नेपालमा ७८ हजार बृद्धबृद्धा अल्जाइमर रोगबाट पीडित

काठमाडौँ, १८ भदौ – वृद्धावस्थामा लाग्ने अल्जाइमर अर्थात् विस्मृति रोगका बारेमा पर्याप्त जनचेतना नहुँदा बिरामी र परिवारले कष्ट झेल्नु परेको छ ।

बुढेसकालमा लाग्ने रोग भएकाले मानिसले यसलाई बुढ्यौलीमा हुने लक्षण ठान्ने गरेकाले बिरामी र परिवारलाई समस्यामा पार्ने गरेको छ । बुढेसकालमा लाग्ने डिमेन्सिया समूहको अल्जाइमर रोग पाँच प्रतिशतमा देखिने चिकित्सक बताउँछन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पतालका ज्येष्ठ नागरिक विशेषज्ञ डा रमेश कँडेल यो ज्येष्ठ नागरिकमा लाग्ने कडा किसिमको बिस्तारै बढ्ने मानसिक रोग भएको बताउछन। डिमेन्सियाले सोच्ने, विचार गर्ने, योजना बनाउनेजस्ता महत्वपूर्ण मानसिक क्षमता घटाउँदै लैजाने उनको भनाइ छ ।

खासगरी मधुमेह, मष्तिष्कमा क्यान्सरजन्य रोग, मष्तिस्क ज्वरो र थाइराइडका बिरामीलाई यो रोगको खतरा अझ बढी हुने डा कँडेलले बताए ।

अल्जाइमर विस्मृति समाज नेपालका अध्यक्ष डा गौरीशङ्करलाल दास अन्य रोगका लागि सरकारले खर्च गरे पनि ज्येष्ठ नागरिकलाई लाग्ने यो रोगप्रति ध्यान पुग्न नसकेको बताउछन् । उनले भने, “सरकारले अन्य रोगको उपचारका लागि विभिन्न व्यवस्था गरेको छ तर ज्येष्ठ नागरिकमा देखिने यो रोगलाई अझै पनि नजरअन्दाज गरेको छ ।”

राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका उपाध्यक्ष मदनदास श्रेष्ठ यो रोगबाट पीडित बिरामी रोग लागेपछि धेरै समयसम्म बाँच्न सक्ने भए पनि त्यसका लागि परिवारको सहयोग चाहिने बताउछन् ।

अल्जाइमरको चरम अवस्थामा कसैलाई पनि नचिन्ने, आफ्नो वरिपरि भइरहेको कुरा र आफ्नाबारे समेत बिरामीलाई थाहा हुँदैन । हेल्पएज इन्टरनेसनल नेपालका खिमराज उपाध्यायले नेपालमा हालसम्म यस्ता बिरामी र तिनका परिवारका लागि कुनै सेवा सुविधा नभएका कारण पनि बिरामीले अपहेलना सहनु परेको बताए ।
उनले भने, “जनचेतना अभाव र स्वास्थ्य सेवाको अपहुँचका कारण डिमेन्सिया रोगबारे अधिकांश नेपाली अनभिज्ञ भएकाले यसबारे सबैलाई जानकारी गराउन आवश्यक छ । परिवारले यस रोगका बारेमा बुझेमा मात्र आफ्ना बिरामी आमाबालाई हेर्न सक्छन् । अन्यथा यसले परिवारलाई पनि थप तनाबमा पारेको छ ।”

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सहसचिव शङ्करप्रसाद पाठकले अल्जाइमर रोगका बारेमा जनचेतना जगाउन मन्त्रालय प्रतिबद्ध रहेको बताए । उनले भने, “यस विषयमा के के गर्न सकिन्छ भन्ने विषयमा यस क्षेत्रमा काम गर्नेले ठोस कार्यकमको कार्ययोजना बनाई ल्याएमा मन्त्रालय सहयोग गर्न सकारात्मक छ ।”

हरेक वर्ष सेप्टेम्बर २१ मा विश्व अल्जाइमर दिवस मनाइन्छ । यसको थालनी सन् १९९४ मा स्कटल्यान्डको एडिनबरा सहरमा भएको थियो । अल्जाइमर्स डिजिज इन्टरनेसनलको आह्वानमा मनाइने यो दिवसमा विश्वभरिका जनचेतना जगाउने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिन्छ ।

यस वर्ष पनि ‘मलाई नबिर्स’ भन्ने नाराका साथ यो सेप्टेम्बर महिनाभर अल्जाइमर दिवस मनाउन लागिएको छ । डिमेन्सिया बुढेसकालको लक्षण नभएर स्मृतिसम्बन्धी रोग हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१० मा विश्वभर तीन करोड ५६ लाख मनिस डिमेन्सिया रोगले ग्रस्त रहेको बताएको छ ।

सङ्गठनका अनुसार विश्वमा हरेक वर्ष ७७ लाख डिमेन्सियाका नयाँ बिरामी देखिने गरेका छन् । यो आँकडानुसार प्रत्येक चार सेकेन्डमा संसारमा एक व्यक्तिमा डिमेन्सिया रोग लाग्ने गर्छ ।

नेपालमा सन् २०१३ सम्ममा ७८ हजार वृद्धवृद्धामा यो रोग लागेको एक तथ्याङ्कले देखाएको छ । यो रोग लागेका मानिसमा स्मरणशक्ति कमजोर हुने, शरीर गल्दै जाने, उदासीनताको सिकार हुने जस्ता लक्षण देखिन्छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *