स्वास्थ्य मन्त्री गगन थापाको ‘टाइम – फ्रेम’ खोइ ?

gagan

काठमाडौँ, ११ कात्तिक – नेपाल स्वास्थ्यकर्मीसंघ विभागीय समिति टेकुले बिहीबार दिउसो १ बजे देखि स्वास्थ्य मन्त्री गगन थापालाई प्रमुख अतिथि बनाइ शुभकामना तथा चियापान कार्यक्रम आयोजना गर्दै थियो ।

तर प्रमुख अतिथि बनेका मन्त्री थापा साढे ४ बजेसम्म टेकु पुगेनन् । मन्त्री थापालाई स्वागत गर्न एक बजे देखि पर्खेर बसेका समितिका पदाधिकारी तथा विभागीय कर्मचारीहरु साढे तीन घण्टासम्म अन्योलपूर्ण अवस्थामा बसिरहेँ । रिपोर्टिङका लागि टेकु पुगेका केही सञ्चारकर्मीहरु पनि झण्डै अढाई घण्टा पर्खेर फर्के ।

……………………………………………………………………………………………………………..

२ असोज २०७३ का दिन स्वास्थ्य सेवा विभाग परिबार स्वास्थय महाशाखाले तेस्रो परिबार नियोजन दिवस मनाउदै थियो । प्रमुख अतिथि थिए उनै स्वास्थ्य मन्त्री थापा ।

मन्त्रीको व्यस्तताको कारण भन्दै कार्यक्रम अपरान्ह ४ बजेदेखि सुरु हुने भनिएको थियो । तर उनी साढे पाँच बजेसम्म आएनन् । साढे पाँच बजेतिर सचिवालयका कर्मचारीले आयोजकलाई फोन गरेर भने मन्त्री ज्यू त्रिपुरेश्वरको जाँममा फस्नु भयो र प्रधानमन्त्री कार्यलयमा अर्को महत्वपूर्ण मिटिङ भएकोले त्यहिबाट फर्कनुभयो । मन्त्री नआउने खबर पाएपछि आयोजकले विशिष्ठ अतिथि बनेका स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीलाई अतिथि बनाई हतार हतार कार्यक्रम सके ।

………………………………………………………………………………………………………………….

गत असोज ७ र ८ गते काठमाडौँको गोकर्ण रिसोर्टमा सार्क फेडरेसन अफ अंकोलोजिष्ट नेपालले अन्तराष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो ।

अघिल्लो दिन देखि कार्यक्रम भएपनि आयोजकले मन्त्रीसंग पछिल्लो दिन अर्थात ८ असोज अपरान्ह ५ बजेका लागि समय लिएका थिए । मन्त्रीको समय अनुसार सबै मिडियाहरुलाई पाँच बजे उपस्थितिका लागि बोलाइएको थियो । तर मन्त्री थापा पुगे बेलुका साडे ८ बजे त्यतिन्जेल आठ बजे त्यतिन्जेल अधिकांश सञ्चारकर्मीहरु हिडिसकेका थिए ।

…………………………………………………………………………………………………………………..

यी माथिका घटना प्रतिनिधी घटना हुन् । स्वास्थ्यमन्त्री भएपछि उपत्यकामा भएका अधिकांश औपचारिक कार्यक्रममा मन्त्री थापा समयमै पुग्न सकेका छैनन् । उनी समयमै नपुग्दा आयोजकलाई तनाव त हुन्छ नै त्यसबाहेक उनलाई पर्खिएर बस्नेहरुको समय समेत बेकार हुने गरेको छ ।

मन्त्री थापालाई यसबारेमा जानकारी नभएको पक्कै होइन तर मन्त्री भएको दुई महिनासम्म उनले ढिला हुने बानीलाई सच्याउन सकेका छैनन् ।

मन्त्री भएपछि मन्त्रालय र मातहतका कर्मचारीलाई आफ्ना हरेक काम ‘टाइम-फ्रेम’मा गर्न निर्देशन दिइ राख्ने मन्त्री थापा आफ्नो कार्यक्रमको ‘टाइम-फ्रेम’ मिलाउन भने सकिरहेका छैनन् ।

‘मन्त्री ज्यूको सबैकुरा ठिक छ तर समयको ख्याल नगर्ने बानी चाहि अलिक नराम्रो हो । उहाँले यसलाई सुधार्नुपर्छ,’ विभागका एक कर्मचारीले भने, ‘अरुलाई समयको पाठ सिकाउने आफूले चाहि त्यसको पालना नगर्ने गर्र्नु हुँदैन ।’

तर सचिवालयका एक कर्मचारी समयमा उपस्थित नहुनुमा व्यवहारिक कारण भएको बताउछन् । उनी भन्छन् , ‘नाई भन्न सक्नुहुन्न, सबैलाई समय दिनै परयो, त्यसो गर्दा सेड्युलमा अलि गडबड भएको छ । यसलाई हामी सच्याउने छौँ ।’

त्यसो त मन्त्री थापा देशकै आशा लाग्दा युवा नेता हुन् । विद्यार्थी काल देखिनै राजनीतिमा आफ्नो बेग्लै छबी बनाएका थापासंग जनताको अलि बढी नै अपेक्षा छ । उनले गर्ने साना गतिविधि र ठूला निर्णयहरुमा आम समुदायकको विशेष चासो रहनु स्वभाविक नै हो । त्यसैले मन्त्री थापा स्वयं र सचिवालयले यी कुरामा ख्याल गर्नु जरुरी छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *