डेंगु सार्ने लामखुट्टे मार्न चितवनमा डेढ सय जना परिचालन !

dangue
चितवन, ६ कात्तिक – सरकारले डेंगु अति प्रभावित चितवनको टाँडीमा सर्च एण्ड डिस्ट्रोई (खोज्ने र नष्ट गर्ने) अभियान सुरु गरेको छ । शुक्रबारबाट सुरु भएको सो अभियानमा सरकारी, निजी, सामाजिक संस्था तथा गैरसरकारीसंस्थाका गरी झण्डै डेढ सय जनशक्ति परिचालित भएका छन् ।

यसबर्ष देशभरीबाट डेंगुका बिरामी ३०४ जना भएकोमा चितवनमा मात्रै २७२ जना र त्यसमध्ये टाडीमा मात्रै २२२ जनामा पाइएको छ । टाडी क्षेत्रमा संक्रमितको संख्या अत्यधिक भएपछि स्वास्थ्य मन्त्री गगन थापाले तत्काल आवश्यक कदम चाली रोग नियन्त्रण लिन स्वास्थ्य सेवा विभाग इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई निर्देशन दिएका थिए । सोही निर्देशन अनुसार ‘सर्च एण्ड डिस्ट्रोई’  अभियान सुरु गरिएको हो ।

महाशाखाका निर्देशक डा. भीम आचार्यले अति प्रभावित क्षेत्रमा टाँडीमा शुक्रबार देखिनै सर्च एण्ड डिस्टोई अभियान सुरु गरेको भन्दै चार दिनसम्म जारी राख्ने बताए । उनले आवश्यक परे सो अभियान केही दिन लम्व्याउन सकिने समेत जानकारी दिए । डा .आचार्यले रोग प्रभावित अन्य क्षेत्र र जिल्लामा समेत यो अभियान आवश्यक परे विस्तार गर्ने बताए ।

अभियान अन्तर्गत टाँडीका हरेक घरघरमा गएर डेङगु सार्ने माध्यमको रुपमा रहेको लामुखट्टे बढ्न नदिने, भएका लामुखट्टे मार्ने, डेङगुको लक्षण देखिएका स्थानीय बासिन्दालाई अस्पताल लैजाने, अस्पतालमा पर्याप्त उपचारको व्यवस्था गर्ने लगायतका क्रियाकलाप गरिएको छ ।

एडिज इजीप्टाई जातको लामखुट्टेले डेंगु भएकालाई टोकेर अरुलाई टोकेमा यो रोग लाग्ने डा. आचार्यले जानकारी दिए । डेङगुका रोगीलाई नटोकेको र अन्य लामखुट्टेबाट यो रोग नलाग्ने पनि उनले स्पष्ट पारे ।

एडिज इजीप्टाई जातको संक्रमित लामखुट्टेले टोकेपछि ज्वरो आउने, शरिरमा रगत र पानीको मात्रा कम हुने लगायतका लक्षणहरु देखिने चिकित्सकहरुको भनाई छ ।

निर्देशक डा.आचार्यका अनुसार डेङगु भएका विरामीको मुख्य उपचार भनेकै स्वास्थ्यकर्मीको सल्लाहमा लक्षण अनुसारको अौषधि सेवन गर्ने तथा शरीरमा पानीको मात्र कम भएमा प्रशस्त पानी धेरै खुवाउनु हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *