‘स्वास्थ्य शिक्षाका विसङ्गति अन्त्य गर्न सरकार क्रियाशील’

krishna-mahara

काठमाडौँ, २९ भदौ –  उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकमा देखिएका स्वास्थ्य क्षेत्रका विकृति र विसङ्गति अन्त्य गर्न सरकार क्रियाशील भएको बताएका छन् ।

आज नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको अत्याधुनिक तथा सङ्क्रमणरहित प्रविधिबाट निर्माण भएको ‘लुन–गङ्गा अपरेटिङ सुइट्स’ को उद्घाटन गर्दै मन्त्री महराले स्वास्थ्य क्षेत्रको विकासको लागि नीतिगत सुधार गर्नेतर्फ सरकार लागेको उल्लेख गरे ।

उनले भने, “अहिले स्वास्थ्य क्षेत्रमा निकै विकृति आएको छ । जनताले पाउने स्वास्थ्य सेवाप्रति सन्तुष्ट हुने अवस्था छैन । यसको सुधारको लागि सङ्गठनात्मक संरचनामा सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ । यसका लागि सरकार गम्भीर छ ।”

नर्भिकले सुरु गरेको अन्तर्राष्ट्रिय स्तरको शल्यक्रिया सेवाले नेपालका मात्र नभई बाहिरी देशका बिरामी पनि लाभान्वित हुने मन्त्री महराले विश्वास व्यक्त गरे ।

अस्पतालका अध्यक्ष वसन्त चौधरीले अस्पतालले निकट भविष्यमा विश्वस्तरीय प्रविधि प्रयोग गरी २०० श्ययाको भवन, १०० श्ययाको क्यान्सर उपचारको लागि अत्याधुनिक सुविधा सम्पन्न भवन यसै वर्षदेखि सुरु गर्ने जानकारी दिए।

उनले भने, “हामीले आम नेपालीले आफ्नै घरदैलोमा विश्वस्तरीय उपचार पाउनुपर्ने अवधारणासहित अस्पतालले दुई महिनामा आइभिएफ सेन्टर र हेमोडाइलासिस सेन्टर सुरु गर्नेछौँ ।”

सरकारले स्वास्थ्यका अत्याधुनिक प्रविधि भित्र्याउँदा लगाउने करले उपचारलाई महँगो बनाएकाले यस्तो करको छुट हुनुपर्ने माग गरे।

आगामी साताबाट सेवा सुचारु हुने बताइएको शल्यक्रिया कक्षलाई विशिष्ट स्तरको मोडुलर शल्यक्रिया सुइट्सको रुपमा रुपान्तरित गरेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले बताए।

उक्त कक्षमा तीनवटा शल्यक्रिया कक्ष अत्याधुनिक सुविधा सम्पन्न, व्यवस्थित र जीवाणुरहित निर्माण गरिएको र शल्यक्रिया नयाँ मापदण्डअनुसार अन्तर्राष्ट्रियस्तरको हुने सिंहले जानकारी दिए।

उनले भने, “हामीले बनाएको शल्यक्रिया कक्ष युरोपियन युनियनको मापदण्डअनुसारको छ । त्यहाँ प्रयोग गरिएको हरेक सामग्री र प्रविधि जेआइसीको मापदण्डअनुसारको प्रयोग गरेका छौँ । यसले राम्रो र स्तरीय सेवाको लागि विदेश धाउनुपर्ने अवस्थालाई अन्त्य गर्नेछ भन्ने विश्वास लिएका छौँ ।” रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *