‘स्क्रब टाइफस’ पत्ता लगाउन मुसाको अध्ययन हुँदै

rabbit

चितवन, २६ भदौ –  नेपालमा फैलिएको नयाँ रोग स्क्रब टाइफसको अवस्था पत्ता लगाउन चितवनमा मुसाको अध्ययन सुरु गरिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले चितवनमा आएर मुसाको अध्ययन थालेको हो । नेपालमा सबैभन्दा बढी स्क्रब टाइफस रोग चितवनमा देखिएकाले जिल्लामा मुसाको अध्ययन थालिएको हो ।

“पश्चिम चितवनका विभिन्न स्थानमा मुसाको अध्ययनका लागि मुसौरो राखेका छौं,” महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले भने, “ती मुसामा रोग सार्ने माइट जातको किरा समातेर परीक्षण गर्दै छौं ।”

मुसौरोमा पाँच–सातवटा मुसा परेको समेत उनले जानकारी दिए । शारदानगर, पार्वतीपुर, शङ्कर चोक र विकास चोकमा रहेका विभिन्न सात घर तथा गोठमा रहेका मुसा नियन्त्रणमा लिएर शनिबारदेखि अध्ययन थालिएको हो ।

नियन्त्रणमा रहेका मुसाबाट माइट निकाल्ने र मुसोको चिरफार गरी नमुना सङ्कलन गरेर काठमाडौँ लैजाने लामिछानेले जानकारी दिए । मुसाको अध्ययनका लागि काठमाडौँबाट आठ जनाको विज्ञ तथा प्रविधिज्ञ टोली चितवन आएको छ । लामिछानेको नेतृत्वमा किटजन्य रोग विज्ञ ललन शाह र शिशिर पन्त, प्रविधिज्ञ प्रमोदकुमार मेहता, बुद्धि महर्जन, विजय रिमाल, आत्माराम कुर्मी, उत्तम प्याकुरेलको टोली मुसाको अध्ययनमा लागेको हो ।

चितवनको जनस्वास्थ्य कार्यालयबाट कार्यालय प्रमुख मधुसूदन कोइराला, किट नियन्त्रण निरीक्षक रामकुमार केसी, अनुप अधिकारी लगायतका प्रतिनिधि समेत अध्ययन टोलीमा सहभागी छन् ।

“मुसामा लाग्ने किर्ना जातको किरा माइटबाट रोग सर्ने भएकाले मुसाको अध्ययन थालिएको हो, रोग सार्ने माध्यमको रुपमा मुसा नै मुख्य हो, मुसा आफैँ रोग सार्ने कारण नभए पनि रोग लगाउने एक प्रकारको किर्ना माइटलाई मुसाले पाल्न सहयोग गर्छ,” इपिडिमियोलोजी शाखाका प्रमुख गुणनिधि शर्माले भने ।

वैशाखयता जिल्लामा पछिल्लो तथ्याङ्कअनुसार कुल ४७३ जना बिरामीको नमुना परीक्षणमा १८९ जनामा स्क्रब टाइफसको सङ्क्रमण भएको पाइएको जनस्वास्थ्य कार्यालय चितवनका किटनियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिए ।

सार्वजनिक तथ्याङ्क अनुसार नेपालमा दुईसय २२ जनामा सङ्क्रमण हुँदा चितवन मात्रै १८९ जनामा सङ्क्रमण भएकाले जिल्लामा प्रकोप बढ्दो छ । नेपालका ३२ जिल्लामा सङ्क्रमण देखिएको छ ।

उक्त रोगका कारण यो वर्ष चितवनमा दुई जनाको ज्यान गएको छ । नेपालमा वैशाखयता अहिलेसम्म यो रोगका कारण ६ जनाको ज्यान गइसकेको छ । अघिल्लो वर्ष आठ जनाको मृत्यु भएको थियो ।

मुसामा हुने एक प्रकारको किरा ‘माइट’ ले टोकेमा यो रोग लाग्छ । विशेष गरी मुसाबाट झाडी र झारमा किरा खस्ने र त्यहाँ पुगेमा किरा टाँसिएर टोक्दा रोग सर्छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *