अब अस्पताल छिर्दा नाक थुन्नु पर्दैन…

bharatpur-hospital-e1436168805694

(नारायण ढुङ्गाना) चितवन, २ कात्तिक –  मध्ये क्षेत्रकै सुविधासम्पन्न सरकारी अस्पतालका रुपमा परिचित चितवनको भरतपुर अस्पतालमा प्रवेश गर्दा बेलाबेलामा मास्क लगाएर हिँड्नुपथ्र्यो ।

मास्क नहुनेले केही समय सास रोकेरै दुई हातले नाक च्यापेर हिँड्थे । बिरामी, बिरामीका आफन्त, सवारी चालक या कुनै आगन्तुक यस्तै समस्याले भरतपुर अस्पताल छिर्दा हैरानी खेप्थे । यसरी हैरानी खेप्नुको मुख्य कारण चाहिँ भरतपुर अस्पतालको मूलढोकामै अव्यवस्थित शवगृह रहनु हो । उचित व्यवस्थापन नहुँदा र लामो समय शव राख्नुपर्दा दुर्गन्ध फैलिएर वरपर हिँड्नै नसक्ने हुन्थ्यो ।

शवगृह भएको क्षेत्र मुख्य ढोकानेर रहेको र प्रसूतिगृह सामान्य नै रहेकाले पनि थप समस्या हुँदै आएको थियो । बिरामी ओसारपसार गर्ने चालक राजकुमार कोइराला भन्छन्, “गाडी चलाउँदा पनि अस्पताल छिर्न मास्क नलगाई हुन्थेन ।” तर अब ती समस्या हटेको छ । अघिल्लो महिनाबाट यो समस्या आगन्तुकले बेहोर्नुपरेको छैन । उनीहरुलाई आवतजावत सहज भएको छ । अस्पतालको पछाडिपट्टि नयाँ शवगृह निर्माण भएपछि यो समस्या हटेको हो ।

अब ढोकामै दुर्गन्ध र लास देख्नुपर्ने बाध्यता हटेको छ । ना१ज ३४०५ नंको गाडी यही बाटो भएर दैनिक अस्पताल आउजाउ गर्छ । चितवनमा शव वाहन नभएकाले यो गाडीले पनि शव ओसारपसार गर्छ । चालक कोइराला भन्छन्, “अब अस्पताल छिर्दा नाक थुन्नुपर्ने छैन । ढिलै भए पनि राम्रो काम भएको छ ।” भरतपुर अस्पतालको भाडा जग्गामा सञ्चालन भएको कलेज अफ मेडिकल साइन्सेज भरतपुरले अहिले अस्पतालको पछाडिपट्टि शवगृह निर्माण गरिदिएको हो ।

नयाँ भवन निर्माणसँगै अघिल्लो महिनाबाट शवगृह अस्पताल पछाडि सञ्चालन भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासैनीले जानकारी दिए । मेडिकल कलेजले निक्कै ढिला गरी शवगृह बनाई दिएकाले समस्या वर्षौंसम्म रहन पुगेको हो । बीचमा अस्पताललाई बढी आर्थिक भार लगाउने मनसायले विभिन्न बहानामा निर्माण कार्यमा कलेजले आनाकानी गरेको अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष विजय सुवेदी बताउछन् । पछि ताकेता गरेपछि भने निर्माण गरिदिएको उनको भनाइ छ ।

शवगृह हेर्ने देवआनन्द राई र पूर्णबहादुर विक छन् । पुरानो शवगृहमा रहेको फ्रिजमा ६ वटा शव राख्न मिल्ने क्षमता रहेको देवआनन्द राई बताउछन् । शव धेरै हुँदा एउटा अटाउने फ्रिजको बाकसमा दुईवटा शव राखिन्थ्यो । त्यसैले ६ वटा शव अट्ने ठाउँमा कोचेर १०÷१२ शव राखिन्थ्यो । उनका अनुसार बढी शव आउँदा त्यसै भुइँमा फ्याँक्नुपर्ने हुन्थ्यो । भरतपुर उपमहानगरको समन्वयमा व्यवस्थापन गर्ने गरिए पनि स्थान अभाव ठूलो समस्या हुँदै आएको छ । केही शव लामो समयसम्म बस्दा कुहिएर दुर्गन्ध फैलने गरेको राई बताउछन् । उनले अझै २० महिनादेखिको एउटा शव बाँकी रहेको बताए।

यहाँ मासिक १० देखि २० वटा बेवारिसे शव आउने गरेका छन् ।

नयाँ शवगृह निर्माण गरेर सञ्चालनमा ल्याइए पनि पुरानो शवगृहकै फ्रिज लगेर राखिएकाले नयाँ स्थानमा समेत शवगृहको क्षमता बढ्न सकेको छैन । उही ६ वटा शव राख्न मिल्ने फ्रिज मात्रै छ । यसरी क्षमता नबढाउँदा अस्पताल पछाडि शवगृह भए पनि समस्या उस्तै हुन सक्ने आशङ्का बढ्दो छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *