डा गोविन्द केसीद्धारा दशैँका लागि भन्दै अनसन स्थगित

dr kc

काठमाडौँ, २२ असोज – त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीले एकतर्फी रुपमा दशैं अवधिभर आमरण अनसन स्थगित गरेको घोषणा गरेका छन् ।

चारबुँदे माग राखेर अनसन सुरु गरेको १२ दिन शुक्रबार राति ९ बजे उनले पत्रकार सम्मेलन गरेर दशैंभरका लागि अनसन स्थगित गरेका हुन् ।

‘दशैंको समयमा हाम्रो सत्याग्रह जारी राख्दा आम नागरिकहरुको दशैं पर्व खल्लो हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै मैले दशैंभरको अवधिका लागि आजैको दिनदेखि सत्याग्रहको कार्यक्रम स्थगित गरेको जानकारी गराउँछु ।’

तर, केसीले  पूर्णिमा लगतै फेरि अनसन सुरु गर्ने बताएका छन् ।

डा.  केसीले अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनु पर्नेसहितका चारबुँदे माग राखेर असोज १० गते अनसन सुुरु गरेका थिए ।

प्रेस विज्ञप्ति
 
आदरणीय पत्रकार मित्रहरु
स्वास्थ्य र चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै हामी लामो समयदेखि लडि आएकोमा पछिल्लो १२ दिनदेखि म सत्याग्रहमा छु । यस अवधिमा राज्य पक्षबाट देखिएको चरम संवेदनविहीनता, गैर जिम्मेवारीपन र लाचारी अब सबैसामू प्रस्ट छ । झण्डै छ सय व्यक्तिहरु सदस्य रहेको संसदमा भ्रष्ट र माफिया भएको प्रमाणित भइसकेका लोकमान सिंह कार्कीमाथि महाभियोगको संसदीय प्रक्रिया अघि बढाउन आवश्यक तीन संख्या पनि नपुग्नु हाम्रो लोकतन्त्रकै लागि लज्जाको विषय हो ।
विगत आठ महिनादेखि डिनको नियुक्ति हुन नसक्नुले राजनीतिक भागवण्डा र दलालीबाट आएका विश्वविद्यालयका पदाधिकारीहरु र सम्बन्धित मन्त्रीको निकम्मापन र नालायकी देखाउँछ । त्यस्तै चिकित्सा शिक्षा ऐन संसदमा पेश गर्ने बेला जानी जानी हामीले उठाउँदै आएका धेरै कुराहरु नसमेटिंदा त्यो विद्यार्थीमुखी र जनतामुखी हुन सकेको छैन । अघिल्लो साल मात्र तोकिएको मेडिकल शिक्षाको शुल्क झण्डै दोब्बर हुने गरी निजी मेडिकल कलेजका प्रतिनिधिहरु सम्मिलित कथित समितिले बनाएको प्रतिवेदन लागू गरेर पाँच अर्ब रुपैयाँसम्म विद्यार्थी र अभिभावकबाट लुट्ने प्रपञ्च भइरहेको छ ।
यसबीच हाम्रो अभियानमा सहयोग, समर्थन र शुभेच्छा जनाउने समग्र नागरिकहरुप्रति म कृतज्ञता जाहेर गर्दछु । नीति निर्माणका जिम्मा लिएका सांसदहरु आफ्नो जिम्मेवारीबाट च्युत भएर जनताले जिताएर पठाएको पदलाई जागिरका रुपमा उपयोग गरिराखेका बेला नागरिकहरु सडकमै उत्रेर दण्डविहीनता र लोकमानतन्त्रको विरोध गर्नु उत्साहजनक कुरा हो ।
दशैंको समयमा हाम्रो सत्याग्रह जारी राख्दा तिनै आम नागरिकहरुको दशैं पर्व खल्लो हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै मैले दशैंभरको अवधिका लागि आजैको दिनदेखि सत्याग्रहको कार्यक्रम स्थगित गरेको जानकारी गराउँछु ।
हाम्रा मागहरु यसप्रकार रहेका छन्ः
१) सरकार समक्ष हामीले पेश गरेका सुझाव अनुरुप संशोधन गरी चिकित्सा शिक्षा ऐन संसदको यही अधिवेशनबाट  तुरुन्त पारित गरियोस् ।
२) अदुअआ प्रमुख लोकमान सिंह कार्की र आयुक्त राजनारायण पाठकमाथि तत्काल महाभियोगको प्रक्रिया अघि बढाइयोस्
३) मेडिकल शिक्षाको शुल्क माथेमा कायैदलले निर्धारण गरे बमोजिम तथा पछिल्लो सम्झौता बमोजिम कायम गर्दै पछिल्लो चोटि निजी मेडिकल कलेजका प्रतिनिधिहरुद्वारा बनाइएको कथित समितिको निर्णय खारेज गरियोस् ।
४) पदीय जिम्मेवारी निभाउन नसक्ने तथा सुधार प्रयासमा बाधक बनेका त्रिवि उपकुलपति तीर्थ खनियाँलाई बर्खास्त गरियोस् ।
५) अघिल्लो पल्ट भएको सम्झौताका बाँकी बुँदा तत्काल कार्यान्वयन गरियोस्
  • आइओएममा तत्काल वरिष्ठताका आधारमा डिन नियुक्ति गरियोस्
  • उच्चस्तरीय समितिको छानविनमा भ्रष्टाचार, अनियमितता र धाँधलीमा दोषी पाइएका आइओएमका पूर्व पदाधिकारीहरुलाई कारवाही गरियोस्
  • काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र नेपाल मेडिकल काउन्सिलमा विगतका सम्बन्धन, विस्तारित कार्यक्रम तथा सिट थप एवं परीक्षामा भएका अनियमितता, भ्रष्टाचार एवम् धाँधलीबारे छानविन गर्न न्यायिक छानविन आयोग पुनः गठन ठरियोस् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुले गरेका सम्पूर्ण अनियमितता र धाँधलीको छानविन पनि सोही आयोगले गर्ने व्यवस्था गरियोस् ।
  •  
  • डा गोविन्द केसी 
  • २०७३।६।२१
म्हाराजगञ्ज, काठमाडौं
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *