पदाधिकारीविहीन बन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

karnali swathya copy
जुम्ला, १५ भदौ – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्ला पदाधिकारीविहीन हुँदा दैनिक कार्य सञ्चालनमा समस्या पर्न थालेको छ । प्रतिष्ठानमा अहिले शिक्षाध्यक्ष डाक्टर धर्मराज श्रेष्ठ मात्र बहाल छन् ।

प्रतिष्ठानका उप–कुलपति डा पारसकुमार आचार्यको जेठ ११ गते बिदाइ भएको थियो । अस्पताल निर्देशक डाक्टर जावेद अहमद खान पनि झन्डै चार महिनाअघि ग्रान्डी हस्पिटल काठमाडौँमा गईसकेका छन् ।

रजिस्ट्रार श्याम लम्सालको पनि ३२ साउन देखी कार्यकाल सकिएको प्रतिष्ठानका प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीले बताए । उनले पदाधिकारी नहुँदा अहिले दैनिक कार्यसञ्चालनमा समस्या परेको बताए ।

उता प्रतिष्ठानका नर्सिङ डिन गायत्री राईले पदाधिकारी नहुँदा बढी शैक्षिक एवम् प्राज्ञिक कार्यक्रम सञ्चालनमा समस्या आएको बताइन् ।

“पदाधिकारी अनुपस्थितिको समय बढी भएकाले प्रतिष्ठानमा अराजकता बढ्न थालेको छ, केही कर्मचारीले हेलचेक्र्याइँ गर्न थालेका छन्,” डिन राईले भनिन् । नेतृत्वविहीन हुनुले विशेषगरी बीचको तहलाई बढी चेपाइमा पारेको उनको भनाइ छ ।

प्रतिष्ठानमा कार्यरत कर्मचारीले भने पदाधिकारीको कार्यकाल समाप्त भएको र नयाँ आइनपुगेकाले साउनको तलब समेत खान समस्या परेको बताएका छन् ।पदाधिकारी रिक्त भई दैनिक कार्यमा समस्या भएपनि नयाँ पदाधिकारी कहिले नियुक्त हुने भन्ने अझै टुंगो लागेको छैन् ।

“सरकारले नयाँ उप–कुलपति, रजिस्ट्रार र अस्पताल निर्देशक कहिले नियुक्त गर्दछ, त्यो तत्काल जानकारी भएको छैन”, अधिकृत शाहीले भने। प्रतिष्ठानमा अहिलेसम्म पनि कार्यकारी परिषद्को बैठक बस्न सकेको छैन । यसले गर्दा पनि प्रतिष्ठानको व्यवस्थापकीय पक्ष निकै कमजोर हुँदै गएको कर्मचारी बताउँछन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *