भरतपुर अस्पतालमा एकैपटक छ स्थानबाट शल्यक्रिया सेवा

Operation

चितवन, ८ भदौ – चितवनको सरकारी भरतपुर अस्पतालमा अलग–अलग छ शल्यक्रिया कक्षबाट सेवा सुरु गरिएको छ ।

यसअघि अस्पतालमा एकैकोठाबाट चारवटा अपरेशन टेबल राखेर शल्यक्रिया हुँदै आएकामा आजदेखि छुट्टाछुट्टै कोठाबाट अत्याधुनिक सेवासहित शल्यक्रिया सुरू गरिएको अस्पतालले जनाएको छ ।

हालै निर्माण सम्पन्न भएको ‘ए’ ब्लक भवनको दोस्रो तल्लामा अत्याधुनिक शल्यक्रिया सेवा थालिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रूद्रप्रसाद मरासिनीले जानकारी दिए ।

शल्यक्रिया कक्षमा दुईवटा आकस्मिक शल्यक्रिया कक्ष छुट्टाइएको छ । “प्रसूति सेवालाई एक अलग्गै जतिबेला पनि शल्यक्रिया गर्न मिल्ने गरी आकस्मिक कक्षको व्यवस्था गरिएको छ” अप्रेशन इन्र्चाज मीरा अधिकारीले भने – “अन्य आकस्मिक बिरामीका लागि अर्को एक आकस्मिक कक्ष छुट्टाइएको छ ।” त्यसबाहेक चारवटा शल्यक्रिया कक्षमा हप्ताको तीन दिन सबै विभागका लागि शल्यक्रिया गर्ने व्यवस्था मिलाइएको छ ।

यसअघि हप्तामा दुई दिनमात्रै विभागलाई शल्यक्रियाको पालो दिइएको थियो । “अलग अलग शल्यक्रिया कक्ष भएपछि बिरामीमा सङ्क्रमणको खतरा पनि हुँदैन,” अस्पतालका मेसु डा. मरासिनीले भने – “हरेक शल्यक्रिया कक्षमा अलग्गै टोली हुन्छ, यसले सेवाको गुणस्तरमा वृद्धि गराउँछ ।”

“भरतपुर अस्पतालमा सबैभन्दा ठूलो चाप प्रसूति विभागमा छ,” उनले भने – “अलग्गै शल्यक्रिया कक्षको व्यवस्था भएपछि चाप घटाउन सहयोग हुनेछ ।”

भरतपुर अस्पतालमा यसअघि दैनिक २० देखि २५ जनासम्मको शल्यक्रिया हुने गरेकामा अबदेखि भने दैनिक ३५ जनासम्मको शल्यक्रिया गर्न सकिने भएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *