ट्रमा सेन्टरमा जोर्नी प्रत्यारोपण सेवा

Trama-Center-Kathmandu

काठमाडौँ, १६ भदौ – जोर्नी बिग्रिएर हिँड्न नसक्ने अवस्थाबाट छुट्कारा पाउन गरिने कृत्रिम जोर्नी प्रत्यारोपण उपचार राष्ट्रिय ट्रमा सेन्टरमा सुरु भएको छ ।

ट्रमा सेन्टरका अर्थोपेडिक तथा ट्रमा सर्जरी विभाग प्रमुख प्रा डा श्रीकृष्ण गिरीले दुई महिनाअघि प्रत्यारोपण सेवा सुरु गरिएको बताए उनले भने, ‘‘विभिन्न कारणले जोर्नीले कामगर्न नसक्ने अवस्था आएपछि प्रत्यारोपण गर्नुपर्ने हुन्छ । ट्रमा सेन्टरमा विभिन्न दुर्घटनामा परी आएका बिरामीको पनि कहिलेकाहीँ प्रत्यारोपण गर्नुपर्ने हुनाले हामीले यो सेवा सुरु गरेका हौँ ।’’

सेवा सुरु भएपछि तीनजनाको घँुडा र नितम्ब प्रत्यारोपण गरेको उनले जानकारी दिए । उनले तीमध्ये एकजना गत वर्षको भूकम्पमा लडेर जोर्नी भाँचिएका बिरामीको जोर्नी प्रत्यारोपण गरिएको थियो ।

खिएको भागमा कृत्रिम जोर्नी प्रत्यारोपण गरेपछि त्यसले १० देखि ३० वर्षसम्म काम गर्छ । जोर्नी प्रत्यारोपण गर्न रु ६० हजारदेखि करिब रु तीन लाखसम्म पर्ने डा गिरीले बताउनुभयो । उनको अनुसार शल्यक्रिया शुल्क सस्तो भएपनि कृत्रिम जोर्नी किन्न बढी मूल्य पर्ने भएकाले यो सेवा महँगो भएको हो ।

प्रत्यारोपण गरेपछि पहिलेजस्तो कडा परिश्रम गर्नु हुँदैन । पलेटी मारेर बस्ने, टुक्रुक्क बस्ने, उफ्रने, धेरै उकालो–ओरालो हिँड्ने, रूख चढ्ने तथा शरीरलाई भार पार्ने खालका काम गर्न पनि हुँदैन । खानपिनमा ध्यान दिनुका साथै शरीरको तौल पनि नियन्त्रणमा राख्नुपर्ने चिकित्सकको भनाइ छ ।

नेपालमा सात वर्षअघि प्रारम्भ भएको यो सेवा काठमाडौँलगायत धरान तथा चितवनका अस्पतालमा पनि विस्तार भइसकेको छ । पहिले भारत र अन्य देशमा उपचारका लागि जाने नेपाली अहिले नेपालमै उपचार गराउन थालेका छन् ।

प्रत्यारोपण गरिएको जोर्नीले काम गर्न छोडेपछि त्यसलाई पुनः संशोधन शल्यक्रिया (रिभिजन अर्थोप्लास्टी) बाट कामलाग्ने बनाउन सकिन्छ । यसका लागि विशेष औजार तथा सुविधालगायत प्रक्रिया आवश्यक हुन्छ । विभिन्न कारणले जोर्नी बिग्रने, औषधिले काम नगर्ने तथा फिजियोथेरापीले पनि काम गर्न नसकेमा जोर्नी प्रत्यारोपण गरिन्छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *