र काठमाडौँमा उपचारका लागि लगिएको थियो ।

काठमाडौँमा चेक गराउँदा मुटुमा प्वाल परेको छ छिट्टै शल्यक्रिया गर्नुपर्छ नत्र ठीक नहुने डाक्टरले सल्लाह दिएपछि वसन्तीलाई थप चिन्ता परेको छ । आर्थिक अभावले उपचार हुन सकेको छैन । सञ्जीवको मुटुको शल्यक्रिया गर्नुपर्ने भनेपछि वसन्ती समस्यामा पगेकी हुन् ।

उपचार गर्न उनीसँग पैसा छैन । विपन्न वर्गको सिफारिस गर्न सदरमुकाम छ आएकी वसन्तीले छोरा बचाइ दिन सहयोगको याचना गरेकी छन्। उनले छोराको उपचारको लागि आवश्यक पहल गरिदिन जिल्लाका राजनीतिक दल, सञ्चारकर्मी र स्थानीय निकाय र सहयोगदातालाई अनुरोध गगरेकी छन् । उनको अवस्था देखेपछि केही स्थानीयले थोरै रकम सहयोग गरेका छन् । उनीसँग छोराको उपचारको लागि अस्पताल जाने पैसा पनि छैन । यहाँबाट काठमाडौँ पुग्न नै समस्या छ ।

उपचार गर्न जाँदा छोरासँग जाने कोही छैनन्, उनले भनिन्“पैसाको अभाव एकातिर छ, अर्कोतिर अस्पताल पु¥याइदिने आफ्नोे कोही छैन” उनले दुखेसो पोख्दै भनिन् “छोराको मुटु सामान्यको भन्दा दुई गुना बढी एकोहोरो चल्ने गर्छ, मुटु सुन्निने रोगको औषधि खुवाइरहेकी छु, समयमै उपचार गर्न नसके भोलि के हुन्छ चिन्ता लाग्न थालेको छ ।”

सञ्जीव दुई वर्षको छँदादेखि नै अलिअलि ज्वरो आउने गरेको थियो । ज्वरो हो, सामान्य हो भनेर स्थानीय स्वास्थ्य चौकीमा उपचार गराएका थिए । स्थानीय अस्पतालमा सामान्य उपचार गराएर छोरालाई निको नभएपछि त्यही बेलादेखि चिन्ता लागेको वसन्तीले सुनाइन् ।

निमोनिया हो ठीक भइहाल्छ भनी सोचेकी थिएँ, उनले भनिन् “हाल आएर मुटुमा समस्या भएको देखाएको छ ।” मुटुको समस्याले छोराको मानसिक विकास पनि राम्ररी भएको छैन सानैमा यस्तो जटिल रोगले समातेपछि छोराको स्वास्थ्य बिग्रँदै गएको बताइन् । रोग पनि गरिबलाई मात्रै लाग्ने रहेछ वसन्तीले भनिन्, “छोराको उपचारको लागि भौतारिँदै छु, पैसा जुटाउन सके छोराको रोग निको हुन्थ्यो कि, आशा पलाएको छ ।”

पति सम्पर्कविहीन छन् परिवारले सहयोग जुटाउन सहायता गरेका छैनन् वसन्तीले भनिन्, “एकपटक मात्रै छोरालाई उपचारको लागि काठमाडौँ लगेका उनका परिवार आजभोलि वास्ता गर्न छोडेका छन् ।”

३५ वर्षीया वसन्तीले दुखेसो पोख्दै भनिन् , सम्पत्तिको नाममा त्यही एउटा छोरा छ, “कतैबाट सहयोग पाए, त्यही सम्पत्ति जोगाउन सकिन्थ्यो ।” सञ्जीवलाई आजभोलि पनि नियमितरुपमा औषधि खुवाइराखेको भएपनि औषधि सकिन लागेको छ, उनले बताइन् “डाक्टरले औषधि नसकिदँै बीचमा चेक गराउनु भनेको हो, आर्थिक अभावमा लग्न सकिएको छैन ।”

सञ्जीवलाई आजभोलि पुनः ज्वरो आउन थालेको, बायाँतिरको मुटु बढी हानीराख्ने उनले बताइन् । १० वर्ष पहिले बिहे गरेकी वसन्तीले आँखाबाट आँसु झार्दै भनिन् “मेरो जति चिन्ता श्रीमान् र घरपरिवारलाई भइदिएको भए आज यस्तो दिन आउने थिएन ।”

पाँच वर्षीय छोराको उपचार रकम जुट्न सके नयाँ जीवन पाउन आशा वसन्तीले गरेकी छन् । सहयोगका लागि बैतडी सदरमुकाममा रहेको ग्लोबल आइएमइ बैंकको खाता नं ३१०७० १०००५२३३ मा रकम जम्मा गरिदिन उहाँले अनुरोध गरेकी छन्् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *