सामुदायिक अस्पतालबारे स्पष्ट व्याख्या हुनुपर्ने

काठमाडौँ, १ असोज – सरकारले स्पष्ट परिभाषा गर्न नसक्दा कस्ता अस्पताललाई सामुदायिक अस्पतालको रुपमा बुझ्ने भन्ने विषय दोधारमा परेको सामुदायिक अस्पताल सञ्चालकले बताएका छन् ।

आज राजधानीमा नेपालका सामुदायिक अस्पताल सङ्घको प्रथम राष्ट्रिय भेलामा सहभागीले कस्ता अस्पताललाई सामुदायिक, गैरनाफामूलक वा सहकारी अस्पताल भन्ने कुरा छुट्टयाउनुपर्नेमा जोड दिए ।

स्वास्थ्य मन्त्रालयका उपसचिव लीलाराज पौडेलले मन्त्रालयले सामुदायिक अस्पताललाई दिने अनुदानलाई व्यवस्थित बनाउन निर्देशिका बनाएको भए पनि त्यो पूर्ण नभएको बताए ।

उनले मन्त्रालयले अहिलेसम्म कस्ता मापदण्ड पूरा गरेका अस्पताललाई कुन अस्पताल भन्ने बारेमा व्याख्या गर्न नसकेको बताउँदै यसबारेमा स्पष्ट आधार बनाउनुपर्ने बताए । उनले भने, “हामीले अनुदानलाई व्यवस्थित गर्न निर्देशिका बनायौँ । तेइस सामुदायिक अस्पतालले अनुदान प्राप्त गरेका छन् । अब ती अस्पतालले पाएको अनुदान रकम कुन कुन काममा उपयोग गरे भन्ने कुरापनि बाहिर आउनुपर्छ ।”

सामुदायिक अस्पताललाई कसरी अगाडि लैजाने भन्ने विषयमा मन्त्रालयले छलफल सुरु गरिसकेको उनको भनाइ छ । सङ्घका अध्यक्ष एजाज आलमले राज्यले सामुदायिक अस्पताललाई हेर्ने नजर बदल्नुपर्ने बताए। उनले भने, “अहिलेपनि चिकित्सक सामुदायिक अस्पतालमा जान रुचाउँदैनन् । त्यहाँको व्यवस्थापन राम्रो नहुने उनीहरुको धारणा छ । यसलाई परिवर्तन गर्दै जनताको अस्पताल बनाउन आवश्यक छ ।”

भेलामा विभिन्न जिल्लाका ३२ सामुदायिक अस्पतालका १३० जना सहभागी छन् । भेलामा सामुदायिक अस्पताललाई अगाडि बढाउने मार्गचित्र, समस्यालगायत विषयमा छलफल हुने बताइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *