मिर्गौला फेल भएकी महिलालाई साढे दुई लाख सहयोग

म्याग्दी, २३ भदौ – म्याग्दीकी एक मिर्गौला बिरामीको उपचारका लागि प्रवासीबाट बुधबार साढे दुई लाख रुपैयाँभन्दा बढी नगद सहयोग प्राप्त भएको छ ।

परोपकारी संस्था ओमकुमारी शान्ति कोषले ताकम–४ की २४ बर्षीया इन्द्रा खत्रीको उपचारका लागि आर्थिक स्रोत जुटाउन सञ्चालन गरेको अभियानमा अष्टेलिया र न्युजिल्यान्डबाट दुई लाख २५ हजार रुपैयाँ सहयोग प्राप्त भएको हो ।

अष्टेलियामा हरि कार्की र चिना केसीको पहलमा सङ्कलन भएको एक लाख ८३ हजार ९५० रुपैयाँ उनीहरुका अभिभावक याम केसीले कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गरे ।

यसैगरी, प्रवासी नेपाली म्याग्देली सङ्घ (मोना) न्युजिल्यान्डले खत्रीलाई ४१ हजार ९५० रुपैयाँ सहयोग गरेको छ । संस्थाकी कोषाध्यक्ष सुनिता बज्राचार्य र प्रदीप बज्राचार्यले सहयोग रकम कोषका अध्यक्ष शाक्यलाई हस्तान्तरण गरेको हो ।

दुईवटै मिर्गौलाले काम नगरेपछि मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार गराइरहेकी खत्रीका परिवारको आर्थिक अवस्था कमजोर भएकाले सहयोग सङ्कलनका लागि अभियान सुरु गरिएको थियो ।

यस्तै, बेगखोलाका बाढीपीडितलाई प्रवासी नेपाली म्याग्देली सङ्घ (मोना)कतारले ३५ हजार रुपैयाँ सहयोग गरेको छ । संस्थाका निवर्तमान अध्यक्ष गणेश श्रेष्ठले बाढीपीडितको राहतका लागि सहयोग सङ्कलन अभियान सञ्चालन गरेको कोषका अध्यक्ष शाक्यलाई रकम हस्तान्तरण गरेका थिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *