चिकित्सक संघको चुनाव सकियो, २ हजार ८४१ भोट खस्यो

vote-copy

काठमाडौँ, २५ भदौ – नेपाल चिकित्सक संघको नयाँ नेतृत्वका लागि गत १७ भदौ देखि जारी निर्वाचन प्रकृया सम्पन्न भएको छ । कुल ५हजार ३०५ जना मतदाता रहेको यसपटकको निर्वाचनमा २ हजार ८४१ जना ( ५३.५५ प्रतिशत) मतदानमा सहभागी भए ।

निर्वाचन प्रक्रिया यसपटक पनि अघिल्लो पटक जस्तै उपत्यका र उपत्यका बाहिर छुट्टा छुट्टै मितिमा गरिएको थियो । उपत्यका बाहिरका १५ स्थानमा गत १७ र १८ भदौमा निर्वाचन सम्पन्न भइसकेको थियो । तर उपत्यका भित्र भने गत २१ भदौ देखी आजसम्म मतदान कार्यक्रम सञ्चालन गरिएको थियो ।

प्रमुख निर्वाचन अधिकृत डा. धनबहादुर रानाले उपत्यकामा ५ दिन भएको मतदान प्रक्रियामा १ हजार ४७५ जनाले भाग लिएको बताए । उनले उपत्यका बाहिर भएको दुई दिनको चुनावमा १ हजार ३६६ मत खसेको जानकारी दिए ।

अध्यक्ष सहित कुल १३ सिटका लागि भएको निर्वाचनमा यसपटक दुई समूह प्रजातान्त्रिक समूह र पेशागत समावेशी समूह ले प्यानलका रुपमा उम्मेद्धारी दिएका थिए । महासचिवमा भने थप एक जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए ।

यसपटक प्रजातान्त्रिक समूहबाट पूर्व महासचिव डा. मुक्तिराम श्रेष्ठको अध्यक्षतामा र पेशागत समावेशी समूहबाट डा. रमेश ढकालको अध्यक्षतामा अर्को समूह मैदानमा भिडेको थियो । स्वतन्त्र रुपमा डा. पुष्पमणी खरालले महासचिवमा उम्मेदवारी दिएका थिए ।

निर्वाचन अधिकृत डा. रानाले निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न भएको बताए । उनले आइतबार विहान ७ बजे उम्मेदवारहरुलाई बोलाएको छलफल गरी ८ बजेबाट मतगणना सुरु गर्ने तयारी भएको बताए । उनले सकेसम्म साझ नपर्दै मतगणना सक्ने योजना बनाएको र त्यसका लागि ४ वटा बुथ बनाई गणना गर्ने तयारी भएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *