कुष्टरोगीलाई उपचार गर्न नागरिकता बाधक

kust

(हेमन्त केसी) जाजरकोट, ११ भदौ –  सबैको इच्छा गाउँघर, साथीभाइ र इष्टमित्रसँग मिलेर बस्ने र सुखका साथ जिन्दगी बिताउने भन्ने हुन्छ । मिठो, मसिनो खाना अनि राम्रो बन्न कसलाई पो इच्छा हुदैँन र ? तर यहाँको एक दुर्गम गाउँको एक परिवार कुष्टरोग लागेपछि विगत ६ वर्षदेखि जङ्गलमा बस्दै आएका छन् ।

त्यहाँ उनीहरु जङ्गलमा रहरले नभइ बाध्यता, समाजको छ्या, छ्या अनि दुरदुरका कारण जङ्गलमा बस्न बाध्य भएको हो । जिल्लाको अति विकट नायकडावा गाविस– ८ तासीका वीरबहादुर कामीको परिवार कुष्टरोग लागेपछि जङ्गलमा बस्न बाध्य भएका हुन् ।

वीरबहादुर आफू करिब ५० वर्ष पुगेको बताउँछन् । वीरबहादुर श्रीमतीको साथमा जङ्गलमा बस्दै आएका छन् । कुष्ठरोगी परिवारसँग सम्पत्तिको रुपमा दुुई कुखुरा छन् । यो रोगीपरिवारसँग बिहान÷बेलुका छाक टार्न नै मुस्किल छ । खरको छाप्रोभित्र पानी चुहिँदा केही भएका कपडा भिजेर सुत्न नमिल्ने अवस्थामा पुग्ने वीरबहादुरले गुनासो गरे। आफूलाई लागेको रोग कसरी निको पार्ने भनेर वीरबहादुरका दम्पती निकै चिन्तामा छन् ।

तीन वर्षअघि भारतबाट एक गाउँलेले ल्याएर दिएको कपडा लगाएर दिनरात काटेको वीरबहादुरको भनाइ छ । जङ्गलमा बस्दा सर्प, बिच्छी, र अन्य जङ्गली जनावरले सताउने गरेको छ । ५० वर्षीय वीरबहादुर र उनकी श्रीमतीसँग नेपाली नागरिकताको प्रमाणपत्र समेत नभएको पाइएको छ । उपचार गर्नका लागि आधिकारिक प्रमाणपत्र आवश्यकपर्ने भएका कारण विक परिवारसँग त्यो नहुँदा थप समस्या परेको स्वास्थ्यचौकी नायकवाडाका इन्चार्ज गणेश खड्काले बताए ।

वीरबहादुरलाई कुष्टरोग लाग्नुभन्दा अगाडि ज्यामी, मजदुरी गरेर श्रीमान्, श्रीमती पालिने गरेको स्थानीयवासी दीपक महताराले बताए। विक परिवारलाई लागेको कुष्टरोग अन्य गाउँमा सर्छ भन्ने गलत मान्यताका कारण उनीहरुलाई गाउँमा जान नदिएको स्थानीयवासीले बताएका छन् ।
सुरुमा उपचारका लागि धामी, झाक्री गरेको तर केही नलागेपछि जङ्गलमा बस्न बाध्य भएको वीरबहादुरले बताए । कुष्टरोग लागेपछि कोर लागेको छ, यसका सन्तान या यसले पाप गरेका कारण हो भन्ने अन्धविश्वासका कारण आफूहरु थप मर्कामा परेको विक परिवारको दुखेसो छ ।

श्रीमान् र श्रीमती दुबैजना कुष्टरोगका कारण थला परेको कारण आफूहरूलाई कसैले सहयोग नगर्दा रोग भन्दा पनि खाना नपाएर कुन दिन प्राण जान्छ थाहा छैन वीरबहादुरले रुदै भने । कुनै नयाँ मानिस गाउँमा गएमा आफूलाई सहयोग गर्छन् कि भनेर आश लाग्ने गरेको दम्पतीको भनाइ छ । उनीहरूका कुनै सन्तान नभएका कारण आफ्नो सहारा कोही नभएको वीरबहादुरले बताए । घरबाट छुट्टिएको २५ वर्ष पुगेको अहिलेसम्म जेठा, कान्छा भाइ बिरामीको अवस्था कस्तो छ भनेर बुझ्नसम्म नआएको उनले गुनासो गरे ।

सङ्घ संस्थामा काम गर्ने, शिक्षक आदिले कहिले काहीँ केही सहयोग गर्ने गरेको उनी बताउँछन् ।
आफूसँग उपचार गर्ने पैसा छैन् । ‘धन नभै वैहिमानी हुनु कर्म बिग्रे जोखी’ भन्ने उखान जस्तै आफ्नो जिन्दगी भएको वीरबहादुरले भने । नायकवाडा गाविसमा थुपै्र कुष्टरोगी भए पनि खुल्न नसकेको पाइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *