ऐन नबन्दासम्म मेडिकल कलेजको सम्वन्धन नदिने सरकारको निर्णय

gagan-kantiकाठमाडौँ २८ भदौ – सरकारले राष्ट्रिय चिकित्सा शिक्षा ऐन नबन्दासम्म कुनै पनि नयाँ मेडिकल कलेजलाई सम्वन्धन नदिने स्पष्ट पारेको छ । सम्वन्धनको विषयलाई उठाउदै डा गोविन्द केसीले नवौँ चरणको अनसन बस्ने चेतावनी दिएपछि सरकारका तर्फबाट यस्तो जानकारी आएको हो ।

मंगलबार विहान प्रधानमन्त्री निवासमा भएको बैठकको सार सुनाउदै स्वास्थ्य मन्त्री गगन थापाले चिकित्सा शिक्षा ऐन नबन्दा सम्म देशका जुनसुकै ठाँउमा भएपनि मेडिकल कलेजको नयाँ सम्वन्धन नदिने निर्णय भएको बताए ।

मंगलबार विहान बालुवाटारमा प्रधानमन्त्रीसंगको छलफलमा स्वास्थ्यमन्त्री थापासंगै शिक्षामन्त्री डीआर पौडेल, पूर्वमुख्य सचिव लिलामणी पौडेल, शिक्षाविद केदारभक्त माथेमा , संविधानविद निलाम्बर आचार्य लगायतका व्यक्तिहरुको उपस्थिति थियो ।

डा केसीले आठौँ चरणको अनसन तोडने क्रममा आफूसंग भएको सम्झौताको उल्लंगन गर्दै सरकारले केही कलेजहरुलाई सम्वन्धन दिन लागेको भन्दै ३ असोज देखि आमरण अनसन बस्ने चेतावनी दिएका थिए ।

स्वास्थ्य मन्त्री थापाले संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधयेक यसै अधिवेशनमा छलफलमा लैजाने, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सलाई मनमोहन चिकित्सा विज्ञान प्रतिष्ठानमा रुपान्तरण गर्ने र प्रस्तावित मनमोहन मेडिकल कलेज सोही प्रतिष्ठानले लिने, र आइओएममा बरिष्ठताको आधारमा तत्काल डिन नियुक्त गर्ने लगायतका विषयमा सहमति भएको बताए ।

मन्त्री थापाले यी सबै कुराहरु डा केसीका तर्फबाट भाग लिन आएका पौडेल र माथेमालाई जानकारी दिइएको भन्दै अनसन रोकिनेमा आफू विस्वस्त भएको बताए ।

डा केसीले सरकारले २ असोजसम्म आफूसंगका सम्झौता कार्यन्वयन गर्न नथाले ३ असोजबाट नवौ अनसन थाल्ने बताइसकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *