स्वाथ्यकर्मी कार्यालयमा नबस्दा सेवाग्राहीलाई सास्ती

पाल्पा, ५ भदौ – स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नबस्दा सेवाग्राही मर्कामा परेका छन् । जिल्लाको विकट र दुर्गममा पर्ने अर्चले गाउँ विकास समितिको स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी कार्यालयमा नबस्दा बिरामी मारमा परेका हुन् ।

बिरामी भएर उपचारका लागि स्वास्थ्य चौकी पुगेका अर्चले–२ सातदोबाटोका सञ्जय सुनारी स्वास्थ्य चौकीमा कोही नभेटिएपछि उनले निजी मेडिकलमा उपचार गराएको बताए। “बिरामी भएर उपचारका लागि कार्यालयमा गएको स्वास्थ्यकर्मी कोही रहेनछन्, कार्यालय सहयोगी मात्र भेटेँ, फर्किएर स्थानीय मेडिकलमा उपचार गरेको रु एक हजार ८००को औषधि लिएँ” – उनले भने ।

स्वास्थ्य चौकीमा केही विशेषज्ञ डाक्टरबाट उपचार हुन्छ कि भनेको त कार्यालयमा कर्मचारी पनि बस्दैनन्, जनताले स्थानीय मेडिकलमा महँगोमा उपचार गर्नुपरेको उनले गुनासो गरे ।

त्यस्तै श्याम मश्राङीले पनि आफ्नो छोरो बिरामी भएर उपचारका लागि स्वास्थ्य चौकी जाँदा कार्यालयमा स्वास्थ्यकर्मी नभेटिएपछि स्थानीय मेडिकलमा उपचार गराएको बताए।

स्थानीय मेडिकलमा दिनहुँ बिरामीको भीड लाग्ने गर्छ तर स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी बस्दैनन् । यस क्षेत्रका निजी मेडिकलमा बिरामीको चाप बढ्दै गएको स्थानीयवासीले बताएका छन् ।

स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नबस्दा यहाँ कार्यालय सहयोगीले औषधि वितरण गर्ने गरेको स्थानीयवासी होम राईले जानकारी दिए । स्वास्थ्य चौकीका इन्चार्ज मीनबहादुर रानाले भने आफू सदरमुकाम गएको बताउँदै अर्का कर्मचारी बिदामा बसेको जानकारी दिए ।

कर्मचारीहरु सकेसम्म दुर्गम र विकट क्षेत्रमा बसेर जनतालाई सेवा दिन अगाडि बढ्दैनन् । दुर्गम क्षेत्रका कर्मचारीले विभिन्न काम देखाएर जिल्ला सदरमुकामतिर बस्ने चलनले जनताले समयमा सेवा पाउन नसकेका हुन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *