चिकनगुनिया सङ्क्रमित महिला रौतहटमा बसोबास गर्ने गरेको पुष्टि

चितवन, १६ असोज –  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चिकनगुनियाको सङ्क्रमण प्रमाणित गरेकी महिला रौतहटको चन्द्रनिगाहपुरमा बसोबास गर्दै आएको थाहा भएको छ ।

पश्चिम चितवनको नारायणी नगरपालिका वडा नं ३ बुद्धनगर स्थायी घर भई विगत छ वर्षयता चन्द्रनिगाहपुरमा बस्दै आएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख नरहरि चापागाईंको नेतृत्वमा उहाँकै निवास पुगेर महिलाको बारेमा विस्तृत अध्ययनसमेत गरेको छ ।

टोलीमा रहनुभएका किट नियन्त्रक राम केसीका अनुसार ती महिला भदौ ३१ गते ज्वरो आएपछि चन्द्रनिगाहपुरबाट उपचारका लागि असोज १ गते भरतपुर आएकी थिइन् । २ गते मौलाकालिका अस्पतालमा भर्ना भई ३ गते सोही अस्पतालबाट काठमाडौँ लगिएको थियो । मौलाकालिका अस्पतालमा डेङ्गुको उपचारपछि उनलाई काठमाडौँस्थित शुक्रराज ट्रपिकल अस्पतालमा पठाइएको हो । असोज ४ गते ट्रपिकल अस्पतालमा भर्ना भई ६ गते डिस्चार्ज भएको र ७ गते चितवन फर्किएको केसीले बताए ।

उपचारपछि ती महिला आफ्नै घर बुद्धनगर फर्किएकी छन् । श्रीमान् चन्द्रनिगाहपुरमा जागिर खाने भएपछि उनीहरु बजारमै बसोबास गर्दै आएको पाइएको छ । महिलाले ज्वरो आउने र टाउको दुख्ने भएपछि उपचारका लागि भरतपुर आएको जनाएको केसीले बताए। अहिले महिलाको अवस्था सामान्य रहेको केसीले जानकारी दिए ।

उनी बसोबास गर्ने बुद्धनगरको घर वरिपरि सरसफाइ रहेको र पानी नजमेको पाइएको केसीले बताए । निमित्त प्रमुख चापागाईंले रोग रौतहटबाट आएको हुँदा विभागमार्फत रौतहटमा अध्ययनका लागि जानकारी गराइने बताए।

ती महिलाको चितवनमा डेङ्गु परीक्षण गर्दा नेगेटिभ देखिएपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो । चापागाईंले ती महिलालाई डेङ्गु सार्ने लामखुट्टेले टोकेर अर्को कुनै व्यक्तिलाई टोकेको भए रोग सर्ने सम्भावना रहने बताए । यद्यपी लामखुट्टेले यो रोग यो सार्ने गर्दछ ।

भारतमा सन् २००३ मा महामारीका रूपमा चिकनगुनियाको सङ्क्रमण देखिएको थियो । यो रोग लागेको वाकवाक आउने, उच्च ज्वरो आउने, टाउको दुख्ने, जोर्नी दुख्ने, शरीर दुख्नेजस्ता लक्षण देखा पर्ने फिजिसियन डा। कालिदास अधिकारीले बताए ।

यस्तो लक्षण देखिएमा तत्कालै स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने सुझाव उनको छ । पछिल्लो समय डेंगुको हंका लागेका बिरामीलाई चिकनगुनियाको समेत परीक्षण गर्न सुझाईएको उनले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “चिकनगुनिया सङ्क्रमित महिला रौतहटमा बसोबास गर्ने गरेको पुष्टि

  1. यहि कुरा पहिले देखि भन्दै थिए कि बिरामीलाइ रौतहटमा चिकनगुनियाको सक्रमण भएको हो चितवनमा होइन भनेर। डाक्टरले राम्रो संग बिरामीको इतिहास नसोधेको अनि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पनि डाक्टरको कुरामा मात्र विश्वास गरि आफुले verify नगर्दा टोलि चितवन पुगेछ । सायद अब इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आफैले पनि सोध्पुछ गरेर काम गर्ला।

    डा. शेरबहादुर पुन
    शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल
    टेकु

Leave a Reply

Your email address will not be published. Required fields are marked *