चिकित्सक संघको चुनावलाई फर्केर हेर्दा

डा. पुष्पमणी खराल
डा. पुष्पमणी खराल

राजनीतिमा आस्था र विश्वास राख्नु स्वभाविक हो । त्यहि आस्थाको आधारमा विपक्षसंग मत मतान्तर हुनुपनि स्वभाविक हो । तर के यो मतान्तर सबै ठाँउमा जायज छ ? म भन्छु पक्कै छैन । किनभने व्यावसायिक हक हित र अधिकारको रक्षा गर्ने हेतुले खोलिएका संगठनहरुमा पार्टीगत मत विभाजन हावी भएमा संगठन कमजोर बन्छ ।
राजनीतिक पार्टीको नाम बिशेषमा फरक फरक प्यानल बनाउदा संगठन कमजोर मात्र होइन कसैको प्राइभेट कम्पनी जस्तो समेत हुन सक्छ । किनकी त्यहाँ संस्थाका एजेण्डाहरू गौण र पार्टीका एजेण्डाहरु हावी बनेर निस्किदिन्छन् । यसले अनि देखिन्छन् यस्ता क्रियाकलाप संस्थाका नाम, पार्टीका काम ।

यस्ता गतिविधिहरु नेपालमा प्राय सबै संगठनमा लागू भएको पाइन्छ । तर मैले यहाँ जोडन खोजेको प्रशंग भने नेपाल मेडिकल एशोसियसनको चुनावसंग सम्वन्धित छ ।
भर्खरैमात्र सम्पन्न नेपाल मेडिकल एशोसिएसनको चुनावमा घोषित रुपमा दुई प्यानल थिए । स्वतन्त्र उम्मेदवारको रुपमा म मात्रै थिएँ ।

एउटा प्यानलले शुरूमा प्रजातान्त्रिक भनेर नाम दियो र पछि त्यसको नाम परिवर्तन गरेर फलानो अध्यक्षको समूह भनेर सच्याइयो । अर्को प्यानल थियो पेशागत समावेशी समूह( पीआईपी) । पीआइपी झट्ट हेर्दा एमाले पार्टी निकटको प्यानल जस्तो देखिए पनि त्यसले अरु पक्षलाई समेट्न खोजेको देखिन्थ्यो । तर सारतः त्यो पनि राजनीतिक प्यानल नै थियो ।

एनएमएमा सधैजसो एकक्षत्र राज गर्दै आएको कांग्रेस निकट मानिने प्रजातान्त्रिक प्यानल अघिल्ला पटकमा जस्तै यसपटक पनि दुई तिहाई मतले प्यानल नै जित्छौ भन्दै दम्भका साथ हिडेको थियो ।

अर्को प्यानलले चाहि प्रजातान्त्रिक प्यानलको घमण्ड यसपाटी तोडेरै छाड्ने भन्दै प्रचार गरेका थिए । र दुबै प्यानलको प्रचार हेर्दा जो कोहीले पनि चाल पाउथ्यो कि त्यहाँ एजेण्डा भन्दा पार्टीको इगो हाबी छ ।

चुनावमा प्यानल वा समुह बनाउनु आफैमा नराम्रो भने पक्कै होइन । यसो गर्दा ठूलो धन राशी र समय को बचत हुन्छ । प्रचार प्रसार गर्न पनि धेरै सजिलो हुन्छ । प्यानलको एउटा ब्यक्तिले अरुलाई प्रचार गर्दा प्यानलका सबै सदस्यहरु सबै ठाँउमा जान नपर्ने हुन्छ । सबै जनाको सामुहिक प्रयास हुँदा उम्मेदवार को जित हुने सम्भाबना पनि बढ्छ ।

तर राजनीतिक पार्टीको नामलाई आधा मानेर, पार्टीको निर्णय अनुसार उम्मेदवारको नाम चयन गरेर बनाइने प्यानलले हाम्रो समुदायमा बिभाजन, कटुता र बैमनस्यता ल्याउछ । पार्टीपार्टीबीचको ईगो हाबी भइदिदाँ चुनाबी एजेण्डा सतहमा आउन सक्दैन । पार्टीको साख जोगाउन पर्छ भनेर मान्छेहरु मरिमेटछन । जसबाट जात भात दण्ड भेत प्रयोग गरेर भएपनि चुनाव जित्नै पर्छ भन्ने मनशाय उत्पन्न हुन्छ । तर यो अपवित्र शैलि हो ।

एनएमए डाक्टरहरुको साझा चौतारी

नेपाल मेडिकल एशोसिएसन (एनएमए) नेपाली डाक्टरहरुको साझा चौतारी हो । यस भित्र र बाहिर गरिने वा हुने सबै गतिबिधीहरुले प्रत्येक चिकित्सकको प्रतिनिधित्व गर्न सक्नु पर्दछ । एनएमएलाई केबल केही राजनीतिक दलहरूको लडाईको क्रिडास्थल बनाउन खोज्नु हुदैन् ।
डाक्टरहरुको हितको पक्षमा आबाज बुलन्द गर्न हामी कुनै पार्टी विशेषको धरातलबाट माथी उठन जरुरी छ । पार्टी विशेषको प्यानल बनाउँदा काम गर्न गाह्रो पर्छ ।

कुनै एजेण्डामा अडिग रहन हम्मे पर्छ । किनकी पार्टीको नाममा चुनाव लडेपछि पार्टीको आदेश मान्नै पर्छ । मैले देखेको, चुनावमा उत्रदा पार्टीको नाम लिएर उठ्नुभन्दा समय निकाल्न सक्ने, काम गर्न आँट र अठोट भएकाहरुको समूह बनाउन उपयुक्त हुन्छ । त्यसो गर्दा कसैसँग कम्प्रोमाइज गर्नु पर्दैन ।

मैले यसकारण स्वतन्त्र रुपमा उम्मेदवारी दिएँ

समूह बनाएर चुनावमा उठ्दा बिजयी हुने सम्भाबना बढी हुन्छ भन्ने थाहा पाँउदा पाँउदै मैले किन एक्लै स्वतन्त्र उम्मेदवारी दिए ? कसैले भन्लान कुनै प्यानलले उपयुक्त पद नदिएर, एकथरिले भन्लान कसै सँग मिल्न नसकेर, कसैले यो पनि भन्लान कि समुह बनाउने सामथ्र्य नभएर । यी सबै तर्कहरु गलत छन ।

मलाई कसैसंग बार्गेनिङ गर्नु थिएन र छैन् । सामाजिक सन्जालमा मैले चुनाव हुनु भन्दा तीन महिना अगाडि नै महासचिवमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेको थिएँ । उम्मेदवारी दर्ता गर्ने पहिलो दिनको एक बिहानै मैले उम्मेदवारी दर्ता गराएको थिएँ ।

आत्मबिश्वास मात्र एक कारण थियो मैले स्वतन्त्र उम्मेदवारी दिनुमा । मलाई लागेको थियो अब नेपाल मेडिकल एशोसिएसनलाई हेर्ने डाक्टरहरुको दृष्टिकोण परिवर्तन भएको छ । धेरै चाहन्छन्, स्वतन्त्र उम्मेदवारलाई पनि समर्थन गरिएमा एनएमएमा राम्रो समाबेशी समूह बन्छ र ठुलो बहशको थालनी हुन्छ । हो, यही बिश्वासमा मैले स्वतन्त्र उम्मेदवारी दिएको थिएँ ।

करीब २ हजार ९ सय मत खसेकामा झण्डै २५ प्रतिशत अर्थात ७१२ मत मैले पाएको थिएँ । यसलाई मैले ठूलो उपलव्धी मानेको छु । किनकी यसले अब उप्रान्त स्वतन्त्र उम्मेदवारी दिन चाहनेलाई ठूलो प्रोत्साहन जगाउन सक्छ ।

चुनाव प्रचार प्रसार गर्ने क्रम मा धेरैले किन एक्लै उठेको ? एक्लै उठ्दा धेरै गाह्रो हुन्छ । भन्नु भएको थियो । मैले यो कुरालाई सहर्ष स्वीकार गरेको थिएँ । हो, साच्चै नै गार्हो हुन्छ । एक्लै पूर्व मेचीदेखि पश्चिम नेपालगन्जसम्म एक्लैले गाडी चलाउदा के हालत भएको थियो, जसले पनि अनुमान लगाउन सक्छ । समय पनि धेरै खर्चिनु पर्ने, आर्थिक भार पनि समूहमा उठेकालाई भन्दा एक्लो उम्मेदवारलाई बढी पर्ने थियो । तर यी कुराहरु मलाई पहिल्यै थाह थियो ।

मलाई प्रमाणित गर्न मन थियो । एजेण्डा राम्रो बोकेमा स्वतन्त्र उम्मेदवार लाई पनि ठुलो समर्थन मिल्छ । स्वतन्त्रले पनि चुनाव आट्न सक्छन र जीत पनि हात पार्न सक्छन् भन्ने बिश्वास जगाउनु थियो ।

हल्लाहरु पनि सुनियो, स्वतन्त्रले बढिमा सय मत ल्याउला, जमानत जफत हुन्छ आदि इत्यादि । यस्ता हल्लाले मलाई थप मजबुत बनाउँथ्यो, झन उर्जा बढ्थ्यो । यस्ता हल्लाहरुमा मैले कसैलाई दोषी देख्थिन किनकी सिङ्गो समाज नै यस्तै थियो । दुई र एक जोड्दा मात्र तीन हुन्छ भन्ने सोच हाबी थियो । मलाई एक, एक, एक पनि तीन हुन्छ भन्ने प्रमाणित गर्नुथियो । जुनकुरा चुनावको नतिजा बाट प्रमाणित नै भयो ।

गएको चुनावको अनुभबले मलाई एक्लै उठ्नु भन्दा स्वतन्त्र बिचार धारा भएकाहरुको जागरिलो समुह बनाएर उठ्दा प्रभावकारी हुनछ भन्ने कुरा एकदमै सिकायो । समयको हिसाबले, पैसा खर्चको हिसाबले र सबैभन्दा महत्वपूर्ण कसैको अधिनमा नरहने स्वतन्त्र समुहको हिसाब ले ।

अन्त्यमा, नबनिर्वाचित साथीहरुलाई बधाई तथा शुभकामना दिन चाहन्छु । अपेक्षाकृत यसमा छु कि अब यो झन्झटिलो चुनावलाई सहजीकरण गर्न अनलाइन भोटिङ सिस्टमको ब्यबस्था चाडै नै गरियोस् । सदस्यता बढाउन नेपाल मेडिकल काउन्सिलमा एनएमए डेस्क को बिकास गरियोस् । धन्यवाद , जय नेपाल मेडिकल एशोसिएसन !

# डा. खराल भर्खरै सम्पन्न नेपाल चिकित्सक संघको निर्वाचनमा महासचिव पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका चिकित्सक हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

4 thoughts on “चिकित्सक संघको चुनावलाई फर्केर हेर्दा

  1. डाक्टर सावले उठाएको कुरा ठिकै हो तर तपाई पनि पेशागत समावेशी समूहबाट महासचिव पदका लागि लाष्टै लफडा गरेको भन्ने सुनिन्छ नि । त्यता नपाएपछि यिनीहरुलाई देखाईदिन्छु भन्दै स्वतन्त्र रुपमा उठेको हो भन्थे साथीहरु । त्यस्तो हो भने त अहिले अर्तिका कुरा गरेको अलि सुहाउदैन कि ?

    1. तपाई लाई प्राप्त समाचार गलत हो। मेरो महासचिव मा उम्मेदबारी चुनाव हुनु भन्दा ३ महिना अगाडि नै घोषणा भएको थियो। सायद सामाजिक सन्जाल मा तपाईले थाहा पाउनु भयो होला।

    2. तर हो मैले भनेको थिए mixed Type को समावेशी प्यानल बनेमा र मेरो महासचिव को अग्रीम उम्मेदबारी लाई समर्थन गरिएमा team मा नी बस्न सक्छु भनेकै हो।

  2. पुस्प मणि खरेल अघिल्लो NMA चुनावमा स्वतन्त्र उठे ..
    तत्कालीन समयमा काङ्ग्रेस/ एमालेका प्यानल प्रति बिष वमन गरेका उनी एकाएक नेकपा को प्यानलमा कसरी आए- उन्लाइ अध्यक्ष पद दिन नेकपा कसरी सहमत भयो ? के अन्य चिकित्सक हरु सो पदको लागी योग्य थिएनन् ?
    उत्तर -उन्को पारिवारिक राजनीति कम्युनिस्ट नै रहेको र बाबु एमालेको सकृय कार्यकर्ता हुँदै संसद सम्म भएका ब्यक्ति हुनु, एसैको आडमा प्रधानमन्त्री र प्रधानमन्त्री का बरिस्ठ सल्लाहकार सङ पार्टीको निर्देशन पुर्णरूपमा मान्ने, प्रतिवद्द्ता जनाएपछी मात्र रास्ट्रीय चिकित्सक संघ ले उन्लाइ स्वीकार गर्‍यो !
    अर्को समस्या उब्जियो- पद बाड्फाड कसरी गर्ने ? दुई पार्टी – तत्कालीन एमाले र तत्कालीन माओवादी – तत्कालीन माओवादीले अध्यक्षमा खराल भएपछि महासचिव दिपेन्द्र पान्डे लाई दिनुपर्ने शर्त अघि सार्यो – उता अध्यक्ष बाहेकका पदमा भागवन्डा गर्नुपर्ने अडान राख्यो ।
    उम्मेदवारी दर्ताको दिन सम्म पनि भागवन्डा नमिलेपछि स्वतन्त्र रूपमा महासचिवमा दिपेन्द्र पाण्डेले उम्मेदवारी दिए -उनको उम्मेदवारीलाई नेकपा भित्र बागी उम्मेदवारी नै भनिएको छ , हुन त : समय बाकी छ , रात रहे अग्राख पलाउछ भन्छन् ! अहिले बहुमतको सरकार हुँदा यो चुनाव जसरी पनि जित्नुपर्ने गरि रणनीति बनाउन पार्टीको हाइकमाण्डको निर्देशन रहेको छ ।
    उता बर्सौदेखी एकछत्र राज गर्दै आएको प्रजातान्त्रिक समुह पनि एस्पाली ढुक्क हुन सकेको अवस्था छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *