सुरक्षित गर्भपतन सेवालाई प्रजनन स्वास्थ्य अधिकार

garbhapatan

ललितपुर, १३ असोज –  प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा कार्यरत व्यक्तिले सुरक्षित गर्भपतन सेवालाई प्रजनन स्वास्थ्य अधिकारका रुपमा स्थापित गर्नुपर्ने बताएका छन् ।

सञ्चारिका समूह र प्रजनन स्वास्थ्य अधिकार समूहले संयुक्त रुपमा यहाँ आज आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफूले पहिलेदेखि नै सुरक्षित गर्भपतनका विषयमा आवाज उठाउँदै आएको बताउँदै भने, “अहिले कार्यान्वयन गर्ने ठाउँमा भएकाले कानुन निर्माणमा लाग्नेछु ।” उनका अनुसार मन्त्रालयले सुरक्षित गर्भपतनसम्बन्धी निर्देशिकाको पहिलो खाका चाँडै बनाउने भएको छ ।

राष्ट्रिय लक्ष्य प्राप्तिका लागि सुरक्षित गर्भपतन सेवा सुरक्षित बनाउन लाग्ने मन्त्री थापाले बताए । बालस्वास्थ्य, प्रजनन स्वास्थ्य लगायत क्षेत्रमा उल्लेख्य सुधार भएको र शिशु स्वास्थ्यका क्षेत्रमा सुधार गर्न सक्दा नेपालको स्वास्थ्यमा उपलब्धि हासिल गर्न सकिने उनले बताए ।

अधिवक्ता सविन श्रेष्ठले अहिले पनि गर्भपतन अधिकार नभएर फौजदारी मुद्दाका रुपमा रहेको र अघिल्लो वर्ष सुरक्षित गर्भपतनका लागि बजेटमा व्यवस्था भए पनि निर्देशिका बन्न नसक्दा त्यो खर्च हुन सकेको छैन भन्दै गर्भपतनले कानुनी व्यवस्था पाएको १४ वर्ष बित्दा पनि अझै धेरै महिला गर्भपतन गरेकै भएर कारागारमा पुगेको बताए ।

कृपा संस्था, वरिष्ठ पैरवी तथा तालिम अधिकृत प्रभाकर श्रेष्ठले गर्भपतनका सबै कुरालाई सम्बोधन गर्ने गरी निर्देशिका बन्नुपर्ने बताए। उनले भने, “सबैभन्दा पहिले त भ्रुणहत्या भन्ने शब्द नै हटाउनुपर्ने खाँचो छ ।” सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्माले गर्भपतन सेवा अझै पनि ग्रामीण क्षेत्रका विपन्न वर्गको पहुँचमा पुग्न नसकेको बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *