गोरखा अस्पतालमा पाँच वर्षदेखि विशेषज्ञ चिकित्सक छैनन्

gorkha

गोरखा, २९ कात्तिक – सदरमुकामस्थित गोरखा जिल्ला अस्पतालमा विगत पाँच वर्षदेखि विशेषज्ञ चिकित्सक नहुँदा बिरामीले सेवा लिन पाएका छैनन् । दिनहुँ ३०० जना हाराहारीका बिरामी उपचारका लागि अस्पताल आए पनि विशेषज्ञ सेवा नपाउँदा काठमाडौँ र चितवनका अस्पतालमा जान बिरामी बाध्य छन् ।

दरबन्दीअनुसारका चिकित्सक अस्पताल नआउँदा उपचार सेवा दिन असहज भएको अस्पताल प्रमुख सुधा देवकोटाले बताए । विशेषज्ञ तहको एनेस्थेसियोलोजिस्ट, अर्थोपेडिक सर्जन, पेडियाट्रिसियन, रेडियोलोजिस्ट, सर्जन र साइक्यास्टिकलगायत विशेषज्ञको दरबन्दी भए पनि जनशक्ति अभाव हुँदा बिरामीलाई अन्यत्र पठाउनुपरेको हो ।

अस्पतालमा उपचार हुने होइन अन्यत्र पठाउने मात्रै गर्छ भन्ने आरोप लाग्दै आएको छ । अस्पतालमा चारजना मेडिकल अधिकृत, नायब सुब्बा, फिजियोथेरापिस्ट, कम्प्युटर अपरेटरलगायतको पद पनि रिक्त भएको लामो समय भइसकेको छ । दरबन्दीअनुसारका चिकित्सक ल्याउन तथा रिक्त दरबन्दीमा नयाँ कर्मचारी राख्न नसकिएको देवकोटाको भनाइ छ । ५० शैय्या क्षमतामा विस्तार भएको अस्पतालमा गतिलो उपचार सेवा नहुँदा बिरामी मारमा परेका छन् ।

“विशेषज्ञ चिकित्सक नआउँदा बिरामीलाई सेवा दिन सकेका छैनौँ”, उनले भने – “चारजना मेडिकल अधिकृतमध्ये दुईजनामात्रै हुनुहुन्छ । उहाँहरुबाट सक्ने सेवा दिइरहेका छौँ ।” चिकित्सक ल्याउन पहल गरे पनि ठूला सहरका भन्दा सेवा, सुविधा कम हुने भएपछि विशेषज्ञ चिकित्सक ल्याउन नसकिएको अस्पताल स्रोतले जनाएको छ । सरकार परिवर्तनसँगै अस्पताल विकास समितिका अध्यक्ष परिवर्तन हुँदा झन अस्पताल सञ्चालनमा समस्या भएको हो ।

अस्पतालमा थ्रिफेज लाइन विस्तार गर्न नसक्दा एक्स–रे मेसिन प्रयोगविहीन हुँदै आएको छ । अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्याए पनि उक्त फार्मेसीमा बिरामीलाई आवश्यक पर्ने औषधि सकिइसकेका छन् । औषधि खरिद गर्नुपर्ने अवस्था भएकाले फार्मेसीमा खोजेजस्तो औषधि नपाइएको बताइएको छ । अस्पतालमा सेवा खस्कँदै जाँदा अस्पतालको वरपर खुलेका मेडिकलमा बिरामी स्वास्थ्य परीक्षण र औषधि खरिद गर्न बाध्य छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *