बुर्तिवाङमा प्राथमिक स्वास्थ्य केन्द्रमै शल्यक्रिया

बागलुङ, ५ असोज – प्राथमिक स्वास्थ्य केन्द्रमै सुरु गरिएको शल्यक्रियासहितको प्रसूति सेवा दुर्गम भेकका महिलाका लागि प्रभावकारी बनेको छ । जिल्लाको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा डेढ वर्षअघि सुरु भएको प्रसूति सेवाबाट सयौँ महिलाले लाभ लिएका छन् । प्रसूतिका बेला आउने जटिलताकै कारण महिलाले अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

नजिकको स्वास्थ्य केन्द्रमै शल्यक्रिया हुने भएपछि हप्तौँ लगाएर र हजारौँ खर्चेर सदरमुकाम र अन्य ठूला सहरमा जानुपर्ने बाध्यता टरेको छ । जिल्ला स्वास्थ्य कार्यालय बागलुङका अनुसार शल्यक्रियासहितको प्रसूति सेवा दिने बुर्तिवाङ देशकै पहिलो प्राथमिक स्वास्थ्य केन्द्र हो । केन्द्रमा ‘बृहत् आकस्मिक प्रसूति एवम् नवशिशु स्याहार केन्द्र’ स्थापना गरी सेवा दिइएको वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले बताए ।

सेवा लिने महिलाको सङ्ख्या वृद्धि हुँदै गएको र शल्यक्रिया सेवा सफल भएको उहाँको भनाइ छ । केन्द्रको आँकडाअनुसार गत आवमा २९ जना महिलाको शल्यक्रिया गरी प्रसूति गराइएको थियो । बाँकी ३५९ महिलालाई साधारण सेवाबाट सुरक्षित प्रसूति गराइएको थियो ।

जिल्लाभरमा सबैभन्दा बढी प्रसूति गराउने स्वास्थ्य संस्थामा बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र नै पर्छ । “ग्रामीण भेगका महिलालाई शल्यक्रियासहितको प्रसूति सेवाले ठूलो टेवा पुगेको छ, शल्यक्रिया गर्न अन्यत्र धाउनुपर्ने बाध्यता हटेको छ”–प्रशासक श्रेष्ठले भने । केन्द्रबाट जिल्लाको पश्चिम भेगका १८ गाविस र छिमेकी रुकुम, प्यूठान र गुल्मीका समेत महिलाले सेवा लिने अवसर पाएको उनको भनाइ छ । दुर्गममा भएर पनि तीनजना विशेषज्ञ चिकित्सकसहित आधुनिक उपकरण र सुविधा सम्पन्न भवनबाट स्वास्थ्य केन्द्र सञ्चालित छ ।

“शल्यक्रिया गर्ने विशेषज्ञ चिकित्सकसहित तीनजना चिकित्सक, बेहोस बनाउने, नर्स, प्रयोगशालाका प्राविधिक, सहयोगीसहित स्वास्थ्यकर्मीहरु केन्द्रमा हुनुहुन्छ”–प्रशासक श्रेष्ठले भने। प्रमुख चिकित्सक मनोज सापकोटासहित २८ जना स्वास्थ्यकर्मी उक्त केन्द्रमा कार्यरत छन् । केन्द्रमा चौबिसै घण्टा प्रसूति सेवा उपलब्ध हुने केन्द्रका स्वास्थ्यकर्मी ऋतुवर्ण पौडेलले बताए। प्रसूतिका बेला आउने जटिलताकै कारण सामान्यरुपमा बच्चा जन्मन नसक्ने अवस्थामा शल्यक्रिया गर्ने गरिएको उनको भनाइ छ ।

गाउँमै सुरक्षित प्रसूति सेवा लिन पाएका महिलाहरु शल्यक्रिया सेवासमेत नजिकमा पाउँदा खुसी छन् । सरकारले केन्द्र सञ्चालनको लागि बर्सेनि बजेट विनियोजन गर्ने गरेको छ । जिल्लाका ४२ वटा स्वास्थ्य संस्थामा प्रसूति केन्द्र सञ्चालनमा छन् । पछिल्ला तीन वर्षमा जिल्लामा प्रसूतिकै कारण हुने महिलाको मृत्युदर पनि शून्यमा झरेको छ । सदरमुकाममा रहेको धवलागिरि अञ्चल अस्पतालले भने वर्षौं अघिदेखि शल्यक्रियासहितको प्रसूति सेवा दिँदै आएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *