ललितपुरमा स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने बढे

ललितपुर, २३ भदौ – जिल्लामा स्वास्थ्य संस्थामा प्रसूति जाँच गराउने र स्वास्थ्य संस्थामा नै सन्तानलाई जन्म दिने महिलाको सङ्ख्या बढेको छ ।

आर्थिक वर्ष २०७२/७३ मा एक हजार ६०० भन्दा बढी महिलाले स्वास्थ्य संस्थामा नै सन्तानलाई जन्म दिएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरकी नर्सिङ अधिकृत अम्बिका पाण्डेले बताइन् ।

उनले भनिन्, “यो सङ्ख्या नै अघिल्लो वर्षको भन्दा दुईसयले बढी रहेको छ ।” जिल्लाका दुर्गम गाविसका स्वास्थ्य संस्थामा ‘२४ घन्टे सेवा’ सुरु भएको छ । पहिले घरमा नै सन्तानलाई जन्म दिने धेरै भएपनि अहिले स्वास्थ्य संस्थामा प्रसूति हुने बढेका छन् ।

जिल्लामा २१ ओटा स्वास्थ्य संस्थामा ‘२४ घन्टे सेवा’ सञ्चालनमा छ । सबैभन्दा बढी लेले प्राथमिक स्वास्थ्य संस्थामा ४८ जना महिलाले सन्तानलाई जन्म दिएका छन् । जिल्लाका दुर्गम गाविसमा समेत सेवा लिनेको सङ्ख्या बढिरहेको छ । भारदेउ स्वास्थ्य केन्द्रमा ३०, आश्राङमा ३४, गिम्दीमा १६ र प्युटारमा १९ जनाले सन्तानलाई जन्म दिएका छन् । जिल्लाका बर्थिङ सेन्टरमा बिरामीको सङ्ख्या कम भएका स्वास्थ्य संस्थाबाट ‘बर्थिङ सेन्टर’ हटाउन खोजिएको उनी बताउछिन् ।

उनले भनिन्, “केही बर्थिङ सेन्टरले अहिले ज्यादै न्यूनलाई मात्रै सेवा दिएका छन् ।” अघिल्लो वर्ष स्थापना भएका दलचोकी, माल्टा लगायतका गाविसमा सेवा लिनेको सङ्ख्या कम छ ।

सबै बर्थिङ सेन्टरको ‘रिफर सेन्टर’का रुपमा किस्ट अस्पताल रहेको छ । जिल्ला अस्पताल नहुँदा किस्ट अस्पतालले नै रिफर सेन्टरका रुपमा सेवा दिइरहेको छ । सो अस्पतालमा मात्रै गत एक वर्षमा ९९८ जना महिलाले सन्तानलाई जन्म दिएका थिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *